टेम्पोको सहारा

१३ वर्ष भएछ कृष्णकुमारी श्रेष्ठले सफा टेम्पो चलाउन थालेको । अहिले सिनामंगलबाट सुन्धारासम्मको रुटमा स्टेरिङ सम्हालिरहेकी हुन्छिन् । केटीहरूले ड्राइभिङ गरेको देख्दा अचम्म मान्दै उभिएर हेर्नेहरूको जमात हुन्थ्यो त्यतिखेर । यो परिस्थितिलाई सामान्य बनाउँदै जीविका निर्वाह गर्ने मेसो समातेकी कृष्णकुमारीको जिन्दगीको गाडीले चाहिँ अहिले उमेरको ३५ वर्षे दूरी पार गरिसकेछ ।
चार छोराछोरीको जिम्मेवारी काँधमा नभइदिएको भए उनी टेम्पो ड्राइभर बन्दैनथिन्, त्यसैले यो उनको रहर होइन बाध्यता थियो । आज स्वभाव बनेको छ । यसभित्रका बाध्यात्मक कारण अरू पनि छन् । आफ्नो जीवनसाथी आफँैं रोजेकी थिइन् उनले  । तर, आज आफँैले रोजेको पतिको नाम पनि सुन्न चाहन्नन् । सायद चाहन्छिन्– कसैले यो प्रसंगै नउप्काइदेओस्, मुटुको घाउ फेरि नबल्झाइदेओस् । अनुहारमा आक्रोश र घृणा प्रस्टै देखिन्छ– ‘यसबारेमा केही नसोध्नुस्, त्यसको कुरै नगराँैं ।’ काठमाडौं मलअगाडि ३४९९ नम्बरको टेम्पुमा यात्रु पर्खिरहेकी उनले प्रसंग मोडिन्– ‘लौ आउनुस्–आउनुस्, सिनामंगल–सिनामंगल ।’ डिग्रीका सर्टिफिकेट च्यापेर जागिर खोज्दै हत्तू भएकाहरूको वितृष्णा छामिसकेकी उनलाई सामान्य पढेलेखेकी आफूले अरू कुनै काम पाउँmला भन्ने आसै थिएन । ‘के गर्ने, दु:ख परेपछि केही न केही त गर्नुपरिहाल्यो’, टेम्पो नै रोज्नुभित्रको उनको अर्को बाध्यता ।
त्यसो त श्रीमान्सँग उनको सम्बन्धविच्छेद नै भइसकेको भने रहेनछ । बीस वर्ष भएछ बिहे गरेको, तर पतिबाट कुनै दिन पनि भरथेग भएन रे † अब त भेट नभएकै थुप्रै भइसक्यो । सायद कृष्णकुमारीलाई एक्लै छाडेर आफ्नै धुनमा रमाउँदै छन् उनी  । एक्लो जीवन धान्ने मेसोमा कृष्णकुमारी टेम्पो सुमसुम्याउन थालिन् । यो अवधिमा एउटा टेम्पो फेरेकी रहिछन् ।
बिहान ५ बजे अरू महिला चियाको कप बोकेर श्रीमान्लाई झक्झक्याउन पुग्दा उनीचाहिँ टेम्पो सुमसुम्याउन थाल्छिन् । त्यसो त यो टेम्पो पनि उनको कहाँ हो र, साहुको सम्पत्ति हो । भाडाबापत जति कमाइ भयो त्यसको केही अंशले उनको जीविका धानिने हो । कैयाँै पटक त साहुलाई बुझाउने पैसा नपुगेर तलबबाट काटिएको अनुभव पनि बोकेकी छन् । त्यस्तो बेलामा साह्रै बिरक्तिन्छिन् । राम्रो चल्दाचाहिँ मासिक १५ देखि २० हजार रुपियाँ हुन्छ रे, तलबभत्ता गरेर । बेलाबेलामा बन्दहडतालले पार्ने अप्ठ्यारो त छँदै छ ।
बेलाबेलामा ट्राफिकको व्यवहार निकै झन्झटिलो अनि दु:खद लाग्दो रहेछ उनलाई । त्यतिबेला व्यर्थै अँगालेछु भनेजसरी पेसासँग दिक्क पनि लाग्दो रहेछ । कुनैकुनै ट्राफिक पुलिसले महिलालाई हेपेर नराम्रै गरी मुख छाड्ने गरेको सुनाइन् । तर, हेप्न खोज्ने अरू यात्रु र चालकसँग चाहिँ प्रतिकार गरिहाल्दी रहिछन् । त्यसैले कहिलेकाहीँ यो पेसा उनलाई टेम्पोको तौलजत्तिकै गह्रौं अनि अप्ठेरो लाग्छ । ‘तर के गर्नु’, भन्छिन्– ‘नहुनु मामाभन्दा कानो मामा निको ।’ एक्ली नारीलाई हेर्ने नजर उति राम्रो हुँदैन । साँझ ढलेपछि घरबाहिर नारीमाथि निम्तिन सक्ने जोखिम थुप्रै हुन्छन् । यसबारे सचेत छिन् उनी । त्यसैले सात बजेपछाडि टेम्पो थन्क्याउने सुरसार गरिहाल्छिन् । भन्छिन्– ‘के गर्ने केटा मान्छे कस्ता–कस्ता हुन्छन्, त्यसैले समयमै घर फर्कन्छु ।’
त्यसो त एउटी गृहिणीका जस्तै रहर थिए उनका पनि– हरपल छोराछोरीलाई स्याहार्न पाइयोस्, श्रीमान्को कमाइबाट खर्च जोगाउन सकियोस् तर उनका रहर सधँैं रहरमै सीमित रहे । अब छोराछोरीको रहर चम्काइदिनु छ । उनीहरूलाई पढाएर सक्षम बनाउने सोचेकी छन् । ‘त्यही भएर यत्तिको दु:ख गरेकी नि’ –उनी सुनाउँछिन् । साँझ घर पुग्दा थाकेर फतक्कै हुन्छिन् । जिउ दुखेर आलसतालस हुन्छ । तर, छोरोछोरीको अनुहार देखेपछि फेरि ‘फ्रेस’ हुन्छिन्, छातीभरि आनन्दको सञ्चार हुन्छ ।
शारीरिक रूपमा पुरुषभन्दा कमजोरै हुन्छन् नारी । तर, टेम्पोले त्यसो भन्दैन । बेलाबखत बिग्रिदिन्छ, टायर पन्चट भइदिन्छ । ‘आफैंले टायर फेर्नुपर्दा निकै गाह्रो हुन्छ ।’ पैसा तिरेपछि जसरी पनि समयमै पुर्‍याउनुपर्छ भन्दै अड्डी कस्छन् यात्रुहरू । घामपानी केही भन्न पाइँदैन । सडकमा निधार जोतेर टायर कस्न थालिहाल्नुपर्छ । अरू नै कारणले बिग्रँदा पनि आफैंले धकेलेर बनाउने ठाउँसम्म पुर्‍याउनुपर्छ, शरीरले दिनेभन्दा बढी बल निकाल्नु छ उनले । लोडसेडिङको बेला छ । उनको टेम्पो चार्जेबल ब्याट्रीले चल्छ । कहिलेकाहीँ बाटामा चार्ज सकिएर हैरान खेलाउँछ । अब यी नियमित समस्या भइसके, उनी बानी परिसकिन् । यस्तो देख्दा कहिलेकाहीँ आफ्नै भाग्य सम्झेर कुँडिन्छिन् पनि । तर, छोराछारी सम्झिएर एकाएक दह्रो बनाउँछिन् मुटु । सायद त्यसैले जिन्दगीका दु:खहरू सुनाउँदै गर्दा एकचोटि पनि आँसु खसालिनन् उनले ।
यात्रुले ‘ड्राइभरनी दिदी’ भनिदिँदा उनलाई साह्रै नरमाइलो लाग्दो रहेछ । अपेक्षा गर्छिन्– सबैले दिदी वा बहिनी मात्रै भनून् तर कसले बुझ्ने ? आफ्नै हातबाहेक अरू कसैको सहयोग छैन । त्यसो त अब धेरै दिन टेम्पो चलाउन सकूँला भन्ने आँट पनि छैन उनलाई । एउटै आशा छ– ‘छोराछोरी ठूला भएर आपैंm कमाउन थाल्नेछन्, अनि आरामले बस्नेछु ।’

प्रतिक्रिया