जीवन: त्यहाँदेखि यहाँसम्म

उनी आउलान् भन्ने
आशामा मैले गाग्री भरेँ
तर, उनी कहिल्यै आएनन्
सपनाहरू ठूला हुन्छन्, ती दुख्छन्, रुन्छन्, बाँच्नचाहिँ लामा सपनाहरू बाँच्छन् । जस्तै यौवनका चिसा सुस्केराहरू, मायाका एक्ला पलहरूले दिएका अनुभूतिहरू । ‘आरूका फूलका सपना’ मा आफ्नो प्रेमी आउने आशामा बसेकी मयजु होस् वा ‘अग्निको कथा’मा ज्ञानको खोजीमा गुम्बा छाडेर हिँडेकी भिक्षुणी । ‘घनचक्कर’ मा प्रेमको अर्थ के हो भन्ने थाहा नहुँदा–नहुँदै पनि एउटा पुरुषको न्यानो काख खोज्ने पागल्नी या त ‘ताराबाजी लैलै’ मा प्रेम प्रस्ताव थाहा पाउन नसक्ने अबोध स्कुले केटी । वा ‘मिस मार्गरिडा’ मा स्कुलको शैक्षिक प्रणालीबाट विक्षिप्त भएको शिक्षिका होस् अथवा ‘पुतलीको घर’ मा घर छाडेर हिँड्नुपरेकी नोरा– ती सबै कहीँकतै आएका फूलहरू जस्तै थिए । ती क्षणिक थिए तर महत्त्वपूर्ण । ती सबै नफर्किएका पात्रहरू हुन्, जसका आ–आफ्नै सपनाहरू थिए । मेरा कथाका सपनाहरू पनि आरूका फूलझैँ लटरम्म फूलेका र स्थिर थिए । नाटकमा ‘मयजु’हरूका सपना तिनका प्रेमिका सपनासँग खप्टिएर म आफैँ पनि ती पात्रजस्तै लाग्न थालेँछु ।

वीरेन्द्र हमालसँग थुप्रै नाटकहरू खेलिसकेकी थिएँ । तर, ०५७ सालमा आरोहणमा डा. अभि सुवेदीद्वारा लिखित ‘आरूका फूलका सपना’मा काम गरिसकेपछि मेरा सपनाहरू अर्को तहमा उक्लिए । दर्शकको ताली र त्यो तालीको मोहमा रमाउनका लागि रंगमञ्च ऊर्जाशील ठाउँ बन्न थाल्यो । तर, मलाई त्यही एम आर्ट थिएटर र त्यस समयमा बिताएका क्षणहरू अझै ताजै छन् । वीरेन्द्र हमालले हात समातेर नाटकको परिभाषा दिँदै मलाई मञ्चमा चढाउनुभएको हिजैजस्तो लाग्छ । नाटकको विषयमा खासै ज्ञान थिएन र संवाद कसरी बोल्नुपर्छ, शारीरिक हाउभाउ, चरित्रअनुरूप कस्तो हुनुपर्छ ती सबै सिकाउनुभयो अनि कहिलेकाहीँ संवाद बिर्सिंदा हेलमेटले हिर्काउनुहुन्थ्यो । अनि, म घरि–घरि प्रश्न गर्थें– ‘अंकल के म भूमिका गर्न सक्छु त ?’ त्यहीँ भेट हुनुभएका मेरा सिनियर दाइले मलाई धेरै कुरा सिकाउनुभयो । बिस्तारै आत्मविश्वास बढ्दै गयो ।
केही महिनापछि सौगातजी (सौगात मल्ल) को प्रवेश भयो । पहाडजस्तो सु–संगठित शरीर देख्दा पनि डर लाग्थ्यो । तर, उनी त साह्रै कमलो मनका धनी रहेछन् । उनी त्यसपछिका दिनहरूमा मेरा नजिकका मित्र बने । अहिले सम्झँदा रमाइलो अनुभूति हुन्छ । ‘सोरठी’ नाटक गर्दा उनी माझी बनेका थिए, म रानी । खोइ किन हो थाहा छैन– अरूसँग अलि अप्ठ्यारो लाग्थ्यो तर उनी मसँग हुँदा त्यस्तो संकोच कहिले लागेन । एम आर्टमा दुई वर्ष काम गर्दा थुप्रै नाटक गरियो । १० रुपियाँमा म:म खान कहाँ–कहाँ पुगिन्थ्यो । कहिले सौगातजी १० रुपियाँ निकाल्थे, कहिले म । त्यो १० रुपियाँको आनन्दलाई अहिलेका थुप्रै चिजहरूले पनि विस्थापित गर्न सक्दैनन् । नाटकसँगै थुप्रै अनुभूति सँगाल्दै हामी आरोहण पुगेका थियौँ । त्यो मेरा लागि राम्रो मौका थियो । मभित्रको कलाकारिता तिखार्नका लागि आरोहणले दुई वर्षे पाठयक्रमसहित नाट्य विद्यालय सुरु गर्ने भएपछि हामी त्यहीँ बस्ने भयौँ । मलगायत एम आर्टबाट आएका राजकुमार दाइ, राजन दाइ, कमल दाइ र सौगातजी थियौँ । यो कुरा घरमा भनेपछि बुबा, ममीले भन्नुभयो, ‘तिम्रो खुसी नै हाम्रो खुसी’ । त्यही एउटा वाक्यले नै आज म यहाँसम्म आइपुगेकी हुँ । उहाँहरूको समर्थन नभएको भए म जमेको पोखरी हुने थिएँ तर अहिले नदी भएकी छु ।

‘मभित्र केही जलेको छ
तर के जलेको छ
त्यो म भन्न सक्दिनँ
त्यही खोज्नका लागि
म बाहिर जान्छु’
अभि सरले लेख्नुभएको ‘अग्निको कथा’ ०५९ मा मञ्चन हुँदा माथिको पंक्तिको अर्थ खासै बुझेकी थिइनँ । एउटा पुस्तकालय जल्दैमा मन कसरी जल्छ ? बुझेकी थिइनँ । पुस्तकालय जल्दैमा शाक्यमुनिका आदिम शब्दहरू कसरी जल्छन् ? मान्छेभित्रकै ज्ञान, प्रेम कसरी डढ्न सक्छन् ? म भित्रभित्रै कताकति जलिरहेकी थिएँ । तर, संयोग– म बस्ने ‘गुम्बा’ अर्थात् गुरुकुलको एउटा सानो कोठा जल्यो । गुम्बाको पुस्तकालयमा आगो लागेपछि भिक्षु भिक्षुणीहरूको मनमा खैलाबैला मच्चियो । मेरो ज्ञानको भण्डारमा आगो लाग्यो, मेरो आत्मा बस्ने ठाउँ जल्यो ।
घर जान सामान मिलाउँदै थिए, अघिल्लो रात कोठामा एउटा मैनबत्ती सल्किँदै थियो, म अर्को मैनबत्ती लिन पसल गएकी थिएँ । मोबाइलको घन्टी बज्यो–पशुपति कलिङ । ‘दिदी तपाईंको कोठामा आगो लाग्यो छिटो आउनुस् ।’ म दौडिएँ । आगो निभाउन पानी हाल्दै थिए साथीहरू । सौगातजी कोठाको संघारमै उभिएर एक तमासले कोठालाई नियाल्दै थिए । मैले उनको आँखाबाट एकफेर कोठा नियालेँ, त्यो कोठा अनि त्यहाँ बिताएका पलहरू, मेरा चाहना, प्रेम, सपना, ज्ञान, अति महत्त्वपूर्ण सामग्रीहरू (पुस्तकालयका ग्रन्थ जलेझैँ) मेरा शब्दका फाँटहरू खरानी भएको टुलुटुलु हेरिरहँे । शरीर मुठोजस्तो भयो र आँखामा जालो लागेजस्तो भयो । ‘अग्निको कथा’मा ‘आगो लाग्यो’ भन्दै वसन्त दाइ प्रवेश गर्नुभएपछि अर्को पात्रले सोध्छ,’ ‘साँच्चिकै हो कि ख्याल ख्यालको ? अनि भन्नुहुन्छ, ‘हैन साँच्चिकै आगो लाग्यो भनेको ।’ अनि एउटी भिक्षुणी डाँको छोडेर रुन्छे ।
यथार्थमा सौगातजी भन्दै थिए, ‘सरिता…ए सरिता…तिम्रो कोठामा आगो लाग्यो,’ उनी मलाई बारम्बार घच्घच्याउँदै थिए अनि बल्ल मेरा आँखाबाट आँसु झरे–तप्प तप्प । खुट्टाहरू थररर काँप्न थाले, म अर्धचेत भएँ । दिमाग शून्य भयो, न त डाँको छोडेर रुन सकेँ न त बोल्नै । त्यस अवस्थामा सौगातजी सम्झाउँदै थिए, ‘अब जे हुनु भयो, के गर्न सकिन्छ र ? हुने कुरा भएरै छाड्छ’ एकपल्ट पुलुक्क उनको आँखामा हेरेँ । ‘हो सौगात हुने कुरा भएरै छाड्छ । मेरो मन त जलेकै थियो तर आज मेरो गुम्बा पनि जल्यो ।’ सायद यो कुरा बुझ्न उनलाई त्यति गाह्रो भएन, किनभने उनका आँखा रसाएको देखेँ । बिस्तारै आगो निभ्दै गयो, सबैजना कोठातिर लागे । सौगातजी जलेका ट्रान्सकिप्ट, सर्टिफिकेट, ल्यापटप, पासपोर्ट, मोबाइल र बचेका सामानहरू सँगाल्न थाले ।
घर जाने बेला पूर्ण भएर जानुपर्ने तर आधी आधी बोकेर जाँदै थिए । मैले बाहिरको यात्रा गर्नु थियो–उज्यालोबाट अँध्यारोतिर जाँदै छु जस्तो मात्र लागिरह्यो । भिक्षुणीहरू उत्तर खोज्न कैलाश जान्छन् र उत्तर पनि पाउँछन् तर मैले त्यसका लागि बाहिरै जानुपर्ने हुन्थ्यो । बल्ल अभि सरका ती पंक्तिहरू अलिअलि बुझेँ । मन जले पनि, ज्ञान जले पनि उब्जिएका प्रश्नहरूको उत्तर म आफैँले सोच्नुपर्छ ।
गुरुकुलको भौतिक संरचना भत्किने बेला आफूलाई यस्तै अपूर्ण महसुस गरेकी थिएँ । सायद गुरुकुलको मञ्च मेरो लागि एउटा मञ्च मात्र नभएर जीवनलाई नजिकबाट नियाल्ने दुरबिन बनेको थियो । नाटक गर्दागर्दै त्यसभित्रका पात्रहरू आफूभित्र महिनौँसम्म समाहित हुन्थे भने रिहर्सलको बेला म कतिपटक रुन्थेँ अनि कालो कटनपछाडि गएर आफूलाई लुकाउँथे । एउटा परिवार भएर बसेका थियौँ, एकै थालमा खाना खान्थ्यौँ, एक अर्कासँग कुरा नमिल्दा कहिलेकाहीँ कुटाकुट हुन्थ्यो, शब्दका प्रहार त कति–कति । अनि कहिलेकाहीँ चोरी–चोरी गरेको प्रेम ।
साथीभाइहरूसँग बिताएका क्षणहरू, केटीहरू मिलेर ननभेज जोकहरू गरेका दिनहरू । सुनील सरले बेला बेलामा आफ्ना संघर्षका कुराहरू सुनाउँदा आफू दह्रो भएको अनुभूति हुन्थ्यो । सरलाई हेर्दा दरिलो खम्बाजस्तो लाग्छ तर अब बिस्तारै त्यो पिलर भत्कँदै छ अर्थात् गुरुकुल बन्द हुँदै छ । हिजोसम्म सम नाटकघर भत्कँदा मनमा कताकता एक किसिमको आशा जागेको थियो कि नयाँ बन्नका लागि भत्किएको हो । तर, अब त्यो आशा पनि मरेर गयो जतिखेर रिमाल नाटकघर भत्किन थाल्यो । नाटकघरको पर्दा निकाल्दा यस्तो लाग्यो, कुनै नाटक सकिँदा पर्दा लगाइन्छ । मनमा धेरै कुरा खेले– यो पर्दा सदाका लागि नलागोस् । मनमा प्रश्नहरूले डेरा बसाल्दै गयो, अनि सुनील सरका आँखामा यो प्रश्नको उत्तर खोज्दै थिएँ । सायद सरका आँखा पनि धेरै प्रश्नका उत्तर खोज्दै थिए कि ?
अब के त ? मलिन अनुहार, हतास मनस्थिति अनि पीडा लुकाउन मलिन हाँसो, अनि मेरा मनभरि प्रश्नहरू– के अब फेरि गुरुकुलको पर्दा खुल्ला ? अनि निशा दिदीको याद आयो, उनका हातहरू मेरा शिरमा धेरैपटक परेका हुन् । कहिले कपाल बाटिदिन त कहिले नाटक सुरु हुने बेला, ‘लु राम्रो गर, ठूलो स्वरले बोल ।’ अनि प्रेमपूर्वक गाली गरेका दिनहरू भुल्न नसक्ने भएका छन् । वसन्त दाइको सधँ एउटै सोधाइ हुन्थ्यो– ‘भविष्यमा के गर्छेस् नानी ? अब बिहे गर ।’ सुनील सर थप्नुहुन्थ्यो– ‘यसले बिहे गर्दिन, गुरुकुलमै बस्छे र पछि अंश माग्छे ।’
कुनै समयका साथीहरू छुटे, सपनाहरू पनि छुटे । गुरुकुललाई केन्द्रमा राखेर देखेका परिमार्जित सपनाहरू पनि एक चरण छुटे । गुरुकुलको भौतिक संरचनाको समाप्तिसँगै । ती साँच्चि नै आरूका फूलहरूजस्तै भए । ती मेरा हृदयमा त फुले, शिरमा भने बसिरहन सकेनन् । अब फेरि आरूका फूलहरू फुल्ने अर्को ऋतुको पर्खाइ छ ।

प्रतिक्रिया