दुई सय नदिँदा ट्राफिकद्वारा कुटपिट

काठमाडौं, २५ वैशाख । ट्राफिक प्रहरीको कुटाइबाट अनमोल यातायातका सहचालक मनोजकुमार सिंह घाइते भएका छन् । २० वैशाखमा ट्राफिक प्रहरी हवल्दार टीका श्रेष्ठसहितको टोलीले मरणासन्न हुने गरी कुटपिट गरेका सिंहको अहिले जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राईका अनुसार ट्राफिक प्रहरी हवल्दार श्रेष्ठले मागेको दुई सय रुपियाँ नदिएपछि पाँचजनाको टोलीले सिंहलाई कुटपिट गरेको हो । २० गते साँझ ७ बजे महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको कार्यालय अघिल्तिर सिंह कुटिएका थिए । सचिव राईले सिंहको शरीरभरि नीलडाम हुनुका साथै टाउकोमा गम्भीर चोट देखिएपछि एमआरआईसमेत गरिएको बताए ।
उनका अनुसार सिंह गौशालाबाट सिराहातर्फ चल्ने ना ४ ख ५२८५ नम्बरको यात्रुबसका सहचालक हुन् । गौशालाबाट सिरहातर्फ जाने क्रममा बसलाई ट्राफिक प्रहरीका एक जवानले चेक प्वाइन्टभन्दा सय मिटरवरै खसीबजार नजिक रोक्यो । बसको छतमा पर्यटकको झोला देखेपछि ती जवानले दुई सय रुपियाँ घुस मागे । सिंहले दुई सय जवानको खल्तीमा हालिदियो । बस अघि बढ्यो । प्रहरी प्रभागअगाडि पुगेपछि श्रेष्ठले पनि दुई सय मागे । सिंहले पहिले नै दिइसकेको भनेपछि श्रेष्ठले चिट देखाउन भने । चिट नभएपछि सिंह र श्रेष्ठबीच भनाभन भयो । केहीबेरमै घटनास्थलमा थप पाँचजना ट्राफिक प्रहरी आएर ंिसंहलाई भकुर्न थाले । प्रहरीको भ्यान मगाएर सिंहलाई हतकडी लगाई कालीमाटी प्रहरी वृत्तमा पुर्‍याएर हिरासतमा राखियो ।
कलंकी प्रभागका प्रहरी निरीक्षक प्रजित केसीले सिंहमाथि कुटपिट नभएको दाबी गर्दै दुवै पक्षबीच धकेलाधकेल मात्रै भएको बताए । उनले भने, ‘सिंह पहिलेदेखि नै ब्लडप्रेसर रोगी रहेछन्, त्यसैले यस्तो भयो ।’ सिंहको उपचार खर्च प्रहरीले व्यहोरिरहेको उनले बताए । उनले भने, ‘सिंहको सबै उपचार प्रहरीले व्यहोरे पनि गल्ती गरेर होइन, मानवीय आधारमा हो ।’
घटनामा संलग्न श्रेष्ठले सिंहलाई आफूले सामान्य धकेलेको दाबी गर्दै कुटपिटचाहिँ प्रभागकै सइ आनन्द काफ्लेले गरेको बताए । उनले भने, ‘मैले त सिंहलाई धकेलेको मात्रै हो, कुटपिटचाहिँ सइ सापले गर्नुभयो ।’

प्रतिक्रिया