विवादका बीच मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २४ वैशाख । प्रमुख दलहरूको आन्तरिक विवादका बीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका छन् । मधेसी मोर्चासहित एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बिहीबार मध्यरात भएको पाँचबुँदे सहमतिअनुसार भट्टराईले १२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद्मा सहभागी दुई उपप्रधानमन्त्रीसहित ११ मन्त्रीले शनिबार राति पद तथा गोपनीयताको शपथ लिएका छन् ।
भट्टराई नेतृत्वको सरकारलाई दुई दिनभित्र राष्ट्रिय सहमतिको स्वरूप दिने राजनीतिक दलहरूको सहमतिअनुसार माओवादी, कांग्रेस र मधेसी मोर्चा सरकारमा सहभागी भएका हुन् । सरकारमा माओवादीबाट पाँच, कांग्रेसबाट दुई र मधेसी मोर्चाबाट पाँचजना सरकारमा सहभागी भएका छन् । संविधानसभाको तेस्रो ठूलो घटक एमाले सरकारमा सहभागी नभएको भन्दै मोर्चाका पाँच मन्त्रीबाहेक अन्यलाई जिम्मेवारी दिइएको छैन ।
११ भदौमा अन्तरिम संविधानको धारा ३८(२) अनुसार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीमा चुनिएका भट्टराई नेतृत्वको सरकारलाई प्रमुख दलहरूबीच भएको पाँचबुँदे सहमतिअनुसार सहमतिको स्वरूप दिएका हुन् । सहमतिअनुसार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीको शपथ लिएका छन् । यसअघिको सरकारमा श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्रीको जिम्मेवारीमा थिए । गच्छदारले अहिले पनि यसअघिकै उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै सरकारमा माओवादीबाट सचिव पोस्टबहादुर बोगटी, वर्षमान पुन, टोपबहादुर रायमाझी र दीनानाथ शर्मा सहभागी भएका छन् । यसअघि बोगटी ऊर्जा, पुन अर्थ, रायमाझी स्थानीय विकास र शर्मा शिक्षामन्त्री थिए । अहिले भने उनीहरूको जिम्मेवारी तोकिएको छैन ।
त्यस्तै कांग्रेसबाट महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सूर्यमान गुरुङ सरकारमा सहभागी भएका छन् । संविधानसभा निर्वाचनपछि कांग्रेस माओवादी नेतृत्वको सरकारमा सहभागी भएको यो पहिलोपटक हो ।
त्यस्तै, सरकारमा मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता ह्दयेश त्रिपाठी, तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का कार्यवाहक अध्यक्ष राजकिशोर यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि सरकारमा सहभागी भएका छन् । त्रिपाठीले भौतिक योजना, महेन्द्रले सिँचाइ, राजकिशोरले सूचना तथा सञ्चार र महतोले स्वास्थ्य मन्त्रालयको पुन: जिम्मेवारी पाएका छन् ।
स्वास्थ्यमन्त्रीमा नियुक्त महतोबाहेक सबै मन्त्रीले शनिबार राति नै शपथ लिएका छन् । महतो पार्टीको अधिवेशनमा जनकपुर रहेकाले आइतबार मात्र शपथ लिने भएका छन् । साँझ ५ बजे मन्त्रीहरूको शपथ गराउनका लागि राष्ट्रपति कार्यालयले तयारी गरेको थियो । तर, कांग्रेससहित सकारमा सहभागी हुने दलहरूको आन्तरिक विवादका कारण राति ९ बजे मात्र मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए । शपथग्रहण समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइरालासहित नेताहरूको उपस्थिति थियो तर समारोहमा एमाले र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरू भने उपस्थित थिएनन् ।

एमालेले आज निर्णय गर्ने
एमालेले पनि आइतबारको केन्द्रीय समिति बैठकपछि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पठाउने स्रोतको दाबी छ । प्रधानमन्त्री डा. भट्टराईले शनिबार बिहान नै कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मागेका थिए तर अध्यक्ष खनालले भने आइतबार बस्ने केन्द्रीय कमिटी बैठकपछि मात्र आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम दिने बताएका थिए । शुक्रबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले बहुमतीय सरकारमा जान नहुने धारणा राखेका थिए ।

को–को बने मन्त्री ?
माओवादीबाट: नारायणकाजी श्रेष्ठ, पोस्टबहादुर बोगटी, वर्षमान पुन, टोपबहादुर रायमाझी, दीनानाथ शर्मा, कांग्रेसबाट: कृष्णप्रसाद सिटौला, सूर्यमान गुरुङ, मधेसी मोर्चाबाट : विजयकुमार गच्छदार, ह्दयेश त्रिपाठी, महेन्द्र यादव, राजकिशोर यादव, राजेन्द्र महतो ।

प्रतिक्रिया