औपचारिकतामा सीमित संवैधानिक परिषद

काठमाडौं, २१ वैशाख । रिक्त संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ ।
सिंहदरबारमा आज बेलुका बसेको बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्ति र हालसम्म भएका प्रक्रियाका विषयमा सामान्य छलफल भएको सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले भने, ‘रिक्त पदाधिकारीहरु नियुक्तिका बारेमा अनौपचारिक छलफल मात्रै भएको हो ।’
प्रमुख दलका शीर्ष नेताहरु राष्ट्रिय सहमतिको सरकार र संविधानका बिवादित विषयमा सहमति जुटाउन आन्तरिक छलफलमा रहेकाले परिषदले कुनै ठोस निर्णय नगरेको नेम्वाङले बताए ।
निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग लगायतमा पदाधिकारी रिक्त रहेका छन् ।
यसैवीच, परिषद बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै भौतिक योजना तथा निर्माण मन्त्री एवं तमलोपाका नेता हृदय त्रिपाठीले बर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिईने बताएका छन् । उनले सरकारले राजीनामा नदिने बताए । उनले भने, ‘केही मन्त्रीलाई फिर्ता गरेर कांग्रेस र एमालेलाई सरकारमा सहभागी गराई पुनर्गठन मात्रै गर्ने हो ।’

प्रतिक्रिया