पाँच बुँदेसँगै राष्ट्रिय सरकार बनाउने सहमति


काठमाडौं, २१ वैशाख । लामो छलफल र कसरत पछि एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले पाँच बुँदे सहमति सहित राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेका छन् ।
नयाँ बनेश्वरस्थित विशेष समितिको कार्यालयमा बिहीबार मध्यरातसम्म बसेको बैठकले बाबुराम भट्टराईकै नेतृत्वमा जेठ १४ गते भित्रै राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय भएको एमाले नेता भीम रावलले जानकारी दिए । बैठक पछि पाँच बुँदे सहमति पत्र पढेर सुनाउदै रावलल बावुराम भट्टराईकै नेतृत्वमा सरकार बनाउने बताए । भट्टराईले दुई दिन भित्र सरकार बनाउने छन् ।
सहमति अनुसार जेठ १४ अगावै प्रधानमन्त्री भट्टराईले पदबाट राजीनामा दिएपछि कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने छ । कांग्रेसकै समयमा बन्ने सकारका समयमा नयाँ संविधान जारी हुनुका साथै कांग्रेस नेतृत्वको सरकारले एक वर्ष भित्र आमनिर्वाचन सम्पन्न गर्नुपर्ने छ ।
त्यसै गरेर नयाँ संविधानका बिवादित विषयलाई पनि तीन दिन भित्र सहमति जुटाउनु पर्ने सहमति दलहरुले गरेका छन् । राज्य पुनर्संरचना, शासकीय स्वरुपलगायतमा सहमति जुटाउने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
संविधानका बिवादित विषयमा सहमति हुन नसकेका विषयलाई संविधानसभामा मतदान प्रक्रियाबाट टुङगाउने सहमतिपनि दलहरुका वीच भएको छ ।
शान्ति प्रक्रियाका बाँकी विषयलाई पनि सम्पन्न गर्ने सहमति पनि दलहरुका वीच भएको छ । सहमतिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट विजय गच्छेदारले हस्ताक्षर गरेका छन् ।
पाँच बुँदे सहमति हुनु अगाडि एमाओवादी र मधेसी मोर्चाका मन्त्रीहरुले सहमतिमा सामुहिक राजीनामा दिएका थिए । राजीनामाको जानकारी एमाओवादीका नेता नारायणकाजी र मधेसी मोर्चाबाट हृदयश त्रिपाठीले दिएका थिए ।
बैठकमा मधेसी मोर्चाका मन्त्रीहरुले राजीनामा दिन र सरकार बिघटन गर्न नमानेपछि दलहरुका वीच केही समय सहमति जुटाउन हम्मेहम्मे परेको थियो ।
यस अघि बुधबार भएको सहमतिलाई एमाओवादी र मधेसी मोर्चाले आआफ्नै तरिकाले ब्याख्या गरेपछि बिहीबार सरकार बिघटन गर्ने सहमति कार्यान्वयनमा समस्या आएको थियो ।

प्रतिक्रिया