हिमपहिरोको घटनाप्रति सरकार मर्माहत

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री बावुराम भट्टराईले आज बिहान माछापुच्छ्रे गाविसमा भएको आकस्मिक हिमपहिरोका कारण भएको जनधनप्रति दुःख व्यक्त गर्दै सबैलाई संयम हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले आज विज्ञप्ती जारी गरेर विहान ९ वजेर ५५ मिनटमा कास्की जिल्ला माछापुच्छ्रे गा.वि.स. वडा नम्वर ९ स्थित सेती नदीमा वर्षा एवं हिमपहिरोको कारणले आकस्मिक आएको बाढीबाट आफू मर्माहत भएको जनाएका छन् । उनले पछिल्लो जानकारी अनुसार बगेर १३ जनाको असामयिक निधन हुनुका साथै कैयौं वेपत्ता र ठूलो धनमालको क्षति भएको जनाएका छन् । घटनाबाट आफू दुःखद एवं मर्माहत तुल्याएको जनाएका छन् ।
उनले नेपाल सरकारको तर्फबाट घटनामा ज्यान गुमाएकाहरु प्रति श्रद्वाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
घटनाको जानकारी प्राप्त भए लगत्तै प्रभावितहरुको खोजतलास एवं उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी र सेनालाई तत्काल परिचालन गरिएको प्रधानमन्त्री भट्टराईले जनाएका छन् ।
सेनाको हेलिकप्टर पठाई थप उद्धार र खोजतलासको काम सञ्चालन भइरहेको विज्ञप्तीमा उल्लेख छ । घटनाबाट प्रभावित हुनसक्ने थप स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेकाहरुलाई पूर्वतयारी अवस्थामा रहन सूचित गरिएको समेत भट्टराईले जनाएका छन् ।

पछिल्लो जानकारी अनुसार उक्त नदीमा आएको बाढीको प्रवाह क्रमशः कम हुँदै गइरहेकोले स्थिति सामान्य हुने अनुमान गरिएको प्रधानमन्त्री भट्टराईले जनाएका छन् ।
स्थानीय व्यक्तिको सक्रिय सहयोग तथा सुरक्षाकर्मीहरुको परिचालनबाट खोजतलास र उद्धारकार्य हालसम्म पनि जारी रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया