दाङमा पनि जातीय राज्यको विरोधमा प्रदर्शन

दाङ, २४ वैशाख । जातीय राज्यको माग उठीरहेका समयमा दाङमा पनि बिभिन्न संघ/संस्थाले जातीय राज्यको बिरोध गर्दै प्रदर्शन र सभा गरेका छन् ।
मुलुकमा जातीय राज्यको स्थापना गरेर सामाजिक साम्प्रदायिकता खलबलाउन खोजेको भन्दै ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति’ले विरोध सभा गरेको हो । जातीय राज्यले देशलाई युद्ध तर्फ धकेल्ने भन्दै समितिले जातीय राज्यको विरोध गरेको जनाएको छ ।
बिरोध प्रदर्शन पछि आयोजित सभामा समितिका अध्यक्ष मानबहादुर केसीले जातीय राज्य नेपाललाई नसुहाउने बताए । जातीय राज्यले नेपाललाई खण्डित गर्ने भन्दै बाध्य भएर बिरोधमा उत्रिनु परेको जनाए ।
उनले बिभिन्न जातीय संगठनहरुले विदेशबाट डलर ल्याएर देशलाई जातीय राज्य बनाउन खोजेको आरोप लगाए ।
मुस्लिम समाजका राप्ती अञ्चल अध्यक्ष अञ्जल अली सिद्धिकीले जातीय राज्यले देशको एकता विभाजन हुने बताए । उनले देशको अस्तित्वका लागि जातीय राज्य बनाउन नहुने बताएका छन् ।
राज्यको पुनर्संरचना गर्दा जातीय नभई भौगोलिक आधारमा गरिनुपर्ने उनीहरुको माग छ ।
बिरोध प्रदर्शनका क्रममा उनीहरुले नेपाली आर्य समुदायका खस क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी, मुस्लिम र दलित लगायतका जातिलाई अन्यबाट हटाई जनजातीमा समावेश गरिनुपर्ने माग गरेका छन् ।
जातीय राज्यको विरोधमा घोराहीमा निकालिएको र्‍यालीमा सयौंको सहभागिता रहेको थियो ।
समितिमा क्षेत्री, ब्राह्मण, ठकुरी, नेपाल दशनामी, मुस्लिम, दलित, खस क्षेत्री र पिछडा वर्ग दलित समावेश छन् ।

प्रतिक्रिया