वार्ता टोली घोषणा गरे आन्दोलन रोकिने

काठमाडौं, २५ वैशाख । सुदूरपश्चिमाञ्चलका नेता एवं सभासद्हरुले अखण्ड सुदूरपश्चिमको माग राखी ११ दिनदेखि जारी आमहडताल फिर्ता लिन तयार भएको बताएका छन् ।
राजधानीमा आज आयोजित साक्षात्कारमा उनीहरुले लामो बन्दले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल वार्ता टोली घोषणा गरे अनिश्चितकालिन बन्द फिर्ता हुने बताए ।
एकीकृत माओवादीका नेता एवं सभासद लेखराज भट्टले सरकारले वार्ता टोली बनाएर आह्वान गरे तत्काल वार्तामा जान तयार रहेको बताए ।
उनले भने, ‘सेती–महाकालीको अखण्ड सुदूरपश्चिमको मागमा तलमाथि हुँदैन, सरकारले वार्ता टोली गठन गरे हामी आन्दोलन लम्याउने पक्षमा छैनौं ।’
कांग्रेसका सभासद रमेश लेखकले सुदूरपश्चिमको आन्दोलनमा सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए ।
नेता लेखकले पहिचान र सामथ्र्यका आधारमा, ऐतिहासिक र भौगोलिक आधारमा ९ जिल्लासहितको अखण्ड सदूरपश्चिमको मागमा जायज भएको पनि बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले कैलाली, कञ्चनपुरमा मिलेर बसेका थारु र पहाडीलाई आन्दोलनले फुटाउने काम गरेको आरोप लगाए ।
एमालेका पोलिटब्युरो सदस्य भानुभक्त जैसीले प्रधानमन्त्रीले बेवारिसे वार्ता आह्वान गरेको आरोप लगाए ।

प्रतिक्रिया