सुदूरपश्चिमलाई इन्डोस्कोपी देखाउने डाक्टर

‘अस्पताल क्षेत्रलाई राजनीतिमुक्त क्षेत्र घोषणा गर्नुपर्ने’ मान्यता बोकेका डाक्टर विधाननिधि पौडेल आफैँमा अनुभवको ‘ग्रन्थ’ जस्तै लाग्छन् । २०१८ साल जेठ १८ गते पर्वतको कटुवाचौपारी–१, बडहरीमा जन्मिएका डा. पौडेललाई बालक छँदा यस्तै बनौँला भन्ने सोच थिएन । तर, एउटा सपना भने थियो, ‘आकाशमा हवाइजहाज उडेको खुब हेर्थें, त्यो देख्दा म पनि पाइलट बन्छु भन्ने सपना बुन्थेँ । ’
कटुवाकै सार्वजनिक प्राथमिक विद्यालयमा अक्षरारम्भ गरेका पौडेलको त्यो सपना धेरै टाढा थियो । कक्षा ६ देखिको पढाइका लागि भने उनले धेरै खुट्टा खियाउनुपर्‍यो । ‘गाउँनजिक स्कुल थिएन, हरेक दिन बिहान दुई घन्टा साँझ, दुई घन्टा हिँडेर एसएलसी पास गरेँ’, पौडेलले भने, ‘म हिँडेर थाकेको हुन्थेँ, भोक त्यस्तै लागेको हुन्थ्यो, अहिलेको जस्तो खाजा खाने चलन थिएन ।’ उनले जनता सुदर्शन माविमा पढ्दाका दिन सम्झिए, ‘म कम बोल्थेँ, कसैले जिस्क्यायो भने खुब रिस उठ्थ्यो ।’
आमा ठगेश्वरी र बुबा कलानिधि पौडेलका सन्तान विधानको डाक्टरी पढाइमा प्रवेश गर्दाको कथा पनि रोचक छ । हाल वीर अस्पतालमा सिनियर कन्सल्टेन्ट ग्यास्ट्रो इन्टेरोलोजिस्ट रहेका पौडेल ‘इँटा फोर्न, पर्खाल बनाउन र रन्दा लगाउन नसकेर’ डाक्टर बनेका रहेछन् । सुदर्शन माविबाट एसएलसीमा मध्यपश्चिमकै टप भएपछि उनी पनि उत्कृष्ट विद्यार्थीमा दरिए । त्यसपछि पोखरामा साइन्स पढ्न हिँडेछन् । पोखरा क्याम्पसमा नाम पनि निकाले । पोखरामै रहेका गाउँले दाइ हेमराज पौडेलले आफ्नै पैसा खर्चेर उनलाई काठमाडौँ पुर्‍याएछन् । डा. पौडेलले भने, ‘हेमदाइले महाराजगन्ज र पुलचोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा दिल लाउनुभयो ।’ दुवैतिर नाम निक्लिएछ । पौडेलले इन्जिनिएरिङ नै रोजेछन् । पछि हप्तामा चार दिन पढ्ने दुई दिन काम गर्नुपर्ने भएपछि उनी थकित भएछन् । ‘मसिनो दुब्लो जिउ, दुई दिन रन्दा लगाएँ, इँटा फोरेँ, सिमेन्ट मोलेँ, शनिबार त उठ्नै सकिनँ,’ पौडेलले भने, ‘हनहनी ज्वरो आएपछि पढाइ नै छोडिदिएँ ।’
‘कुनै कुरा त्याग्नु पनि नयाँ कुरा पाउनुको संकेत हो’ भनेझैँ उनको जीवनले पनि नयाँ गोरेटो समात्यो । मेडिकलतिर नाम निकालेका पौडेललाई भर्ना हुने समय बाँकी थियो । त्यसै बेला राजधानी आएका बुबाले उनलाई महाराजगन्ज मेडिकल कलेजमा भर्ना गरिदिएछन् । पछि मेडिकल कलेजकै होस्टेलमा बसेर उनले हेल्थ असिस्टेन्ट (एचए) पास गरे । गाउँघरमा अहिले पनि स्वास्थ्यकर्मीको अभाव उस्तै छ । त्यति बेला त झन् ‘दिउँसै बत्ती बालेर खोज्नुपर्ने’ अवस्था थियो । एचए पास गरेलगत्तै हालका कुशल डाक्टर पौडेल २०३७ सालमा बागलुङको घम्जादेउराली हेल्थपोस्टमा इन्चार्ज भएर गए । त्यहाँ झन्डै साढे दुई वर्ष सेवा गरे । गाउँमा भत्केबिग्रेका बाटाघाटा, पुलपुलेसा बनाउँला भनेर इन्जिनियरिङ भर्ना भएका मान्छे, दु:खी बिमारीको सेवा गर्न पाउँदा त्योभन्दा बढी सन्तुष्ट भएछन् ।
गुल्मीको तुराङमजुवा हेल्थपोस्टमा केही समय सेवा गरेपछि पौडेलको मन यत्तिमै अडिएन । उनले भने, ‘जागिर स्थायी नै थियो, पढाइ नपुगेजस्तो लाग्यो ।’ त्यसपछि सोभियत युनियनको छात्रवृत्तिमा एमडी पढ्न रसिया हान्निए । ‘सात वर्ष एमडी पढेँ, पछि रस्तोपबाटै पोस्ट ग्रयाजुएट पिजी (त्यहाँ एमडी नै भनिन्छ) सकेँ ।’ २०४० सालमा रसिया पसेका पौडेल १० वर्षपछि मात्रै परिपक्व डाक्टर बनेर नेपाल फर्किए । त्यति बेला उनी बेतलबी बिदामा थिए । एमडी पढ्दापढ्दै उनी आन्तरिक प्रतिस्पर्धा गरेर बढुवा भइसकेका थिए । पिएचडी गर्ने सपना भने भर्नामै सीमित हुन पुगेछ । ‘मैले त्यहीँ पिएचडी जोइन गरिसकेको थिएँ, त्यति बेला नेपालका स्वास्थ्यमन्त्री हालका राष्ट्रपति हुनुहुन्थ्यो,’ डा. पौडेलले भने, ‘उहाँले तपाईं सुदूरपश्चिम जानुस्, घरपायक हुँदैन भन्दै इन्डोस्कोपी मेसिन बोकाएर कञ्चनपुर पठाइदिनुभयो ।’
थप पढ्ने सपना त्यसै थाती राख्नुपरेको पीडा उनले सुदूरपश्चिममा पहिलोपटक इन्डोस्कोपी सेवा भित्र्याउने डाक्टर बन्ने अवसरका कारण बिर्सिए । ‘कस्तो अचम्म † त्यत्रो जनसंख्या भएको ठाउँमा इन्डोस्कोपीसम्म थिएन,’ डाक्टर पौडेलले सम्झिए, ‘मलाई जागिर मात्र खाएको होइन, सेवा गर्न पनि पाएको महसुस त्यहीँ गएर भयो ।’ त्यसपछि पौडेल देशका विभिन्न अस्पताल पुगेर सेवा गर्न थाले । भैरहवाको भीम अस्पतालमा जीवनका डेढ वर्ष बिताए । सेती अञ्चल अस्पतालमा दुईपटक गरेर साढे आठ वर्ष सेवा गरे । त्यहाँ उनले दशौँ तह भएर मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पनि समाले । अहिले तीन वर्षदेखि वीर अस्पतालमा सेवारत डाक्टर पौडेलको मनबाट सुदूरपश्चिमको माया ओझेल परेको छैन ।
प्रेमबाट कोही पनि अछुतो रहन सक्दैन । उनी पनि जीवनको एउटा मोडमा प्रेमिल भएछन् । आफ्नो मन जित्ने पुण्या पौडेललाई २०४४ सालमा प्रेमविवाह गरेर जीवनसाथी बनाएका रहेछन् । पुण्या पनि डाक्टर नै छिन् । जेठी छोरी लुना पनि डाक्टर भइसकिन् । कान्छी लिपि एसएलसी दिएर बसेकी छन् । ‘जीवन संघर्षसँगै सेवा पनि भएको’ सिद्धान्त राख्ने डा. विधाननिधिलाई आफूले २० वर्षको सेवाकालमा गरेका उपचारमध्ये सर्पले टोकेका बालकको ज्यान बचाएको घटनाले पेसाप्रति झनै गर्व र सम्मान जागेर आउँछ । एकपटक महेन्द्रनगरमा सर्पले डसेको बिमारीलाई भने बचाउन सकेनछन्, त्यो अकालमृत्यु उनको आँखामा अहिले पनि दु:खान्त क्षण बनेर नाच्दो रहेछ । हालसम्म दोहोर्‍याएर झन्डै २०/२२ लाख बिमारी उनले जाँचिसके रे † गरिब र दु:खीसँग सकेसम्म पैसा नलिने सुनाउँछन् । तर, स्वास्थ्योपचार नि:शुल्क गर्ने सरकारको नीतिप्रति भने उनी सहमत छैनन् । डा. पौडेलले भने, ‘अध्ययनबिनाका नीति र हचुवामा गरिने निर्णयले फाइदा कम बेफाइदा बढी हुन्छ । नेपाल सरकारले पचास पैसा पर्नेदेखि लाखौँ रुपियाँ लाग्ने उपचार फ्री गर्ने भनेको छ । अहिले पनि किड्नी–क्यान्सरका बिमारीलाई जीवनमा एकपटक ५० हजार दिएर के नै हुन्छ र, जबकि उनीहरूले यसभन्दा निकै बढी खर्च गर्नुपरिरहेको हुन्छ ।’
नेपालमा स्वास्थ्यसंरचना असाध्य राम्रो भए पनि राजनीतिक हस्तक्षेप र पक्षपातले ‘काम नलाग्ने’ बन्दै गएको डा. पौडेलको ठम्याइ छ । उनले भने, ‘हाम्रै वीरमा २२/२३ वटा युनियन छन्, स्वास्थ्य क्षेत्रमा किन युनियन चाहियो ?’ नेपालमा स्वास्थ्यको सञ्जाल राम्रो भए पनि उपकरण र गतिलो जनशक्तिको समान वितरण नहुँदा दुर्गम गाउँहरू स्वास्थ्यमा ठगिँदै आएको बुझाइ उनको छ । हेर्दा रहरलाग्दो व्यक्तित्व, बोल्दा मृदुभाषी, लवाइमा चिटिक्क पर्ने डा. पौडेल सुझाउँछन्, ‘समान स्वास्थ्यसेवा दिने नै हो भने रिफर अस्पतालहरूलाई जनशक्ति र साधनस्रोतसम्पन्न बनाइनुपर्छ, स्वास्थ्यक्षेत्रलाई राजनीतिमुक्त क्षेत्र घोषणा गरिनुपर्छ ।’

प्रतिक्रिया