खोजखबर

‘हिमपहिरो पीडितलाई राहतको घोषणा’

सौर्य अनलाइन २०६९ वैशाख २४ गते ९:०८ मा प्रकाशित

कास्की, २४ वैशाख । प्रधानमन्त्री बावुराम भट्टराईले सेती नदीमा आएको हिमबाढी/पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहतको घोषणा गरेका छन् ।
पत्नी हिसिला यमीका साथ कास्की पुगेका प्रधानमन्त्री भट्टराईले पीडित परिवारहरुसँग भेटघाट गर्नुका साथै राहतको आश्वासन दिएका छन् ।
उनले स्थानीय प्रशासनलाई उद्धारमा कुनै पनि कमी र ढिलासस्ती नगर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले सरकारका तर्फबाट मृत्तकका परिवारलाई तत्काल कृया खर्च स्वरुप २५ हजार उपलब्ध गराउने र प्रधानमन्त्री उद्धार कोषबाट प्रति मृत्तक परिवार १ लाख रुपियाँ उपलब्ध गराउने आश्वासन दिएका छन् ।
बाढीबाट घर विहिन भएकाहरुका लागि अस्थायी आवासका लागि तत्काल २५ हजार उपलब्ध गराउने समेत भट्टराईले बताए । उनले घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पुनःस्थापनाका लागि सरकारले विशेष योजना ल्याउने बताए ।
शनिबार अन्नपूर्ण हिमशृङखलामा आएको हिमपहिरोका कारण कास्कीको माछापुच्छ्रे, सार्दिखोलाको खारापानी लगायतका क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो । हालसम्म सो विपत्तीबाट कम्तीमा १५ जनाको ज्यान गएको छ भने सयौं सर्वसाधारण प्रभावित भएका छन् ।
प्रधानमन्त्री भट्टराईसँग अवलोकनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उप–प्रधान तथा गृहमन्त्री विजय गच्छदार, पत्नी हिसिला यमी, मुख्य सचिव माधवप्रसाद घिमिरे, गृह सचिव सुशीलजंग राणा गएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय