नेपालको आन्तरिक मामिलामा विदेशी भूमिका

आमन्त्रित हस्तक्षेप

डा. लोकराज बराल
राजनीतिशास्त्री

नेपालको आन्तरिक राजनीतिमा विदेशी चासो र भूमिका सुगौली सन्धिदेखि नै बढेको पाइन्छ । ००७ साल हुँदै ०४६ सालको राजनीतिक परिवर्तनपछि विदेशीको सक्रियता तिब्र भएको छ । पहिलेपहिले राजतन्त्र हुँदा विदेशी राजदूतले राजालाई फकाउने गर्थे । त्यो कुरा दरबारमै सीमित हुन्थ्यो तर सञ्चारमाध्यमको व्यापकतासँगै कूटनीतिज्ञले हाम्रा राजनीतिक दलका नेतालाई भेटघाट गरेका कुरा बाहिर आएका मात्रै हुन । सबभन्दा पहिले आफ्नो घर हामी आफैँले बलियो बनाउनुपर्छ । हाम्रो मामिला हामी नेपालीले नै व्यवस्थापन गर्ने हो । नेपालको आन्तरिक राजनीतिमा विदेशी चासो पहिलेदेखि नै बढेको हो । विदेशीको चासोलाई नेपालको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेपभन्दा पनि आमन्त्रित हस्तक्षेप हो । हाम्रो देशको राजनीतिक समस्या समाधानका लागि हामी नै उनीहरूलाई आमन्त्रण र उत्साहित गरिरहेका छौँ । कूटनीतिज्ञले राजनीतिक दलका नेतासँग भेटघाट, छलफल गर्ने त पुरानै प्रचलन हो । भारतीय राजदूत बैठकमा बसेका होइनन् भन्ने सुनिएको छ । भेटघाटसम्म गरेका हुन् भन्ने खबर आएको छ ।

नांगो हस्तक्षेप

मदन रेग्मी
अध्यक्ष
चीन अध्ययन केन्द्र

नेपालको प्राकृतिक स्रोत साधन र सामरिक दृष्टिकोणले पनि विदेशीको चासो बढ्नु स्वाभाविकै हो । यससँगै अहिले नेपालको राजनीतिक अवस्था अस्थिर छ । यहाँको राजनीतिक अवस्था अझै बिग्रिँदै जाँदा दक्षिण एसिया मात्रै नभएर सिंगो एसियामा नै प्रभाव पार्न सक्छ । यो दुवै पक्षबाट भएको अधिकारक्षेत्रको उल्लंघन हो । नेपालका राजनीतिक दलको बैठकमा भारतीय राजदूतको सहभागिताका सवालमा बोलाउने र जाने दुवैले सामान्य कूटनीतिक मर्यादाको समेत ख्याल गरेको देखिएन । आफ्नो सीमाक्षेत्र, कूटनीतिक मर्यादा र अधिकारको उल्लंघन गर्ने यी यस्ता घटना सामान्यजस्ता भइसकेका छन् । नेपालको अस्मिता, राष्ट्रियता र सार्वभौमसत्तामाथिको हस्तक्षेप नै हो । दीर्घकालीन रूपमा यसले दुई देशको सम्बन्धमा राम्रो संकेत गर्दैन । बोलाउने र जाने दुवैले लाज पचाएको अवस्था छ । प्रचण्डले यसरी बोलाएर मुलुकमा विदेशीको प्रत्यक्ष हस्तक्षेप निम्त्याउने सुरुआत गराएका छन् । यो नेपाल र नेपालीको स्वाभिमानमाथिको ठूलो अपमान हो ।

 

प्रतिक्रिया