राजधानीको अपराधमा गोली नम्बर ७.६५

काठमाडौं, २२ वैशाख । राजधानीमा पछिल्लो समय भएका ६ वटा गोलीकाण्डमा एउटै मोडेलको गोली प्रयोग भएको पाइएको छ । प्रहरीका अनुसार ती घटनामा प्रयोग भएको गोलीको मोडेल हो– ७ दशमलव ६५ एमएम क्यालिबर । यसलाई ० दशमलव ३० क्यालिबर मोडेलका रुपमा पनि चिनिन्छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले २०५९ यताका २३ वटा गोलीकाण्डलाई विश्लेषण गरेको थियो । विश्लेषणबाट ७ दशमलव ६५ एमएम क्यालिबरको गोली २९ माघ २०६५ यता प्रयोग भएको पाइएको छ ।
दिउँसो करिब ४ बजे थेन्जी लामामाथि गोली प्रहार गरी ११ लाख रुपियाँ लुटिएको थियो । सुन्धाराबाट पवन भनिने व्यक्तिसँग ११ लाख रुपियाँ सापट लिई फर्कंदै गर्दा अज्ञात समूहले उनको पिछा गरेको थियो । कपुरधारा पुगेपछि मोटरसाइकलमा रहेको अज्ञात समूहले उनको मुखभित्रै सटाएर गोली प्रहार गरी नगद लुटेको थियो । सो समूहको अहिलेसम्म पहिचान नखुलेको प्रहरीको भनाइ छ ।
२१ माघ २०६६ मा ठमेलको ज्याठामा भएको गोली प्रहारमा पनि ७ दशमलव ६५ एमएम क्यालिबरकै गोली प्रयोग भयो । लुटेराले मनीएक्सचेन्जका नन्दकुमार श्रेष्ठलाई गोली प्रहार गरी १६ लाख रकम लुटेका थिए । घटनामा संलग्न भएको आरोपमा टेन्सन भनिने डेनी लामा र अर्जुन लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
२२ पुस २०६६ मा पवन सरिया भनिने व्यक्तिमाथि पनि ७ दशमलव ६५ एमएम क्यालिबरकै गोली प्रहार गरी ७० लाख रुपियाँ लुटिएको थियो । घटनामा संलग्न भएकाबारे प्रहरी अझसम्म पनि बेखबर छ । सरियामाथि कमलपोखरीस्थित हिमाल डेन्टल अस्पताल अघिल्तिरको सडकमा हिँड्दै गर्दा गोली प्रहार गरिएको थियो ।
१७ कात्तिक २०६७ मा ठमेल त्रिदेवीमार्गमा निमा लामामाथि उक्त मोडेलकै गोली प्रहार गरी एक लाख रुपियाँसहित नौ सय युरो लुटपाट भयो । प्रहरीका अनुसार गोली चलाउने अभियुक्तबारे अझै खुल्न सकेको छैन ।
१० फागुन २०६७ मा टेकुस्थित एक्साइड ब्याट्री कम्पनीका प्रेमकृष्ण महर्जन र सुदीप बस्यालमाथि पनि सोही क्यालिबरकै गोली प्रहार भयो । गोली लागेका महर्जनको उपचारका क्रममा मृत्यु भयो भने बस्याल घाइते भए ।
त्यसको १७ दिनपछि गणबहालमा पप्पु भनिने अञ्जनीकुमार चाचनमाथि पनि सोही क्यालिबरकै गोली प्रहार भयो । चाचनको घटनास्थलमै मृत्यु भयो । लामो समयपछि प्रहरीले घटनामा संलग्न राजु डंगोल, अशोक गोले र बिजेन्द्र शर्मालाई पक्राउ गर्‍यो । अनुसन्धानपछि खुल्यो, टेकुमा गोली प्रहार गर्ने पनि उनीहरू नै रहेछन् । प्रहरीका अनुसार दुवै घटनामा उनीहरूले हतियारसमेत एउटै प्रयोग गरेका थिए ।
विशेषगरी लुटपाटका घटनामा ७ दशमलव ६५ एमएम क्यालिबर गोली प्रयोग भएको पाइएपछि सबै घटना एकापसमा अन्तरसम्बन्ध राख्नेखालको देखिएको प्रहरीको भनाइ छ । सबै घटनामा एकै मोडेलको गोली प्रयोग भएको देखिएपछि घटनामा संलग्न समूह पनि एउटै हुन सक्ने प्रहरीको अनुमान छ । तर, टेकु र गणबहालमा भएको गोलीकाण्डबाहेक अन्य घटनामा सम्बन्ध राख्ने बलियो प्रमाण नभेटिएपछि ठोकुवा गर्ने आधार नभएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘घटनामा गोलीको मोडेल एउटै देखिए पनि अभियुक्त एउटै समूहका हुन् भन्ने प्रमाण भेटिएको छैन ।’ ‘एकै मोडेलको गोली धेरै प्रकारका हतियारमा प्रयोग हुने भएकाले पनि यही हो भन्ने आधार छैन’ उनले भने ।
हतियार ल्याउने समूह भने एउटै हुन सक्ने डिएसपी राठौरको भनाइ छ । चारवटा चेन प्रयोग हुँदै भारतीय नाकाबाट हतियारसँगै राजधानीसम्म आइपुग्ने उनले बताए । उनका अनुसार हतियार हेटौंडा नाका हुँदै राजधानी भित्रिन्छ । उनले भने, ‘भारतीय दलालले २५ हजारमा बोर्डरसम्म हतियारसँगै गोली ल्याउँछन्, त्यही हतियार नेपाली दलालले चारवटा लेयर पार गर्दै राजधानी भित्र्याउँछन्, त्यसपछि मात्रै विभिन्न डिलरकहाँ पुग्छ ।’ उनका अनुसार राजधानीमा यस्ता अवैध हतियार दुई सयभन्दा धेरै छन् ।
महाशाखाकै डिएसपी हृदय थापाले उक्त मोडेलको मात्रै नभई ७ दशमलव ६२ एमएम, ९ एमएम क्यालिबरका गोली पनि राजधानीमा भएका हत्यामा प्रयोग भएको पाइएको बताए । डिएसपी थापाले ती गोली भारतको किर्की कारखानामा बनेको बताए । उनले भने,‘भारतीय र नेपाली दलालकै साँठगाँठबाट हतियार राजधानीसम्म भित्रिन्छन्, यस्ता धन्दामा विशेषगरी राजनीतिक संरक्षण पाएका आपराधिक समूहको संलग्नता धेरै छ ।’

प्रतिक्रिया