खण्डित नहोस् कर्णाली

कर्णाली पहिचान र सामथ्र्यमा बलियो हुँदाहुँदै पनि राजनीतिक दलहरूले यसलाई टुक्रयाउन खोजेका छन् । उनीहरूमा कर्णाली एक्लै राज्य बनाइए बाँच्न सक्दैन भन्ने भूत सवार भएको छ । कर्णालीे विगतमा समृद्ध राज्य मात्र होइन साम्राज्य पनि थियो भन्ने कसैले लुकाएर लुक्ने कुरा होइन । यो सबैले बुझ्न जरुरी छ । यसको आफ्नै तामाखानी दोल्फु, सुनखानी मुगु, फलाम खानी जाजरकोटमा थियो, जसको दोहन र प्रयोग गरेर यो राज्य आर्थिक रूपमा सबल थियो । सन् १८४३ मा तिब्बतसितको व्यापारमा मुगुका जनताको एकाधिकार थियो । मुगु जिल्लाले मात्र सन् १९६४–६५ मा एक लाख २६ हजार तीन सय १५ केजी जौ तिब्बतमा निर्यात गरेको थियो । तर, अहिले कर्णाली मुस्किलले ६ महिना खान नपुग्ने क्षेत्रका रूपमा रहेका छ ।
इतिहासमा धार्मिक रूपमा पनि हिमाली क्षेत्रका जनताको भावनालाई खस राज्यले सम्मान र संरक्षण गरेको पाइन्छ । त्यस्तै सामाजिक रूपमा पनि जडान र खसानको एकदमै रोचक, घतलाग्दो मीठो सम्बन्ध छ । जडानका मानिस खसान र खसानका जडानसित एकआपसमा मीत लगाएर मित्रवत् सम्बन्ध कायम गरेको विशिष्ठ परम्परा इतिहासदेखि हालसम्म पनि कायमै छ । त्यस्तै आर्थिक रूपमा यी दुवै एकआपसमा जोडिएको इतिहास र वर्तमान छ । मध्यकालमा सिंजाको लामाथाडा र मुगुको खत्याडमा ठूलो हाटबजार नै लाग्ने गथ्र्यो । जहाँ जडानबाट भेडा, ऊन, कस्तुरी, नुन, राडीपाखी र खसानको अन्नको व्यापार हुन्थो । जुन आज आएर पनि कायमै छ, यद्यपि आजको आधुनिकता, विश्व बजार र दक्षिणतिरको प्रवाहले गर्दा सो व्यापार लोप भएको देखिन्छ । यसरी सदियौँदेखि सामाजिक, आर्थिक, धार्मिक र राजनीतिक रूपमा मिलेर बसेको कर्णालीलाई फेरि टुक्राटुक्रा पार्ने र कर्णालीमा विष घोलेर कर्णाली फुटाउने र राजगर्ने काम वर्तमानमा काठमाडौं केन्द्रित शासक र पार्टीहरू लागिपरेको स्पष्ट देखिन्छ । भाषा, संस्कृति, सभ्यता र राजनीति सिकाउने गुरु कर्णाली आज झन्झन् दुब्लाउँदै गइरहेको छ भने त्यसको दोहन गर्ने कर्णालीबाहिरका मोटाघाटा बन्दै गएका छन् । कर्णालीवासीले आफ्नो भव्यता र सभ्यताको पहिचान, त्यसको प्रयोग र दोहन गर्दै आफ्नो क्षेत्र, समुदाय समृद्ध बनाउने अवसरबाट सदा वञ्चित नै रहे । कर्णाली आज नयाँ बन्ने धुनमा रहेका बेला नेपाल झन् महान् संकटमा फसिरहेको छ । कर्णालीको संस्कृति, सभ्यता र रहनसहनसँग जोडिएको कर्णालीको भाषा र संस्कृतिले राजकीय प्रश्रय पाएकै हो । नेपाल एकीकरणपश्चात् सत्तासीनहरूले कर्णालीलाई चुस्ने काम मात्र गरे तर, त्यसको बदलामा फुटेको कौडी पनि दिने काम गरेनन् । कर्णाली संस्थागत थिचोमिचोमा परिरह्यो । देशका राजनीतिक पार्टीहरूले कर्णालीलाई चुनावी प्रचारमा भोट बैंकका रूपमा मात्र प्रयोग गर्ने र सत्ताप्राप्तिका लागि संसद्मा गणपूरक संख्या मात्र पुर्‍याउन कर्णालीको नेतृत्वलाई प्रयोग गरे । त्यसको बदलामा कर्णालीलाई दातृराष्ट्रसित हात फैलाएर मागेको भीखबाट दुई–चार बोरा सडेगलेको वर्षौं पुरानो चामल, क्याप्सुल र सिटामोलका गोली दिए । जुन चामलले हजारौँ कर्णालीवासीलाई झाडापखालाले मृत्युको मुखमा मात्रै पुऱ्यायो ।
कर्णालीबाटै विस्तारित भाषा र संस्कारले राष्ट्रियरूप धारण गर्‍यो र कर्णालीले प्रत्यक्ष केही नपाए पनि यसैमा चित्त बुझायो । त्यही एउटा चित्त राख्ने भए पनि कर्णालीवासीका लागि स्थान थियो, त्यसमा पनि आज तुसारापात भएको छ । नेपालीभाषा (खसभाषा) आजको बुझाइमा ज्यानमारा भाषाका रूपमा व्याख्या र विश्लेषण गरिएको छ । यस्तै गरिबी, जंगली, भोकमरी, अशिक्षित र अभावै अभावको प्रचारबाजी देखाएर कर्णालीलाई लुट्ने र बेचीखाने काम झन् दिनानुदिन बढ्दै गएको छ । कर्णालीका राम्रा पक्ष संस्कृति, भाषा, सभ्यता र सामाजिकतालाई ढाकछोप गरिँदै छ । विगतमा दरबार र काठमाडौं केन्द्रीकृत राजनीतिले जुन मनोविज्ञानबाट कर्णालीलाई हेरिन्थ्यो, त्यही सोचबाट ग्रसित वर्तमान राजनीतिक नेतृत्व पनि उम्किन सकेको छैन । प्राकृतिक स्रोत र साधनमा स्थानीय जनताको स्वामित्व संघीयताको मूल सैद्धान्तिक आधारलाई भत्काएर कर्णालीका प्राकृतिक साधन र स्रोत विदेशीका हातमा सुम्पिन हाम्रा नेताहरू तयार भए । अहिले पनि अन्तरिम संविधानको मर्मविपरीत गैरसंवैधानिक काम गर्दै कर्णालीलाई अपांग संघीयता हात पार्ने काम हुँदैछ ।

प्रतिक्रिया