‘शान्ति प्रक्रियाप्रति राष्ट्रसंघ खुसी’

काठमाडौं, २३ वैशाख । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनका विशेष प्रतिनिधि स्यामुअल ताम्राटले भेटगरेर नेपालको शान्ति प्रक्रियामा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।
लाजिम्पाटस्थित निवासमा आज विहान पुगेका ताम्राटले अध्यक्ष दाहालसँग भेट गरेर शान्ति प्रक्रियामा भएको निर्णयको प्रशंसा गरेका थिए । ताम्राटले शान्ति प्रक्रियामा भएको प्रगतिका कारण नयाँ संविधान लेखनमा समेत सहयोग मिल्नेमा आफूले अपेक्षा गरेको जनाएका छन् ।
भेटका क्रममा अध्यक्ष दाहालले जेठ–१४ गतेभित्रै नयाँ संविधान निर्माण हुने बताएको उनको निजी सचिवालयले जनाएको छ ।
राजनीतिक दलहरुबीच गत बिहीबार भएको पाँचबुँदे सम्झौताले सहमतिको सरकार गठन हुने वातावरण बनेको भन्दै दाहालले पाँच बुँदेकै आधारमा संविधान लेखनको कामलाई अगाडि बढाउने बताए । उनले भने, ‘बिवादित विषयमा सहमति खोज्न अब सहज हुने छ ।’
राष्ट्रसंघका प्रतिनिधि ताम्राटले महासचिव वान कि मुनले छिट्टै नेपाल भ्रमण गर्न चाहेको समेत बताएका छन् ।

प्रतिक्रिया