राष्ट्रपतिमा फ्रास्वाँ विजयी

पेरिस, २६ वैशाख । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा समाजवादी उम्मेदवार फ्रास्वाँ होल्यान्ड विजयी भएका छन् । राष्ट्रपति निकोलास साकोर्जीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । होल्यान्डको जितसँगै करिब दुई दशकपछि फ्रान्समा पहिलोपटक समाजवादी विचारका नेता राष्ट्रपति बनेका छन् ।
खसेको कुल मतको ५१ दशमलब ६७ प्रतिशत मत होल्यान्डले प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी सार्काेजीको भागमा ४८ दशमलब ३३ मत खसेको थियो  । समाजवादी दलबाट राष्ट्रपतिमा निर्वाचित हुने फ्रास्वाँ पहिलो व्यक्ति हुन् ।
पहिलो चरणको निर्वाचनमा फ्रास्वाँ र सार्कोजी दुवैले बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन आइतबार सम्पन्न भएको थियो । २२ अप्रिलमा भएको पहिलो चरणको निर्वाचनमा पनि होल्यान्डले सार्काेजीभन्दा बढी मत प्राप्त गरेका थिए ।
विजयी भएपछि पेरिसमा भेला भएका हजारौँ समर्थकलाई सम्बोधन गर्दै होल्यान्डले लामो समयपछि युरोपका जनताले परिवर्तन खोजेको र यसै कारण आफू विजयी भएको बताए । युरोपमा विद्यमान आर्थिक मन्दीको समाधान निकाल्न फ्रान्सका नागरिकले आफूलाई चुनेको टिप्पाणी उनले गरे । ‘युरोपेली क्षेत्रमा सम्पन्नता, समृद्धि, रोजगारी र भविष्यको खोजी अभियानको सुरुआत आजदेखि भएको छ,’ समर्थकमाझ होल्यान्डले भने । (एजेन्सी)

प्रतिक्रिया