सुदूरपश्चिमको पीडा

सुदूरपश्चिम अहिले आन्दोलनमय बनेको छ । सम्पूर्ण सुदूरपश्चिम पाँच दिनदेखि ठप्प रहेको हुँदा त्यहाँको जनजीवन पनि कष्टकार बन्दै गएको छ । केन्द्रीय राज्यसत्ताबाट उपेक्षित त्यो क्षेत्र अहिले भागबन्डाको घृणित राजनीतिको सिकार बनेको छ । मिश्रित समाज र संस्कृति रहेका कञ्चनपुर र कैलालीलाई भविष्यका कुन प्रदेशमा राख्ने भन्ने विवादले उग्र रूप लिँदै जाँदा त्यहाँको सामाजिक सौहाद्र्र खल्बलिन सक्ने खतरा बढेको छ । जातीय, क्षेत्रीय, भाषिक, भौगोलिक, सांस्कृतिक, धार्मिक र परम्परागत विचारका आधारमा विभिन्न समूहको आन्दोलनद्वारा आफ्नो पहिचान र अधिकारको ग्यारेन्टी चाहेका छन् । यसलाई अस्वाभाविक मान्नु्हुँदैन । संविधानसभाले पनि सकेसम्म सबैका मुद्दालाई सम्बोधन गर्ने कोसिस गर्नुपर्छ । तर, आफ्नो विचार समूहको मुद्दालाई स्थापित गर्ने नाममा अरूलाई बाधा पुर्‍याउने, जातीय हिंसा गर्न उत्प्रेरित गराउने र आपसको सद्भावलाई असामान्य स्थितिको सिकार बनाउने काम गरिनुहुँदैन । राज्यले आफ्नो माग मात्र पूरा गरोस् अरू जेसुकै होस् भन्ने अतिवादी विकारजन्य सोचले स्थितिलाई सरलीकरण गर्न र मुद्दाको सम्बोधन गर्न बाधा पुर्‍याउँछ । यसर्थ सुदूरपश्चिमका जनता र आन्दोलित समूहले ठन्डा दिमागले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
अहिले सुदूरपश्चिमका जनतालाई दुईवटा विचारमा विभाजित गरेर आन्दोलनमा उतारिएको छ । यसखाले आन्दोलनले आपसमा वैरभावको स्थिति ल्याउने त छँदै छ जातीय हिंसा भड्किने स्थति पनि सिर्जना हुन सक्छ । यसले गर्दा त्यस क्षेत्रका दलका नेता र सर्वसाधारण बेलैमा सचेत हुन जरुरी छ । त्यहाँ अखण्ड सुदूरपश्चिमको पक्ष र विपक्षमा भइरहेको उत्तेजित नाराजुलुस र आन्दोलनका सहभागीले अत्यन्त संयमतापूर्वक सोचेर कदम नचाल्ने हो भने अकल्पनीय घटना हुन सक्छ । जुनसुकै क्षेत्रमा जाति–जनजाति, समूह र धार्मिक सम्प्रदाय नेपाली हुन् । अखण्ड नेपालभित्र हामी सबै आत्मीयतापूर्वक एकआपसको सद्भावमा बाँचेका छौँ । यही सद्भाव र एकआपसको अतुलनीय मिलापकै कारणले यो मुलुकमा जातीय, क्षेत्रीय, धार्मिक र समूहगत एकता कहिल्यै भत्किएन । यो नेपाली समाजको परम्परा हो । यसलाई सुदूरपश्चिमका जनताले बचाइराख्न सक्नुपर्छ । हाम्रो यो परम्परा भत्कियो भने हामीलाई इतिहासले क्षमा दिनेछैन ।
नेपाली जनताको अटुट आन्दोलन, त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक पद्धति समाजमा भाँडभैलो सिर्जना गर्न होइन । जनतामा अधिकार प्रत्यायोजन गर्न हो । तर, अस्वाभाविक, अमर्यादित र अभद्र तरिकाले अधिकार प्राप्त हुँदैन । यसले बरु अराजकता र बेथिति निम्त्याउनेछ । अहिले सुदूरपश्चिममा ‘अखण्ड सुदूरपश्चिम’को पक्ष र विपक्षमा भइरहेको आन्दोलन सबै हिसाबले बेमेल निम्त्याउने खालको देखिन्छ । एउटै भूगोलमा मिलेर बस्ने जनतालाई आपसमा लडाएर कसैले फाइदा लिन खोज्दै छ कि यसतर्फ पनि सचेत हुनु जरुरी छ । आन्दोलनभित्र भौगोलिक र जातीय मुद्दा प्रायोजित रूपमा घुसाएर आफ्नो कुत्सित मनसाय पूरा गर्न चाहने तत्त्वका खेलमा सुदूरपश्चिमका जनता पर्नुहुँदैन । कुनै पनि हालतमा त्यस क्षेत्रको जातीय सद्भाव कायम रहनुपर्छ र जातीय हिंसा भड्किन नदिन सम्बन्धित सबै पक्ष सजग हुन जरुरी छ । साथै सुदूरपश्चिमको पीडा के हो त्यसलाई सम्बोधन गरेर सबै दलका शीर्ष नेताले त्यहाँको समस्या समाधान गर्नुपर्छ ।

प्रतिक्रिया