लुभु जात्राका अन्तरकुन्तर

रातो मच्छिन्द्रनाथको रथयात्रासँगै सुरु हुने ललितपुरस्थित लुभुको जात्रा भर्खरै सम्पन्न भएको छ । यो महालक्ष्मी तथा भैरवको जात्राका रूपमा प्रचलित छ । जात्राका क्रममा लुभुका महालक्ष्मी तथा महाभैरव मन्दिरहरूमा स्थानीय बासिन्दाका साथै टाढाटाढाबाट समेत नेवार समुदायका संस्कृति–अनुरागीहरू जम्मा हुन्छन् । वैशाखको अक्षय तृतीयादेखि नौ दिनसम्म चल्ने यो जात्राको परम्परा पाटनका राजा हरिहर मल्लले सुरु गराएका हुन् । मल्लले सन्तान रक्षाका हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरवको मूर्ति स्थापना गरी जात्रा चलाएको प्रसंग दि काठमाडौं भ्याली पुस्तकमा उल्लेख छ ।
लाछीमा एक जोडी खट अथवा रथ राखेपछि जात्रा सुरु हुन्छ । महालक्ष्मी र भैरव मन्दिरबाट एउटा खटमा गणेश, महालक्ष्मी र कुमारीको मूर्ति राखिन्छ भने अर्को खटमा गणेश, भैरव र कुमारको मूर्ति राखेर नौ दिनसम्म लुभुका विभिन्न स्थान अनि आसपासका मन्दिर घुमाइन्छ । नवौँ दिन बिहान ती मूर्तिलाई जहाँबाट निकालिएका हुन् तिनै मन्दिरभित्रै प्रवेश गराएपछि जात्रा सम्पन्न हुन्छ । लुभु र लामाटार गाविसको सिमानामा पर्ने ठूलो चौरमा रहेको मन्दिरलाई चाहिँ महालक्ष्मी र भैरवकी आमाका रूपमा पुजिन्छ । यो उपत्यकाकै सबैभन्दा पुरानो शक्तिपीठ पनि मानिन्छ । यात्राका क्रममा रथ हरेकपटक यो मन्दिरसम्म पुर्‍याइन्छ किनकि यो जात्राको उत्पत्ति यसैसँग जोडिएको छ । जनश्रुतिअनुसार धेरै वर्षअघि त्यो चौरमा घाँसीहरूले देवीदेवता पंक्तिबद्ध रूपमा उभिएर नृत्य गरिरहेको देखेछन् । गाउँलेहरूलाई हेर्न बोलाएछन् । गाउँलेहरू आउँदा ती देवीदेवता सबै ढुंगाको मूर्ति बनिसकेछन् । त्यसपछि स्थानीयहरूले इष्ट देवताका रूपमा त्यहाँ महालक्ष्मी, महाभैरवका गणको पूजाआजा चलाएछन् । यसै ठाउँमा पछि पाटनका राजाले आयताकार भुइँतल्ले प्यागोडा शैलीको मन्दिर निर्माण गरेका हुन् । उपत्यकाका नौ शक्तिपीठमध्ये यो एउटा रहेको सुनाउँछन् लुभुका स्थानीय पण्डित विश्वनाथ शर्मा ।
राजा शिवसिंह मल्लको मृत्युपछि गंगा महारानीले सुनको थाल बेचेर पाटनबाट यहाँ बस्ती सारेकाले यसको नाम लुभु (सुनको भूमि) रहन गएको कथन छ । पाटनमा मच्छिन्द्रनाथको जात्रा मनाउने संस्कृति बोकेकाहरूले यहाँ आएपछि त्यही समयमा लुभुको जात्रा चलाउन सक्रियता देखाएको स्थानीय वृद्ध आसलाल महर्जन श्रेष्ठ बताउँछन् । संवत् ५६७ मा निर्माण गरिएका नारायण मन्दिर र प्राचीन शिलालेखले जात्राको ऐतिहासिक र धार्मिक महत्त्व थप प्रस्ट्याउँछन् ।
श्री श्री जय यक्षमल्लदेव ठाकुर स विजय राजस,
कोटनायक हृदय राममुलमिस प्रयायत ।।
यस्तो उल्लेख गरिएका शिलालेखले राजा यक्ष मल्लको पालामा लुभु बलियो किल्लाका रूपमा रहेको व्याख्या गर्छन् । शंखादेवी मन्दिरमाथिको कोटडाँडा मल्लराजाको बलियो किल्ला मानिन्थ्यो । युद्धका बेला पाटनका राजपरिवार सुरक्षित ठाउँका रूपमा कोटडाँडामा बस्थे । त्यतिबेलाका भग्नावशेष अहिले पनि देख्न सकिन्छ । भक्तपुर र काठमाडौंका राजाले आक्रमण गर्दा पाटनका राजा यिनै महालक्ष्मीको प्रार्थना गर्थे । यही विश्वासमा राजाले चलाएको जात्रालाई पहिल्यैबाट कोटडाँडादेखि, लुभु, लामाटार, सिरुटार, टिकाथली र सिद्धिपुर गाविसका स्थानीयले यसलाई आफ्नै संस्कृतिका रूपमा मनाउँदै आएका छन् ।
धार्मिक महत्त्वको कुरा गर्दा स्कन्द पुराणदेखि नेपाल महात्म्यसम्ममा जात्रा र यहाँका मठमन्दिरको चर्चा गरिएको पाइन्छ । गोभ्राटेश्वर महादेव, महालक्ष्मी, महाभैरव, ससम्भू माई, शंखादेवी, श्रृंगऋषि गुफा, कामधेनु, गुफा, गौश्रृंग तीर्थजस्ता धार्मिक स्थललाई भारतदेखिका ऋषिमुनिले तपोभूमि बनाएको प्रसिद्धि छ । यही प्रसिद्धि जात्रा र महालक्ष्मीसँग जोडिएको छ । श्रृंग ऋषिको आश्रम रहेको स्थानलाई श्रृंग्याश्रम भन्ने गरिएको थियो । समय बित्दै जाँदा श्रृङ्यारि, सिस्न्यारी हुँदै अपभ्रंश भई सिस्नेरी नाम रहन गएको बताउँछन् स्थानीय समाजसेवी कुमार पौडेल । नेपाल माहात्म्यअनुसार अहिलेको कामधेनु गुफा भएको ठाउँमा कामधेनु गाई बस्ने गर्थिन् र सधैँ पशुपतिनाथमा दूध चढाउन लुभुको बाटो भएर जाने गर्थिन् । एक दिन उनी लुभुभित्र पुगेपछि थकाइ लागेर बसिछन् र भुसुक्कै निदाइछन् । निद्राबाट ब्युँझेपछि दूध चढाउन ढिलाइ भएकामा आत्तिएर त्यहीँ गोब्य्राइछन् । त्यही गोबरको थुप्रोबाट पशुपतिनाथ उत्पन्न भएर गाईलाई दर्शन दिएछन् । भनेछन्– ‘कामधेनु, अब तिमी मलाई दूध चढाउन टाढा धाइरहनुपर्दैन, म यहीँ उत्पन्न हुन्छु ।’ त्यसपछि ती गाईले दिनदिनै त्यहीँ दूध चढाएको स्थानीय बासिन्दाले देखेछन् । हेर्दा त त्यहाँ शिवलिंग फेला परेछ । गोबरबाट उत्पन्न भएकाले मानिसहरूले गोभ्राटेश्वर महादेवका रूपमा त्यहाँ पूजा गर्न थाले, मन्दिर बनाए । ती गाई बस्ने कामधेनु गुफा ललितपुरको लाकुरी भञ्ज्याङबाट दक्षिण पश्चिम करिब १० मिनेट जति हिँडेपछि पुगिने चन्द्रवान गिरिको बक्षस्थलमा गोश्रृंगी नदीको उद्गम स्थलका रूपमा छ । पौराणिक कथाअनुसार यो नदी ती गाईले सिंगौरी खेल्दा उत्पन्न भएको थियो । गोश्रृंगी र कोटडाँडा वा चक्रनेमी पर्वतको फेदीबाट आएको चक्रावती नदीको दोभानस्थित गोश्रृंग तीर्थमा स्नान गरी गोभ्राटेश्वरको दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । स्कन्दपुराणको माघ महात्म्यमा पार्वतीले चतुर्षष्ठी लिंग जात्रामा लुभुनजिक रहेको तिलकुखोला र श्रृंगमती खोलास्थित गोश्रृंग तीर्थमा स्नान गरी गोभ्राटेश्वर महादेवको पूजाआजा गरी सहस्रकोटि गाईदान गरेको उल्लेख छ । यसरी लुभुको जात्रा र महालक्ष्मीको सम्बन्ध यस वरपरका सम्पूर्ण धार्मिक स्थलसँग जोडिएको छ । यस ऐतिहासिक एवं पौराणिक जात्रा र क्षेत्रको थप प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनको लाभ उठाउन सकिन्छ ।

प्रतिक्रिया