हमला गर्छु भन्नु गलत : नेटो

बर्लिन : उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले युरोपमा निर्माण गर्न लागेको क्षेप्यास्त्र प्रतिरोधात्मक ढालमाथि अग्रिम हमला गर्ने चेतावनी रुसले दिनु न्यायसंगत नभएको नेटोले जनाएको छ । इरानी क्षेप्यास्त्रबाट युरोपेली राष्ट्रलाई जोगाउन ढाल निर्माण गर्न लागिएको दाबी नेटोले गर्दै आएको छ । तर, रुसले भने आफ्नो परमाणु शस्त्रागार र क्षेप्यास्त्र प्रणालीलाई निष्प्रभावी बनाउने उद्देश्यले ढाल निर्माण गर्न लागिएको आरोप लगाउँदै आवश्यक परे ढालमाथि हमला गर्ने चेतावनी दिँदै आएको छ । ढालबाट आफ्नो राष्ट्रिय सुरक्षामा खलल पुग्नसक्ने आशंका रुसले व्यक्त गर्दै आएको छ ।
नेटोका महासचिव एन्डर्स फोग रासमुसेनले भने, ‘रुसले अग्रिम आक्रमणको चेतावनी दिनु न्यायसंगत होइन, हाम्रो क्षेप्यास्त्र प्रणाली कुनै पनि दृष्टिकोणले रुसविरुद्ध लक्षित छैन । यो सूचना हामीले रुसलाई उपलब्ध गराइसकेका छौँ, राजनीतिक रूपमा रुसमाथि हमला गर्ने हाम्रो कुनै ध्येय छैन ।’
ढाल निर्माणमा सहकार्य गर्न उनले रुससँग आग्रह गरे । १५ वर्षअघि रुस र नेटोबीच ‘एकअर्कालाई आक्रमण नगर्ने’ विषयमा सम्झौता भएको स्मरणसमेत उनले गराए । यसअघि रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले आवश्यक परे ढालमाथि रुसले आक्रमण गर्ने चेतावनी दिएका थिए । ढालमार्फत रुसको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रलाई नष्ट गर्ने क्षमता नेटोले हासिल गर्ने आशंका रुसले व्यक्त गर्दै आएको छ । यसबाट रुसको पारमाणविक प्रतिरोधात्मक क्षमता कटौती हुनेप्रति रुसले चिन्ता व्यक्त गर्दै आएको छ । (एजेन्सी)

प्रतिक्रिया