एघार दिनदेखि सिंगो सुदूरपश्चिम बन्द छ । सडकहरूमा जनसागर उर्लिरहेको छ । टोलबस्तीहरूमा अनौठो भयको साम्राज्य छ । हिजोसम्म शान्त, संयम र त्यागी त्यो उपेक्षित भूखण्ड आज आन्दोलित छ । इतिहासको प्रवाह नै मोडिदिने सुदूरपश्चिमेलीको त्यस आन्दोलनको राप काठमाडौंमा भने त्यति धेरै महसुस गरिएको छैन । इतिहासभरि नै दबाउन
सकिएको ‘जाबो’ ठानेरै होला, राज्यले सुदूरपश्चिममा उग्र हुँदै गएको आन्दोलन र त्यसले दिन खोजेका संकेतहरूलाई बुझ्ने प्रयाससमेत गरेको अनुभव हुँदैन ।
तीन दलका तीन शीर्ष नेताले विज्ञप्ति निकालेर कर्तव्य पूरा भएको ठाने भने प्रधानमन्त्रीले वार्तामा आउने आग्रह गरेर औपचारिकता पूरा गरे । सुदूरपश्चिमको भाग थापेर काठमाडौंका शीतल महलहरूमा बास गर्ने नेताहरू आफ्नो मातृभूमिमा दन्किरहेको आगोले निम्त्याउने विध्वंसको कुनै चिन्ता नगरी सत्ताखेलमा रमिरहेका छन् ।
सुदूरपश्चिमका दुइटा मात्रै तराई जिल्ला कैलाली र कञ्चनपुर थारू र पहाडी समुदायको मिश्रित समाज भएका जिल्ला हुन् । कतिपय बस्ती थारुबहुल छन् जहाँ पहाडीहरूको बसोबास पातलो छ । त्यस्तै कतिपय बाक्ला पहाडी बस्तीमा थारू समुदायको बसोबास छिटपुट छ । अहिलेसम्म दुवै समुदाय घुलमिल भएर बसेका छन् । थारूबहुल बस्तीका पहाडीहरूले आफ्नो मातृभाषा थारू नै ठान्छन् भने पहाडीबहुल क्षेत्रका थारूहरूले आफ्नो मातृभाषाभन्दा डोटेली राम्रो बोल्छन् । दशकौंदेखि विकसित यस्तो सामाजिक सम्मिलनमा अहिले भने ग्रहण लाग्ने सम्भावना छ । अखण्ड सुदूरपश्चिम र थारूवान प्रदेशको मागले ती दुई समुदायलाई आमुन्नेसामुन्ने आँखा तरेर उभ्याइदिएको छ । काठमाडौंले एउटाको पक्षमा निर्णय गर्यो भने अर्काले नमान्ने र आन्दोलनकारीले अलिकति पनि गल्ती गरे भने अनिष्ट हुने खतराको अगाडि उभिएको छ, सुदूरपश्चिम ।
सुदूरपश्चिमलाई भुङ्ग्रोमा जाकेर तमासा हेर्नेहरू अहिले उपायहीन बनेका छन् । विशेषगरी एकीकृत नेकपा (माओवादी) दिन प्रतिदिन उग्र बन्दै गइरहेका सुदूरपश्चिमेलीलाई कसरी थुमथुम्याउने भन्ने सोच्न पनि नसक्ने अवस्थामा पुगेको छ । उल्टै त्यस दलका दुई धारले अहिले पनि दुईजिब्रे कुरा गरेर स्थिति झन् खतरनाक बनाइदिएका छन् । हिजो थारूवानको परिकल्पना गर्नेहरूको लाममा उभिएका सुदूरका कथित माओवादी कमान्डर लेखराज भट्ट आज धुरन्धर अखण्डवादी बनेर कुरा गर्दैछन् । उनले हिजो किन कर्णाली पश्चिमको भूखण्डलाई थारूवानभित्र पार्ने निर्णय गराए र आज किन उनी अखण्डताका लागि घोक्रो सुकाइरहेका छन् ? प्रस्ट छ, उनलाई सुदूरपश्चिमको होइन, आफ्नो भोट बैंकको
माया छ । तर, उनले प्रस्ट बुझ्नुपर्छ, यस्तो दोगल्ला तालले भोट बैंक सुरक्षित रहँदैन ।
आज सुदूरपश्चिमले आन्दोलनको जुन पीडा भोगिरहेको छ, त्यसको सबै दोष एमाओवादीकै टाउकामा जान्छ । कदाचित् कुनै अप्रिय घटना भयो र कैलाली–कञ्चनपुरको समाजले एक छिटा पनि रगत देख्नुपर्यो अथवा समाजिक सौहाद्र्र खल्बलिन पुग्यो भने एमाओवादी नै त्यसको जिम्मेवार हुने छ । आज आन्दोलन जसरी गैरराजनीतिक समूहहरूको नियन्त्रणमा जाँदैछ, त्यसले कुनै शुभसंकेत गरेको छैन । धमिलो पानीमा माछा मारेर काइदाको माझी बन्न खोज्ने केही अवसरवादी रातारात हिरो बन्न खोज्दैछन् । उनीहरूले जसरी मिडियालाई समेत भ्रममा पारेर आफ्नो खेती सपार्न खोज्दैछन्् त्यसको सोझो अर्थ हो, अब लगाम राजनीतिक दलहरूको हातबाट फुत्किँदैछ । गैरराजनीतिक अवसरवादीहरूको हातमा पुग्ने मुद्दाको उठान माओवादीले नै गरेको हो, त्यसैले त्यही दलले अब जिम्मेवारी लिन तयार हुनुपर्छ ।
आन्दोलन चर्किसकेको छ । अब अखण्ड सुदूरपश्चिमका विपक्षमा एमाओवादीको एउटा धार उत्रने तयारी गरिरहेको छ । नेतृत्वबाहेक एमाओवादी कार्यकर्ताको ठूलो पंक्ति पहिले नै अखण्डको पक्षमा उत्रेको छ । २६ वैशाखदेखि वैद्य पक्षले थारू समुदायलाई सडकमा उतार्यो भने मुठभेडको सम्भावना देखिन्छ । अखण्डताको पक्ष र विपक्षमा रहेका गैरराजनीतिक समूहलाई नियन्त्रण गर्ने कोही देखिँदैन । मुठभेडको अवस्था आउन सक्ने खतरा घामजत्तिकै छर्लङ्ग हुँदा पनि न सरकार न त राजनीतिक दलहरू नै गम्भीर देखिएका छन् । सुदूरपश्चिममा जे पनि हुन सक्ने सम्भावनालाई कम आँकेर सरकार र दलहरूले आफ्नो किंकतव्र्यविमूढता प्रदर्शन गरेका छन् ।
अखण्ड सुदूरपश्चिमको पक्ष र विपक्षका दुवै आन्दोलन राजनीतिक दलहरूको नियन्त्रणमा रहनु पर्छ । दुवै समुदायको बृहत् एकता भेला गरी एकले अर्काको सम्मान र स्वामित्वलाई स्विकार्नु पर्छ । यसका लागि राजनीतिक दलहरूको पहल जरुरी हुन्छ । तर, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवादेखि काठमाडौंमा उम्रिएका एमाले नेता भीम रावलसम्मलाई त्यसको पर्बाह छैन । उनीहरूले सस्तो लोकप्रियताका लागि अखण्ड सुदूरपश्चिमको पक्षमा भाषण त गरे तर अहिले उत्पन्न जटिलतालाई सम्बोधन गर्न सक्ने कुनै उपाय पाउन सकिरहेका छैनन् । आगोमा घ्यू थप्न सजिलो हुन्छ, त्यही आगोले घर जल्न थाल्यो भने निभाउन गाह्रो हुन्छ भन्ने थाहा पाएका भए सम्भवत: लेखराज भट्टले उहिले नै सुदूरपश्चिमलाई चिरा पारेर थारूवानमा मिसाउने निर्णयमा हस्ताक्षर गर्दैनथे ।
यतिबेला पक्ष र विपक्षका दुवैखाले आन्दोलनकारीले राजनीतिक दलहरूलाई नै आफ्नो नेता नमाने बितन्डा मच्चिन सक्छ । जेजस्ता भए पनि राजनीतिक दलहरू मौका छोपेर उम्रेका अभियन्ता, एनजिओकर्मी र कथित नागरिक समाजभन्दा जिम्मेवार हुन्छन् । दलहरूबाहेक अरुले अवस्था बिग्रन थालेपछि न नियन्त्रणमा लिन सक्छन्, न अप्रिय घटनाको जिम्मेवारी नै बोक्ने नैतिकता राख्छन् । सडकमा पनि सामाजिक सौहाद्र्र कायम राख्न सके मात्रै आन्दोलन सफल हुन सक्छ । कुनै कारणले सडक तनाबग्रस्त भयो र दुई समुदायबीच अप्रिय टकराव भयो भने सिंगो सुदूरपश्चिमले दु:ख पाउने निश्चित छ ।
अखण्ड सुदूरपश्चिमको आन्दोलनले अफिमको नशामा धुत्त भएर एमाओवादीले पुन:संरचनाको खाका कोरेको रहेछ भन्ने प्रमाणित गरिदिएको छ । अखण्डवादीहरूको माग सम्बोधन गर्नाको साटो थारू समुदायलाई ढाल बनाएर सडकमा उतार्ने एमाओवादी योजनाको परिणाम झन् घातक हुने छ । २६ वैशाखदेखिको एमाओवादी आन्दोलन तत्काल स्थगन भएन भने पहाडीबहुल क्षेत्रमा एमाओवादी नेताहरू र थारूबहुल क्षेत्रमा अरू दलका नेता बस्न सक्ने छैनन् । त्यति मात्रै होइन, पहाडीबहुल क्षेत्रमा थारू समुदायले डराउनुपर्ने र थारूबहुल क्षेत्रमा पहाडी समुदायका मान्छेले बचेर हिँड्नुपर्ने दुभाग्र्यपूर्ण अवस्था आउन सक्छ । त्यसैले एमाओवादीले तत्काल २६ वैशाखदेखिको कार्यक्रम स्थगन गरेर अखण्डवादीका मागलाई सम्बोधन गर्ने बुद्धिमत्ता देखाउनै पर्छ ।
प्रतिक्रिया