आत्मसमर्पण गर्न दिल्लीबाट आएँ

काठमाडौं, २३ वैशाख । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका अध्यापक धर्म विष्ट मारिएको पाँच वर्षसम्म पनि हत्यारा पक्राउ पर्न सकेनन् । तर, हालै एक व्यक्तिले उक्त घटनाको रहस्य सार्वजनिक गरेका छन् । घटनापछि फरार भएका भक्तपुर लोकन्थलीका २६ वर्षीय राजीव पाण्डेले सञ्चारकर्मीमाझ रहस्य खोलेका हुन् ।
परिवारसँग समेत पाँच वर्ष सम्पर्कबाहिर रहेको भनिएका पाण्डे अनामनगरमा बिहीबार केही पत्रकारमाझ घटनाको इतिवृतान्त सुनाउँदै गर्दा भावुक देखिन्थे । आफू निर्दोष रहेको दाबी गर्दैगर्दा उनका आँखा रसाएका थिए । उनीसँगै बहिनी रिता पनि आँसु लुकाउने प्रयासमा थिइन् । भाइ पर्ने सौरभले बुबाआमासँग उनको भेट हुँदा त निकैबेर रुवावासी चलेको बताए । उनले भने, ‘५ वर्षपछि बेपत्ता छोरो घर फर्केको छ, त्यो पनि प्रहरीसमक्ष आत्मसमर्पण गर्न, यो क्षणले आमाबुवालाई रुवाउनु स्वाभाविक हो ।’
पाण्डेले बिहीबार महानगरीय प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरिसकेका छन् । पारिवारिक स्रोतका अनुसार यसअघि नै पीडित पक्षले घटनाको मुख्य अभियुक्त भएको दाबी गर्दै उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइसकेको छ ।

२५ असार २०६३ बिहान ९ बजे । म लोकन्थलीस्थित घरमै थिएँ । मोबाइलको घन्टी बज्यो । डिस्प्लेमा हेरे । ल्यान्डलाइनबाट रहेछ । फोन उठाएँ । कोटेश्वरका साथी रञ्जन खड्का बोले । ‘तुरुन्तै शंखमूल आइज, एउटा जरुरी काम छ,’ उसले भन्यो । मैले इन्कार गरेँ । फोन फेरि बज्यो । मैले फोन उठाइनँ । लगातार फोनको घन्टी बजेपछि सँगै रहेकी बहिनी रीताले सोधिन्, ‘को हो त्यो ।’ मैले साथी रञ्जन हो भनँ । ‘त्यो बदमास छ, उसले बोलाएको ठाउँमा नजानू’ बहिनीले भनिन् । मैले त्यसै गर्ने निर्णय गरँ । मोबााइलको घन्टी बजिरह्यो । केही सीप नलागेपछि फोन उठाएँ । उनले भन्यो, ‘तेरी बहिनीलाई कसैले जिस्कायो भने तँलाई के हुन्छ ? मलाई त्यस्तै भएको छ, मलाई सहयोग गर्नुपर्‍यो ।’
नाइँनास्ती गर्दा पनि नभएपछि परिवारलाई ढाँटेर म दिउँसो करिब ४ बजे शंखमूल पुलनजिक पुगँ । त्यहाँ २०–२५ जना मान्छे भेला भएका थिए । भिडको केन्द्रमा साथी रञ्जन र अर्का साथी विनोद केसी थिए । दुवैको हातमा रड, इँटा र ढुङ्गा थियो । रन्जनले एक व्यक्तिलाई रडले टाउकामा प्रहार गर्‍यो । ऊ भुइँमा  ढल्यो । प्रहार गर्ने क्रम रोकिएन । मैले उनीहरुलाई रोक्न भनँ तर टेरेनन् । ऊ  बेहोस भएर भइँमा उत्तानो परेपछि उनीहरु भागे । डर लाग्यो । म पनि उनीहरुसँगै भागँ । हामी भागेर सातदोबाटो ढोलाहिटीस्थित विनोदको घर बेलुका करिब ८ बजे पुग्यौँ । खाना खाएर सुत्न खोजे पनि निदाउन सकिएन । बिहानपख पो निदाइएछ ।
हामी ओछ्यानमै थियाँ । बिहान करिब ८ बजे रञ्जनकी दिदी पर्नेले फोनबाट भनिन्, ‘हिजो कुटपिट गरिएको व्यक्ति त मरेछ ।’ झन् डर लाग्यो । कुटपिट गरिएको व्यक्ति को थियो, मलाई त्यसबेलासम्म पत्तो थिएन । रञ्जनसँग सोधेँ । अनि पो थाहा भयो । त्यो मान्छे त मीनभवन क्याम्पसको प्रोफेसर धर्म विष्ट रहेछ । डिग्रीको थेसिस पेपर बुझाउँदा बहिनीलाई दुव्र्यव्यवहार गरेपछि रञ्जनले ठीक पार्ने उद्देश्यले विष्टलाई यसो गरेका रहेछन् ।
खबर चारैतर्फ फैलिसकेको थियो । के गर्ने/नगर्ने भन्ने दुविधामा थिएँ म । उनीहरूले भाग्ने योजना सुनाए तर मैले गल्ती नगरेकाले नभाग्ने भनेँ । उनीहरूले ‘कुटपिट गर्दा सँगै रहेकाले तिमीलाई पनि प्रहरीले समात्छ’ भने । होला भन्ने लागेर  म पनि उनीहरुसँगै भाग्ने निर्णयमा पुगँ । हामी रातको आठ बजे कलंकी पुग्याँ । लुक्दै छिप्दै भोलिपल्ट बुटवल पुग्याँ ।
म साह्रै डराएको थिएँ । त्यहीँबाट फर्कने कोसिस गरेँ तर फेरि डर लाग्यो । बुटवलमा लुक्दै हामी अज्ञातस्थलको खोला किनाराछेउ पुग्याँ । ‘तिमी यहीँ बसिराख, हामी १० मिनेटपछि आउँछौ भनेर रञ्जन र विनोद गए । उनीहरूलाई मैले त्यही ठाउँ आठ घन्टासम्म कुरँ तर आएनन् । खर्च थिएन । मसँग नोकिया कम्पनीको मोबाइल थियो । तीन हजार रुपियाँमा  बेचँ । त्यही खर्चले सुनौली नाका हुँदै म  नयाँ दिल्ली पुगँ ।
भोकभोकै पर्ने अवस्था आएपछि दिल्लीको ढावा तन्दुरी पसलमा भाँडा माझ्ने काम गरँ । दिन बित्दै गए । घरको यादले सताउन थाल्यो । विशेषगरी चाडबाडका बेला म धेरै रुने गर्थेँ । घरमा फोन गराँझँ लाग्यो । डरका कारण फोन गर्न सकिनँ । चार वर्षसम्म पीडामै दिन बिते । एक दिन आँट गरेर घरमा फोन गरँ । बुबाले फोन उठाउनुभयो । त्यसबेला आमासँग पनि कुरा  भयो । फोनमै हामी धेरैबेर रोयाँ । मैले केही गल्ती नगरेको कुरा घरको सदस्यलाई भनेँ । बुबाले ‘जस्तो हुन्छ सहाँला घर फर्की’ भन्नुभयो । लाग्यो, एक दिन प्रहरीले पक्राउ गरिहाल्छ । त्यसमा पनि मुख्य दोषी त अरू नै हो भन्ने लाग्यो । अन्तत: म नेपाल फर्कने निर्णयका साथ बुधबार बेलुका ८ बजे कलंकी आइपुगेँ । म अहिले प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न जाँदै छु, हेराँ अब के हुन्छ ।

प्रतिक्रिया