भ्रमको भारीमा रमेश विकल

रमेश विकल एकाबिहानै चाबहिल चोकमा उभिइरहनुभएको थियो । अलि ढिलै आउनुहुन्थ्यो, आज यति चाँडै किन आउनुभएछ भन्ने लाग्यो । म सरासर पत्रिका पसलतिर लागेँ । समाचारबारे सामान्य जानकारी लिने उद्देश्यले पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न नपाउँदै वसन्त रिजालले भने, ‘दु:खको खबर थाहा पाउनुभयो ?’
‘छैन ।’ पत्रिका हातमा लिँदै मैले जवाफ दिएँ ।
‘ए † अहिलेसम्म थाहा छैन ?’ उनले फेरि प्रश्न गरे ।
‘अहँ, छैन ।’ मैले भनेँ ।
‘आर्यघाट जानुपर्ने भयो नि †’ उनले दु:खभावका साथ भने । आर्यघाट जानुपर्ने कुरा सुन्नेबित्तिकै म झस्किएँ ।
‘को बित्यो ?’ मैले सोधेँ ।
‘गोतामे गएछन् नि †’ फेरि पनि दु:खभावका साथ उनले भने । उनले जवाफ त दिए तर उनको जवाफपछि पनि म अल्मलिएँ । किनभने को बितेको हो भन्ने कुरामा उनको उत्तर अझै स्पष्ट थिएन ।
‘को गोतामे ?’ मैले स्पष्टताका लागि अर्को प्रश्न गरेँ ।
‘गोतामे भन्या थाहा छैन ?’ अस्पष्टतालाई प्रस्ट्याउलान् भनेर मैले सोधेको थिएँ तर उनैले मतिर अर्को प्रश्न तेस्र्याए ।
‘थाहा त छ तर कुनचाहिँ गोतामे ?’ मैले फेरि पनि स्पष्टताका लागि आग्रह गरेँ ।
‘श्याम गोतामे क्या, व्यङ्ग्य लेख्छन् नि †’ उनको कुरा बल्ल स्पष्ट भयो ।
चाबहिल चोकमा पत्रपत्रिका र स्टेसनरी पसल थियो वसन्त रिजालको । उनी साहित्यिक मित्र पनि हुन् । उनको त्यो पसल धेरैको भेटघाटको केन्द्र थियो । अहिले पनि त्यो पसल त छ तर त्यहाँ वसन्त छैनन् । वसन्तले पसल छाड्नेबित्तिकै हाम्रो भेटघाटको एउटा केन्द्र पनि भत्किन पुगेको थियो ।
म केही पत्रिकाका समाचारका शीर्षकतिर आँखा घुमाइरहेको थिएँ । गोविन्द वर्तमान आइपुगे । वसन्तले सुनाउनुभन्दा अगाडि मैले नै श्याम गोतामे बितेको खबर उनलाई सुनाएँ ।
मान्छेको मृत्युको समाचार दु:खदायी हुन्छ । हामी दु:खकै कुरा गरिरहेका थियौँ । रमेश विकल सडक पार गरेर पत्रिका पसलतिरै आउनुभयो । जागिर हुँदा बिदाको दिन बिहानको समय सधैँजसो चाबहिल आउने रमेश दाइ जागिर छोडेपछि अलि कम आउन थाल्नुभएको थियो । तर, त्यस दिन सबेरै चाबहिल आइपुग्नुभएछ । उहाँ सरासर हामी उभिएको ठाउँतिरै आउनुभयो । उहाँलाई श्याम गोतामे बितेको कुरा अरूले भन्दा पहिले आफैँले सुनाउनुपर्‍यो भनेर अरूलाई उछिन्दै अलिकति अगाडि बढेर मैले सोधेँ, ‘एउटा दु:खद् खबर थाहा पाउनुभयो ?’
‘अँ, थाहा पाएँ, त्यही थाहा पाएरै आएको ।’ रमेश दाइले पहिले नै सुनिसकेको बताएपछि म खिस्रिक्क परेँ । अरूलाई उछिन्दै खबर सुनाउन खोजेको थिएँ, बेकार भयो ।
‘म त घाटतिरै जान लागेको, तिमीहरू पनि जाने भए हिँड,’ रमेश दाइले भन्नुभयो । वर्तमान र म रमेश दाइसँगै पशुपतितिर लाग्यौँ ।
चाबहिल चोकबाट पशुपति आर्यघाटसम्म जाँदा हामी रमेश दाइका श्रोता बनेका थियौँ । उहाँ जीवन र मृत्युका बारेमा कुरा गरिरहनुभएको थियो । अलि संवेदित मुद्रामै हुनुहुन्थ्यो उहाँ । कोही बितेको खबर पाएर घाटतिर गइरहेको अवस्थामा उहाँको त्यो मुद्रा हामीलाई स्वाभाविक लागिरहेको थियो । त्यही संवेदित मुद्रामा रमेश दाइ भनिरहनुभएको थियो, ‘राम्रा मान्छे हुन् गोतामे । लेखनमा पनि राम्रा, व्यवहारमा पनि राम्रा, विचारमा पनि राम्रा । हामी त साथी नै थियौँ । राम्रो मित्रता थियो । आफू पनि कुन दिन यसरी नै गइने हो… ।’ उहाँको भनाइ हामीलाई मार्मिक लागिरहेको थियो । बीस मिनेट जतिमा हामी आर्यघाट पुग्यौँ । कतै लास जलिरहेका थिए, कतै जल्ने तयारीमा थिए । एकातिर केही परिचित अनुहारहरू देखिएपछि हामी त्यतैतिर लाग्यौँ । नातामा श्याम गोतामेका बहिनीज्वाइँ अग्निशिखासँग भेट भयो । हामी उहाँसँगै कुराकानी गर्न लाग्यौँ । कुराकानीकै बीचमा अचानक रमेश दाइले भन्नुभयो, ‘खोइ त ध्रुव ?’ यति भनेर उहाँ अर्कोतिर लाग्नुभयो ।
रमेश विकल कसैलाई खोज्दै कहिले यता, कहिले उता गरिरहनुभएको थियो । कसैसँग केही भन्ने र त्यसको जवाफ नआउँदै अर्काथरी मान्छे भएको ठाउँतिर लाग्ने गर्दै हुनुहुन्थ्यो उहाँ । केही बेरमा उहाँ फेरि हामी भएतिरै आउनुभयो । फेरि पनि भन्नुभयो, ‘ध्रुवलाई देखिएन नि †’
हामी केही बोलेनौँ । रमेश दाइ फेरि अर्कोतिर लाग्नुभयो । कतै उभिइरहेका र कतै बसिरहेका चिनजानका सबैको नजिक रमेश दाइ पुगिसक्नुभएको थियो र सबैसँग ‘के छ ?’ भन्दै संक्षिप्त कुरा गर्न पनि भ्याइसक्नुभएको थियो । उहाँलाई नचिन्ने कोही थिएनन् । त्यहाँ उपस्थित साहित्यकारहरूमा व्यंग्य लेखकहरूको उपस्थिति अलि बाक्लो थियो ।
अग्निशिखा श्याम गोतामेको स्वाभिमानी स्वभाव, घरपरिवार र अप्रत्याशित निधनका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो । गोविन्द वर्तमान र म उहाँकै कुरा सुनिरहेका थियौँ । फेरि पनि रमेश दाइ हामी उभिइरहेको ठाउँमा आइपुग्नुभयो । उहाँले फेरि पनि भन्नुभयो, ‘ध्रुवलाई देखिएन, कता गएछन् ?’
आर्यघाटमा आइपुगेदेखि नै उहाँ ध्रुव नामको कसैलाई खोजिरहनुभएको थियो । रमेश दाइ को ध्रुवलाई खोजिरहनुभएको छ भन्ने कुरा बुझ्न हामीले सकिरहेका थिएनौँ । सोधेपछि मात्र थाहा भयो– उहाँले ध्रुवचन्द्र गौतमलाई खोजिरहनुभएको रहेछ ।
श्याम गोतामेको चिता बलिरहेको थियो । कोही श्रद्धाञ्जलि दिन आउँदै थिए, कोही फर्किंदै थिए । पौने घन्टा बसेर हामी पनि फर्कियौँ ।
जाँदा जस्तै फर्कंदा पनि हामी उही तीनजना नै थियौँ ।
‘मान्छेको जीवन यस्तै त हो । केही गर्नेहरू पनि गएकै छन् । केही नगर्नेहरू पनि गएकै छन् । अजम्बरी कोही छैन ।’ यस्तै–यस्तै अलि निराशाजनक कुरा गर्दै हिँड्दै हुनुहुन्थ्यो रमेश दाइ । मृत्युसम्बन्धी केही धार्मिक कथाका प्रसंगबारे पनि उहाँ चर्चा गर्दै हुनुहुन्थ्यो । हामी पनि उहाँको कुरा सुनिरहेझैँ र सहमति जनाइरहेभैँm गरी बेलाबेलामा ‘हजुर…, हजुर’ भन्दै सँगसँगै हिँडिरहेका थियौँ । हिँड्दाहिँड्दै फेरि पनि रमेश दाइले भन्नुभयो – ‘होइन, ध्रुव किन देखिएनन् त्यहाँ ?’
रमेश विकलले ध्रुवचन्द्र गौतमलाई खोज्याखोज्यै गर्नु र नदेखेपछि सोधेको सोध्यै गर्नुले उहाँ पक्कै पनि भ्रममा पर्नुभएको अनुमान मैले गरेँ । पहिले पनि एकपटक रमेश दाइ यस्तै भ्रममा परेको अनुभव मैले गरेको थिएँ । वि.सं. ०४४ सालतिरको कुरा हो । प्रगतिशील लेखक संघले चेखभ जयन्ती आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व रमेश दाइले नै गर्नुभएको थियो । कार्यक्रमका अन्तिम वक्ता रमेश दाइ नै हुनुहुन्थ्यो । उहाँले बोल्ने क्रममा चेखभलाई ‘दु:ख पाएर प्लेटफार्ममै सुत्ने गरेको र भाँडा माझेरसमेत हिँडेको’ बताउनुभएको थियो । उहाँ चेखभका बारेमा बोल्नुपर्नेमा गोर्कीका बारेमा बोल्दै हुनुहुन्थ्यो । तर, बीचबीचमा नामचाहिँ चेखभकै लिँदै हुनुहुन्थ्यो । नबुझेर र थाहा नपाएर उहाँले त्यसरी बोल्नुभएको पनि होइन । किनभने चेखभ र गोर्कीका बारेमा उहाँको अध्ययन गम्भीर मात्र थिएन, विस्तृत पनि थियो तर दिमागमा भ्रमको भारीले किचेपछि के लाग्छ †
त्यो दिनको जस्तै यो दिन पनि कुनै क्षणिक भ्रमले रमेश दाइको दिमागलाई प्रभावित गरिरहेको हो कि भन्ने महसुस मैले गरेँ । मैले गोविन्द वर्तमानलाई साउतीको भाषामा भनेँ, ‘गोतामे बितेको कुराले रमेश दाइलाई भ्रम भए जस्तो छ ।’
‘अँ, त्यस्तै छ । अझै पनि उहाँ भ्रममै हुनुहुन्छ जस्तो छ,’ वर्तमानले भने ।
हिँड्दै हामी मित्रपार्क आइपुगेका थियौँ । मैले रमेश दाइको भ्रम हटाउने आँट गर्न सकिरहेको थिइनँ । तर, वर्तमानले त्यो आँट गरे । उनले प्वाक्क भनिहाले, ‘दाइ, तपाईं अहिलेसम्म भ्रममै हुनुहुन्छ जस्तो छ ।’
‘कस्तो भ्रम ?’ अलि फरक मुद्रामा रमेश दाइले भन्नुभयो । ‘तपाईंलाई धच गोतामे बित्नुभएको भन्ने भ्रम परेजस्तो छ,’ वर्तमानले भ्रम हटाउने प्रयासमा भने ।
‘हँ, अनि को बितेको त ? रमेश दाइको आश्चर्यबोधक प्रश्न थियो ।
‘बित्न त गोतामे नै बित्नुभएको हो तर धच गोतामे होइन, श्याम गोतामे बित्नुभएको,’ वर्तमानले प्रस्ट पारे ।‘ हँ, के भन्दै छौ, श्याम गोतामे पो बितेका हुन् ?’ मित्रपार्कको चोकमा टक्क अडिएर रमेश दाइले आश्चर्य भावसहित प्रश्न गर्नुभयो ।
‘हो त,’ वर्तमानले भने ।
मित्रपार्कको व्यस्त चोकको एकछेउमा हामी तीनजना उभिएका थियौँ । त्यो भीडका बीच पनि केहीबेर सन्नाटामा हराएझैँ हुनुभयो रमेश दाइ । उहाँको परिवर्तित अनुहारको मौनतासँगै केही समय हामी पनि उभिइरह्यौँ । हामी रमेश दाइको अनुहारतिर हेरिरहेका थियौँ । उहाँको शिथिल अनुहार अझै शिथिल देखिएको थियो । भ्रमको भारीले उहाँलाई थिचिरहेको थियो ।
‘कस्तो विभ्रम †’ यति भन्दै रमेश दाइ हिँड्न थाल्नुभयो । हामी उहाँको पछिपछि लाग्यौँ । मित्रपार्कबाट चाबहिल चोकसम्म आउँदा रमेश दाइ केही बोल्नुभएन । उहाँ चिन्तामा पर्नुभएको महसुस हामीले गर्‍यौँ ।
चाबहिल चोकमा आइपुगेपछि हामी चिया होटेलतिर छिर्‍यौँ । रमेश दाइ निकै गम्भीर र शान्त देखिनुभएको थियो । अस्पष्ट सूचनाका कारण उहाँमा त्यस्तो भ्रम परेको रहेछ । उहाँलाई सूचना दिनेले ‘गोतामे बिते’ भनेर भनेका रहेछन् । त्यही आधारमा उहाँ धच गोतामेलाई सम्झँदै आरुबारीबाट दौडिनुभएको रहेछ । धच गोतामेसँगको निकट सम्बन्धका कारण पनि ‘गोतामे’ भन्नेबित्तिकै उहाँले धच गोतामेलाई नै सम्झनु अस्वाभाविक थिएन । चिया खाउन्जेलसम्म पनि रमेश दाइ धेरै बोल्नुभएन । चिया खाइरहेको समयमा एकपटक रमेश दाइले भन्नुभएको थियो, ‘कहिलेकाहीँ यस्तै हो ।’
कुनै अनौठो कुरा होइन, कोही पनि मान्छे जीवनमा नझुक्किने भन्ने हुनै सक्दैन । यो मानवीय गुण नै हो । त्यसको कारण केही हुन पनि सक्छ, केही नहुन पनि । त्यस दिन रमेश दाइमा भ्रम पैदा गरिदिने कारण अरू केही नभएर खबरदाताको खबर नै रहेछ । त्यो खबरदाता आपैँm पनि भ्रममा त थिएन ? हामीले त्यो कुरा पनि सोच्यौँ । रमेश दाइ अलिकति हाँस्नुभयो । त्यो खबरदाताप्रति हाम्रो कौतूहलता अझै बढ्न पुग्यो ।
‘तपाईंलाई यस्तो भ्रममा पार्ने त्यो व्यक्ति को हो ?’ हामीले रमेश दाइसँग जिज्ञासा राख्यौँ ।
‘छ कोही,’ उहाँले भन्नुभयो ।
‘को हो, नामै भन्नोस् न †’ हामीले अलि जोड गर्‍यौँ । तर, रमेश दाइले त्यो व्यक्तिको नाम खोल्न चाहनुभएन । उहाँले भन्नुभयो, ‘राम्रै मान्छे हो, साथी नै हो, चाबहिल वारिपारिकै हो । को होला तिमीहरू नै अनुमान गर ।’ यति भनेर रमेश दाइ उठ्नुभयो । भ्रमको भारी बिसाए पनि त्यो भारीको थिचाइबाट मुक्त भएको अनुभव भने उहाँले गर्नसक्नुभएको थिएन ।
हामी पनि होटेलबाट निस्कियौँ । बाहिर रमेश दाइ हुनुहुन्नथ्यो । हामी यताउति हेर्न थाल्यौँ । रमेश दाइ कति चाँडै सडकपारि पुगिसक्नुभएछ ।

प्रतिक्रिया