खोजखबर

आर्तनादको जिउँदो तस्बिर

सौर्य अनलाइन २०६९ वैशाख २१ गते ५:२८ मा प्रकाशित

भद्रकाली मन्दिरअघिल्तिरको व्यस्त सडक । हरेक दिन हरेक पल रात नपरुन्जेल चिल्ला मोटरगाडीको लर्को । त्यसैको छेउमा देखिन्छ, एउटा आर्तनादपूर्ण जिन्दगीको जिउँदो तस्बिर । सहिदगेटतर्फ मोडिने सडक पेटीमा पुत्ताउँदै गरेको धुवाँ अनि हात पोल्दै धानिएको एउटा जीवन ।
उनको अघिल्तिरबाट हजारौँ सवारी ओहोरदोहोर गर्छन् । सयौँ बटुवा बाटो काट्छन् । एकाध मात्र रोकिन्छन् । रोकिने पाइलाहरू हीरादेवीको मुजैमुजा परेको अनुहार देखेर होइन, उनले पोलिरहेका मकैमा भोक मेट्ने उद्देश्य लिएर आएका हुन्छन् । ‘मकैको कति ?’ भनेर कसैले सोधे उनी धुवाँले ध्वाँसिएको अनुहार अलि तन्काउँदै भन्छिन्, ‘ठूलोको बीस रुपियाँ, सानोको पन्ध्र ।’ कत्तिले पाँच रुपियाँको आधा दिनुस् भन्दै हैरान लाउँछन् । तर, उनी बरु सित्तैँ दिन्छिन्, आधा दिन्नन् अरे †
अहिले आएर उनले गर्ने ‘रुपियाँ’ को गन्ती मकै पोल्न सुरु गर्दाताका ‘पैसा’ मा थियो रे । विक्रम संवत् २००१ फागुन ३ गते भोजपुरको आरुखर्क–४ मा मनमाया र मनबहादुर श्रेष्ठकी छोरीका रूपमा जन्मिएकी हीरादेवीले ‘मकै बेचौँला’ भनेर सोचेकी पनि थिइनन् । ‘जिन्दगी त के भयो–भयो’ उनले भनिन्, ‘उमेर छँदा त यस्तो कसले सोचेको थियो र †’ २१ वर्षे लर्के जोवनमा भोजपुरकै धर्मबहादुर श्रेष्ठसँग विवाह गर्दा उनले पनि झरिलाभरिला सपना देखेकी रहिछन् । ‘उडायो सपना सबै हुरीले’ भनेझँै उनका सप्तरंगी सपना त्यति बेला उडेछन् जब वैवाहिक जीवनको यात्रा १६ वर्ष पुग्दा–नपुग्दै पतिले संसार छाडेर गए ।
श्रीमान्को देहावसान हुँदा उनका दुई छोरा र तीन छोरी भइसकेका थिए । त्यसपछि उनी भोजपुरमा पाँच हल गोरु लाग्ने खेतबारी छाडेर हिँडिछन् । मोरङमा पनि जीवनको केही समय बिताएकी हीरादेवीले त्यहाँ रहेको १० कट्ठा जमिन पनि त्यसै छाडिछन् । ‘मैले दु:ख पाएँ हो बाबु,’ उनले भनिन्, ‘श्रीसम्पत्ति त त्यतै होला अझै, तर फर्केर जान मनै लाग्दैन ।’ आफूले पाएको दु:खको कथा उनी शब्दमा बयान गर्न सक्दिनन्, वा चाहन्नन् । यति भन्छिन्, ‘खोइ के गरी दु:ख पाएँ–पाएँ ? के गर्नु, कसो गर्नु भैसक्यो ।’
छोरा र छोरीपट्टिका गरेर उनका १४ नातिनातिना छन् । तर, उनको जिन्दगीलाई हेर्ने हो भने ‘बाह्र छोरा अठार नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेझैँ भएको छ । भनिन्, ‘दुवै छोरा इलामतिरै छन् । खै के गरी बसेका छन्, थाहा छैन ।’ बुहारी भने दुवै जना अरूसँगै पोइल गइसकेछन् । तीन छोरी उनको नजिक छन् । तीनै जना काँक्रा बेचेर दैनिक गुजारा गर्दा रहेछन् । नजिकै मकै पोलिरहेकी माइली छोरीलाई देखाउँदै भनिन्, ‘यिनीहरू आएर कहिलेकाहीँ ‘बस आमा’ भन्छन् ।’
गरिबको पक्षमा दैव पनि हुँदैन भन्ने उनलाई त्यति बेला लाग्यो जति बेला उनको कोठामा आगलागी भयो । मुजा परेको अनुहार अझ अमिलो पार्दै उनले बर्रर आँसु झारेर ११ महिनाअघिको त्यो घटना सम्झिन्, ‘११ महिना भयो । कोठाका भाँडाकुँडा, सिरक, डसना, थाल, बटुको केही रहेनन् ।’ उनको सम्झना अझ गहिरो हुँदै छ, ‘रेडियो पनि थियो, थोत्रो टिभी जल्यो । केही रहेन बाबु । सबै यो (मकै पोलेको अँगार समात्दै) जस्तै भुस भयो ।’
त्यसयता उनी ११ महिनादेखि भद्रकाली मन्दिरको टहरामा सुत्दै आएकी छन् । जीवनमा एउटा कोठा मात्रै कतै भाडामा पाउनु पनि उनको जीवनको ‘ठूलो प्राप्ति’ पो होलाजस्तो छ । जसोतसो दिनमा एक–दुई सय कमाइ हुने हीरादेवी भन्छिन्, ‘पहिले पन्ध्र सय तिरेकी थिएँ । त्यतिसम्मको कोठा पाए त स्वर्गै हुने थियो ।’
भोजपुरमा पुख्र्यौली सम्पत्ति बाँकी होला भन्ने उनको अनुमान छ तर त्यहाँ पाइलै नराखेको २८ वर्ष भइसकेछ । भनिन्, ‘जानै मन लाग्दैन बाबु, अब त यहीँ आफ्नो लाग्छ । मरे पनि यतै मरौँ ।’ दुई वर्षअघिको माघेसंक्रान्तिदेखि बिमारीले च्याप्दै ल्याएकी हीरादेवीलाई अहिले घाँटीभन्दा तल भात छिर्दैन रे † उनले मेरै औँला सुमसुम्याउँदै भनिन्, ‘यस्तै थिए मेरा औँला, नंग्रा पनि । छि.. अब त आफ्नै हात र खुट्टा देखेर घीन लाग्छ ।’ त्यसै कारण साँझको छाक खाना खानै छाडेको ६ वर्ष भएछ ।
मोरङमा रहेका चार भाइ देवरले ‘यतै आउनुस् भाउजू’ नभनेका होइनन् रे, तर उनी गइनन् । ‘यतै बसेँ, यतै मर्छु,’ हीरादेवीले भनिन् । श्रीमान् मरेयता उनले जीवनका १५ वर्ष मकै मात्र बेचेर बिताइसकेकी छन् । भनिन्, ‘अब कति बाँचौँला र ? बाँचुन्जेल यही गर्छु ।’ भद्रभलाद्मी देखिने मात्र होइन, राम्रा चिटिक्क परेकाहरू पनि उनकामा मकै खान आउँदा रहेछन् । तर, कसैले एक शब्द ‘के छ आमा ?’ भनेर सोधेको उनलाई याद छैन । भन्छिन्, ‘यत्रा यत्रा महलले जंगलजस्तो काठमाडौं भरियो बा, हामीलाई पैसा तिरेर बस्ने कोठा पाइँदैन ।’
शिवराज

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय