प्रस्ताव बनाउन एमाले बैठक स्थगित

काठमाडौं, २४ वैशाख । आफैले विपक्षमा मतदान गरेको सरकारमा सहभागी नहुने बहुमत केन्द्रीय सदस्यको दबाव परेपछि तेस्रो ठूलो दल एमालेले साझा प्रस्ताव बनाउन आफ्नो बैठकलाई केही समयका लागि स्थगित गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय कमिटी बैठक एक घण्टा पछि पुनः बस्ने गरि स्थगित भएको छ । पाँच बुँदे सहमतिसँगै सरकारमा सहभागी हुने निर्णय गरेको एमाले नेतृत्वको केन्द्रीय सदस्यले आलोचना गरेपछि बैठकमा केही असहज भएको छ ।
बैठकमा धारणा राख्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा नआउदासम्म सरकारमा सहभागी हुन नहुने सुझाव दिएका छन् । केहीले संविधानका बिवादित विषयमा सहमति जुटेपछि मात्रै सरकारमा सहभागी हुने अन्यथा बाहिरैबाट समर्थन गर्नपनि सुझाव दिएका छन् ।
यद्यपि केही केन्द्रीय सदस्यले भने पाँच बुँदे सहमति गरेर पार्टी चुकिसकेकाले सरकारमा सहभागी हुनुनै उचित हुने सुझाव पनि दिएका छन् ।
बहुमत केन्द्रीय सदस्यले सरकारका नजान दबाव दिएपछि सहमतिको साझा प्रस्ताव बनाउन बैठक केही समयका लागि स्थगित भएको हो । शीर्ष नेताहरुले आन्तरिक छलफल गरेर प्रस्ताव बनाई केन्द्रीय कमिटी बैठकमा पेश गर्ने छन् ।

प्रतिक्रिया