बालुवा विवादले बस्ती जोखिममा

चितवन, २१ वैशाख । निकुञ्जले बालुवाको कर उठाउन खोजेपछि स्थानीयले आफ्नो क्षेत्रमा बालुवा निकाल्न नदिँदा चितवन र मकवानपुरको सीमामा रहेको लोथर पुल पुरिने अवस्थामा पुगेको छ । पुलसँगै पश्चिम मकवानपुर र पूर्वी चितवनका बस्ती पनि असुरक्षित भएका छन् ।
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बालुवा निकाल्न निकुञ्जलाई राजस्व बुझाउने प्रावधान भएपछि स्थानीयले पनि नि:शुल्क बालुवा निकाल्न पाउनुपर्ने माग राखेका हुन् । लोथर खोलामा बालुवाको सतह घटाउनका लागि स्विस सरकारको सहयोगमा लोथर राप्ती ड्याक संरक्षण समितिअन्तर्गत ५१ लाख रुपियाँ विनियोजन भए पनि यही विवादका कारण काम हुन सकेको छैन । पुलमुनि चितवनतर्फ पाँच सय मिटर र मकवानपुरमा दुई सय मिटर क्षेत्रमा बालुवा निकाल्ने कामका लागि बजेट विनियोजन भएको हो । समितिले खोलाको बगरलाई एक किलो दुई सय मिटर लम्बाइ, ४० मिटर चौडा र दुई मिटर गहिरो पारेर बालुवा निकाल्ने योजना बनाएको थियो । तर, काम सुरुलगत्तै निकुञ्जले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीअनुसार बालुवा निकाल्दा राजस्व तिर्नुपर्ने पत्र पठाएपछि काम रोकिएको हो ।
मध्यवर्ती क्षेत्रका खोलाबाट गिटी बालुवा निकाल्दा प्रतिट्रयाक्टर दुई सय २६ र प्रतिट्रिपर एक हजार एक सय रुपियाँ कर तिर्नुपर्ने नियम छ । समितिका अध्यक्ष जागृतप्रसाद भेटवाल लोथर खोलाको बालुवा बिक्री हुने गुणस्तरको नभएकाले राजस्व तिर्न नसकिने बताउँछन् । उनले पटकपटक अनुरोध गर्दा पनि निकुञ्जले बस्ती जोगाउनेतर्फ चासो नदिएको र राजस्वकै कारण काम रोकिएको बताए ।
मध्यवर्ती क्षेत्रमा बालुवा निकाल्दा निकुञ्जलाई राजस्व तिर्नुपरे माथिल्लो भेगमा पर्ने लोथर र मकवानपुर क्षेत्रको बालुवा पनि स्थानीयबासीले निकाल्न नदिने भनेपछि थप विवाद भएको हो । उनीहरूले लोथर खोलाको बालुवा निकुञ्जले नि:शुल्क निकाल्न दिए मात्रै माथिल्लो क्षेत्रको बालुवा निकाल्न दिने अडान राखेका छन् । स्थानीय नारायण श्रेष्ठले निकुञ्जले नि:शुल्क बालुवा निकाल्न दिनुपर्ने माग राखे ।
पुल आसपासका बालुवा निकाल्ने काम रोकिएपछि बस्ती नै खतरामा परेको डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर वीरेन्द्र मण्डलले बताए । उनका अनुसार चितवनमा भएका पुलमध्ये लोथर खोलाको पुल बाढीको अत्यधिक जोखिममा छ । पुलमुनि बालुवाको तह बढ्दै जाँदा पुलको आयु पनि कम भएको उनले बताए । खोलाको सतहबाट डेढमिटरमाथि मात्र पुल रहेको छ । सानो बाढी आउँदा पनि राजमार्गको पुलमाथिबाट पानी बग्ने समस्या बढेको छ । लोथर खोलामा बाढी आउँदा पूर्वीचितवनका अधिकांश भेगमा क्षति पुग्ने प्राविधिकहरू बताउँछन् । पूर्वी चितवनका सात गाविस, रत्ननगर नगरपालिकाको दक्षिणी भेग र मकवानपुरको मनहरि गाविसको दुईवटा वडालाई बाढीले प्रत्यक्ष असर पुर्‍याउने इन्जिनियर मण्डलले बताए । यस क्षेत्रका दुई लाख ५० हजार बासिन्दाको बसोबास जोखिममा रहेको छ ।
यसअघि लोथर खोलामा आएको बाढीले त्यस क्षेत्रमा धनजनको क्षति भएको थियो । ०४७, ०५० र ०५९ मा आएका बाढीले लोथर बस्ती बगाएको थियो । बाढीको क्षतिबाट बस्ती जोगाउन साढे १९ किलोमिटर बाँध निर्माण गरिए पनि खोला गहिर्‍याउने काम नहुँदा बालुवाको सतह बढेर ०५९ सालमा लोथर खोलाको बाँध फुटेको थियो । निकुञ्ज पूर्वी सेक्टर कसराका सहायक संरक्षण अधिकृत अमिर महर्जन नियमअनुसार बिक्रीका लागि निकालिने गिटी तथा बालुवामा कर तिर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया