मन्त्रालयहरूमा काम लथालिंग

काठमाडौं, २३ वैशाख । एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा भएपछि सामान्य प्रशासनलगायत विभिन्न मन्त्रालयको कामकारबाही लथालिंग भएको छ । पुराना कर्मचारी सरुवा भएर अन्यन्त्र गएको र नयाँ आएका कर्मचारीले मेसो नपाएकाले मन्त्रालयका काम ठप्पजस्तै भएका हुन् ।
मन्त्रालय तथा विभागहरू नयाँ कर्मचारीले भरिएका छन् । पुराना कर्मचारीबाट हुँदै आएका कामका बारेमा आवश्यक ज्ञान नभएकाले मन्त्रालयस्तरीय काम सल्ट्याउनै कठिन परेको उनीहरूको गुनासो छ । सामान्य मन्त्रालयका प्रवक्ता वेगेन्द्रराज शर्मा पौड्यालले मन्त्रालयमा सबै नयाँ कर्मचारी मात्र भएकाले दैनिक प्रशासनिक काम गर्न निकै कठिन भएको बताए ।
‘प्रशासन सुधारभन्दा आफूनिकट कर्मचारीलाई राम्रो ठाउँमा पार्ने परिपाटीले समस्या भएको हो,’ प्रवक्ता पौड्यालले भने । कर्मचारी सरुवाको सबैभन्दा ठूलो असर सामान्यमा परेको उनी बताउँछन् । पौड्याल स्वयम् उद्योगबाट गत हप्ता मात्र सामान्यमा सरुवा भएका हुन् । ‘यो मन्त्रालयमा म आफंै नयाँ छु, यहाँ हुने सरुवा तथा बढुवाको चक्करले मलाई पनि समस्या पारिरहेको छ,’ उनले सुनाए । मन्त्रालयमा ९९ प्रतिशत कर्मचारी सरुवा भएर आएका र नयाँ अनुहार भएकाले काम अघि बढ्न नसकेको उनको भनाइ छ ।
‘मन्त्रालयले यसअघि गरेका कामको फाइल नै पत्ता लगाउन सकिएको छैन,’ प्रवक्ता पौड्यालले सौर्यसँग भने, ‘कुन दराजमा कस्ता फाइल राखिएका छन्, यसअघि के–के काम भएका छन्, के–के प्रक्रियामा छन्, भन्नेबारेमा केही जानकारी छैन, यस्तो अन्धकारमा कस्तो काम गर्न सकिन्छ ?’ सामान्य मन्त्रालयअन्तर्गतका विभिन्न विभाग पनि नयाँ कर्मचारीले भरिएकाले यसअघिका कामको फाइल खोज्दैमा समय बितिरहेको उनले बताए ।
‘एउटै मन्त्रालयमा काम गरे पनि एकआपसमा सामान्य चिनाजानसमेत छैन,’ पौड्याल थप भन्छन्, ‘आफंैले नचिनेका कर्मचारीलाई कसरी काम लगाउन सकिन्छ ?’ उनले सामान्यबाट सरुवा भएर गएकाले नयाँ आउने कर्मचारीलाई आफ्नो विभागीय कामका बारेमा जानकारी नगराएकाले यस्तो समस्या देखिएको पनि बताए ।
यता, स्थानीय विकास मन्त्रालयले पनि यस्तै समस्या झेलिरहेको मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलिया बताउँछन् । एकैपटक धेरै कर्मचारी सरुवामा परेका र त्यसमा पनि ‘राम्राभन्दा हाम्रा’ बढी रहेकाले काममा समस्या देखिएको उनको भनाइ थियो । ‘एकै पटक धेरै कर्मचारी बाहिरिने र भित्रने गर्नाले सोचेअनुसार काम नहुनु स्वाभाविकै हो,’ थपलियाले भने, ‘सरुवा भएर आएका नयाँ कर्मचारीलाई मन्त्रालयमा रहेका पुराना कर्मचारीको राम्रो गाइडलाइन भयो भने पनि सामान्य अवस्थामा पुग्न कम्तीमा एक महिना लाग्छ ।’
थपलियाका अनुसार सबैभन्दा ठूलो समस्या स्थानीय विकास अधिकारी भएर विभिन्न जिल्लामा पुगेका उपसचिव तथा शाखा अधिकृतस्तरका कर्मचारीलाई समस्या परिरहेको छ । ‘पुराना कर्मचारीले के–कस्ता योजनामा हात हालेका छन्, कुन काम कति सकियो भन्ने जानकारी लिनै समय लाग्छ,’ उनले थपे, ‘त्यही कुरा पुराना कर्मचारीले जानकारी गराए एक–दुई दिनमै पनि सकिन्छ ।’
भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण, भूमिसुधार तथा व्यवस्था, गृह, कृषि तथा सहकारी, कानुन तथा न्यायलगायतका मन्त्रालयमा यस्तै समस्या देखिएको थपलियाले बताए । ‘सरकारी काममा चुस्तता नआउनाको प्रमुख कारण पनि यही हो,’ उनले भने, ‘कर्मचारी नियमावली बनेको छ तर नियमावलीमा उल्लेख गरिएका कुरा लागु नगर्ने परिपाटी भएकाले बर्सेनि समस्या देखिन्छ ।’
कर्मचारी नियमावलीमा सरुवा भएर जाने कर्मचारीले नयाँ कर्मचारीलाई अनिवार्य आफ्नो कामको बरबुझारथ गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, त्यसको पालना कर्मचारीबाट नभएको प्रवक्ता थपलिया बताउँछन्  । उनले थपे, ‘कानुनले त्यसका लागि २१ दिनको म्याद दिएको छ, तर, सरुवा भएको भोलिपल्टै कर्मचारी आफ्नो सरुवा रमाना बोकेर बिदा बस्नतिर कुद्छन् ।’
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता कृष्ण राउतले पनि कर्मचारी सरुवा तथा बढुवाले मन्त्रालयको काम लथालिंग भएको बताए । सरुवा भएर मन्त्रालयमा आएका नयाँ कर्मचारीले एक हप्तामा सामान्य कामको फाइल तयार गर्न पनि नसकेको जानकारी दिँदै प्रवक्ता राउतले भने, ‘मन्त्रालयमा कामको मेसो नपाएकाले हुन सक्छ, नयाँ आएका कर्मचारीबाट काम लिन नसक्दा निकै बाधा पुगेको छ ।’
मालपोत कार्यालय, नापी विभागमा यस्तो समस्या बढी देखिएको राउत बताउँछन् । ‘सरुवा भएर आएका नयाँ कर्मचारीलाई सम्बन्धित विभागको काम सिक्न कम्तीमा पनि ६ महिना लाग्छ,’ उनले थपे, ‘काम सिकेपछि ऊ अन्तै सरुवा हुन्छ ।’
समय नपुग्दै तथा औचित्य नप्रस्ट्याई कर्मचारीको सरुवा गर्ने प्रचलनले काममा बाधा पुगेको लोकसेवा आयोगका सचिव श्यामप्रसाद मैनाली बताउँछन् । ‘कर्मचारी सरुवा प्रणाली व्यवस्थित नभएकाले काममा असर परेको छ,’ सचिव मैनालीले सौर्यसँंग भने, ‘कर्मचारी सरुवा गर्ने पदाधिकारीले विवेकपूर्ण तरिकाले सरुवा गरेमा त्यस्तो समस्या आउँदैन ।’ उनले एकै पटकमा १५ सयदेखि दुई हजार कर्मचारी एउटै मन्त्रालयबाट सरुवा गर्ने परिपाटी बसालिएकाले कर्मचारीतन्त्रबाट हुने कामबाट सुस्तता आएको उल्लेख गरे ।
सामान्यबाट सामाजिक सुरक्षा कोषमा सरुवा भएका सहसचिव केवलप्रसाद भण्डारीले मन्त्रालय नै पूरै खाली हुने गरी कर्मचारी सरुवा गरिएकाले सामान्यमा समस्या आएको हुन सक्ने बताए । सरुवामा परेको कर्मचारी सम्बन्धित कार्यालय जाने र नयाँ कर्मचारी तत्काल हाजिर हुन नआउनाले पनि समस्या देखिएको उनको भनाइ छ ।
भण्डारीले भने, ‘सरुवा भएर आएको कार्यालयमा केही दिन अन्यौल देखिनु स्वाभाविकै हो, तर सबैले म नयाँ छु भनेर बस्छन् भने कसको के लाग्छ ?’ कर्मचारीको क्षमता र खुबीअनुसार विभागीय कामको जिम्मा दिए समस्या नआउने उनले तर्क गरे ।

प्रतिक्रिया