भारतीय युद्धपोत ‘साउथ चाइना सी’ पुग्ने

नयाँदिल्ली : चीनले सार्वभौमिकता दाबी गर्दै आएको ‘साउथ चाइना सी’ हुँदै भारतीय युद्धपोतले यात्रा तय गर्ने भएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामसँग मिलेर भारतले ‘साउथ चाइना सी’ मा ग्यास उत्खनन् परियोजना सञ्चालन गर्ने सहमति गरेपछि चीन चिढिएका बेला भारतले विवादित समुद्री क्षेत्रमा युद्धपोत पठाउने समाचारलाई चासोपूर्वक हेरिएको छ ।
दक्षिणपूर्वी एसियामा दुई महिनासम्म युद्धपोत तैनाथ गर्ने भारतीय योजनाअनुरुप युद्धपोत ‘साउथ चाइना सी’ पुग्ने तय भएको इन्डो एसियन न्युज सर्भिसले जनाएको छ । भारतको दक्षिणपूर्वी तटीय क्षेत्र भिसाखपटनामस्थित भारतीय सेनाको पूर्वी नौसैनिक कमान्ड मातहतका चार युद्धपोतलाई दुईमहिने तैनाथीका लागि पठाउन लागिएको हो ।
इन्डोनेसिया, मलेसिया, सिंगापुर, फिलिपिन्सलगायत अन्य दक्षिणपूर्वी एसियाली राष्ट्रका समुद्री तटमा भारतीय युद्धपोत तैनाथ गरिनेछन् । नौसैनिक क्षमता प्रदर्शन र प्रवद्र्धनका लागि भारतले हरेक वर्ष दक्षिणपूर्वी एसियामा युद्धपोत पठाउने गरेको छ । दक्षिणपूर्वी एसियामा सक्रियता बढाउने ‘लुक इस्ट पोलिसी’ (पूर्वतर्फ हेर) नीतिअनुरुप भारतले युद्धपोत पठाउने गरेको हो । चीनको बढ्दो आर्थिक, राजनीतिक तथा फौजी सामथ्र्यलाई चुनौतीका रुपमा हेर्ने दक्षिणपूर्वी एसियाली राष्ट्रहरू चिनियाँ प्रभावलाई सन्तुलनमा राख्न भारतमाथि निर्भर रहने गरेका छन् । दक्षिणपूर्वी एसियामा सक्रियता बढाउन भारतलाई अमेरिकाले पनि सुझाब दिने गरेको छ ।
भारतले यसपटक राजपुत डिस्ट्रोयर, सिभालिक फ्रिगेट, कोरा कोर्भेट र ट्यांकर गरी चार युद्धपोत पठाउन लागेको छ  । ‘टाढाका मैत्रीपूर्ण तटीय क्षेत्रमा बर्सेनि युद्धपोत तैनाथ गर्ने योजनाअनुरुप चार युद्धपोत यसपटक पठाउन लागेका छौँ,’ एक भारतीय नौसैनिक अधिकारीले भने । आगामी साता युद्धपोतले यात्रा थाल्ने जानकारी उनले दिए । जापानको तटीय क्षेत्र पुग्न युद्धपोतले ‘साउथ चाइना सी’ को बाटो समात्ने उनले बताए । गत वर्ष भारतीय युद्धपोत ‘साउथ चाइना सी’ प्रवेश गरेपछि अबिलम्ब समुद्री क्षेत्रबाट निस्कन भारतीय युद्धपोतलाई चिनियाँ पक्षबाट चेतावनी दिइएको थियो । (एजेन्सी)

प्रतिक्रिया