आफ्नै ड्राइभरलाई ठगेको आरोपमा पूर्वमन्त्री पक्राउ

काठमाडौं, २३ वैशाख । नक्कली जग्गाधनी प्रमाणपुर्जा देखाई ठगी गरेको अभियोगमा प्रहरीले पूर्वसंघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री खगेन्द्रप्रसाद  प्रसाईंलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले प्रसाईलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
परिसरका डिएसपी धीरजप्रताप सिंहले कोटेश्वरस्थित निवासबाटै उनलाई पक्राउ गरिएको जानकारी दिए । लमजुङ बेसींसहर–३ का ३४ वर्षीय दुर्गा परियारलाई प्रसार्इंले भक्तपुर सिपाडोलमा श्यामकाजी स्याङतानको नाममा रहेको जग्गाको नक्कली पुर्जा देखाई पाँच लाख रुपियाँ ठगेको प्रहरीले जनाएको छ । ठगीमा प्रसार्इंसहित सिन्धुली जिल्ला–३ का श्यामकाजी स्याङ्तान र वसन्तराज स्याङ्तानको समेत संलग्नता रहेको प्रहरीको भनाइ छ । डिएसपी सिंहले ठगी काण्डमा मन्त्री प्रसाईंको संलग्नता भएको देखिए पनि प्रत्यक्ष हो या होइन भन्ने विषयमा अनुसन्धान गर्न बाँकी रहेको बताए ।
प्रसाईं, श्यामकाजी र वसन्तराजले परियारलाई भक्तपुरको सिपाडोलमा दर्ता स्रेस्ता नै नभएको जग्गाको लालपुर्जा देखाई ठगी गरेका थिए । प्रहरीका अुनसार उनीहरूले परियारलाई श्यामकाजीको नाममा सिपाडोलमा १७ आना जग्गा रहेको नक्कली लालपुर्जा देखाएका थिए । श्यामकाजीको १७ आना जग्गामध्ये चार आना उनले दिने सर्तमा प्रसार्इं आफैं साक्षी बसी परियारबाट पहिलो चरणमा दुई लाख रुपियाँ लिइएको थियो । प्रसाईंले परियारलाई २०६८ पुसभित्रै भक्तपुर मालपोत कार्यालयमा रजिस्ट्रेसन पास गरी दिने सर्त राखेका थिए ।
ठगीको अरोपमा पक्राउ परेका प्रसार्इं झलनाथ खनाल नेतृत्वको मन्त्रिमण्डलमा नेकपा(माले)बाट मन्त्री भएका थिए । उनको स्थायी घर झापा अनारमनी–३ भए पनि अहिले कोटेश्वरमा बस्दै आएका छन् । स्रोतका अनुसार परियार प्रसार्इंका आफ्नै ड्राइभर हुन् । उनले आफू मन्त्री छँदा परियारलाई ड्राइभर नियुक्त गरेका थिए ।
ठगीका अन्य आरोपित श्यामकाजी र वसन्तराजलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया