नुहाउँदा नुहाउँदै विश्वच्याम्पियन पौडीबाजको मृत्यु


स्टकहोम, २० वैशाख । आसन्न लन्डन ओलम्पिकमा नर्वेका लागि स्वर्णपदक जित्ने आशा गरिएका विश्वच्याम्पियन पौडीबाज अलेक्जान्डर डेल ओएनको प्रशिक्षणका क्रममा बुधबार निधन भएको छ । ओलम्पिकका लागि ऐरिजस्थित फ्लाग स्टाफ प्रशिक्षण शिविरमा रहने क्रममा २६ वर्षीय ओएनको स्नानागारमा लडेपछि ह्दयाघातका कारण निधन भएको हो ।
नर्वेली पौडी महासंघका अध्यक्ष पर र्‍युन एकनेसले ओएनको निधन पुष्टि गरे पनि मृत्युको कारण स्पष्ट हुन नसकेको बताएका छन् । विज्ञप्ति जारी गर्दै महासंघले एक सय मिटर ब्रेस्ट स्ट्रोकका विश्वच्याम्पियन ओएनलाई बाथरुममा लडेको अवस्थामा भेटिएको र उनलाई उपचारका लागि फ्लाग स्टाफ मेडिकल सेन्टरमा पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेको जनाएको छ ।
‘हामी सबै विक्षिप्त भएका छौं,’ नर्वेली पौडी प्रशिक्षक पिटर लोएभवर्गले भने, ‘यहाँ हामीले यस घटनाबारे सोच्न पनि सकिरहेका छैनौं ।’
खेलजीवनकै सबैभन्दा ठूलो उपलब्धि हात पार्ने क्रममा ओएन गत वर्ष चीनको संघाईमा सम्पन्न विश्व पौडी च्याम्पियनसिपमा एक सय मिटर ब्रेस्ट स्ट्रोकमा पहिलो भएका थिए ।
उक्त प्रतियोगिता हुनुभन्दा तीन दिनअघि मात्र एकजना अतिवादी व्यक्ति एन्डर्स ब्रेभिकले नर्वेमा आतंकवादी आक्रमण गरेर ७७ जनाको प्राण हरेका थिए । ओएनको विजयले आक्रमणबाट स्तब्ध बनेको नर्वेलाई थोरै भए पनि राहत मिलेको महसुस भएको थियो । स्वर्ण जितेलगत्तै उनले उक्त सफलता सोही घटनाका पीडितमा समर्पण गरेका थिए ।
‘हामी एक हुनु आवश्यक छ,’ विश्वच्याम्पियन बनेपछि चीनमै ओएनले भनेका थिए, ‘अहिले नरसंहारका कारण नर्वेमा मानिस पक्षाघात भएसरह छन् । यस घडीमा म यहीं भए पनि मैले आफूलाई त्यस घटनामा जोड्नुछ । अहिले हरेक नर्वेलीले सरह मैले पनि नमीठो अनुभव गरिरहेको छु ।’ ओएनको निधनको समाचार स्थानीय नर्वेली सञ्चारमाध्यमदेखि विश्वका सञ्चारमाध्यमभर दिनभर छायो । नर्वेली प्रधानमन्त्री जे स्टोल्टेनवर्गले ट्विटरमार्फत ओएन सानो देशका ठुला खेलाडी भएको प्रतिक्रिया दिएका छन् ।
आगामी जुनमा हुने गृष्मकालीन ओलम्पिकका लागि केही समययता नर्वेली खेलाडीको टिम फ्लाग स्टाफमा बन्द प्रशिक्षणमा थियो । नर्वेली पौडी महासंघले ओएनले सोमबार हलुका प्रशिक्षण गरेको र गोल्फ खेलेको जनाएको छ ।
बाथरुमभित्र नुहाउन पसेका ओएन लामो समयसम्म बाहिर ननिस्किएपछि साथीहरूले ढोका फोरेर भित्र पस्दा उनी लडेको अवस्थामा भेटिएका थिए । निधन हुनुअघि अन्तिमपटक उनले ट्विट गर्दै आफू घर जान आतुर रहेको बताउँदै उल्लेख गरेका थिए, ‘प्रशिक्षण सकिन अब दुई दिन बाँकी छ । त्यसपछि म नर्वेकै सबैभन्दा राम्रो सहरमा रहेको मेरो घरमा पुग्नेछु ।’ ओएनको उपचारमा खटिएका चिकित्सक ओला रोएन्सेनले उनलाई बचाउन सम्भव सम्पूर्ण प्रयास गरिएको बताए ।
ओएन २१ मे १९८५ मा नर्वेकै दोस्रो ठूलो सहर बर्जेनमा मोना लिलिआन डेल र इन्गोल्फ ओएनका दोस्रो छोरा भएर जन्मिएका थिए । चार वर्ष उमेर हुँदादेखि पौडी खेल्न सुरु गरेका ओएनले आफ्नो वेबसाइटमा लेखेका थिए, ‘पौडी खेल्न मलाई सजिलै र प्राकृतिक भएर आएको हो ।’
ह्दयाघातका कारण हालसालै निधन हुने ओएन दोस्रो विश्वचर्चित खेलाडी हुन् । यसअघि केही साताअघि इटालियन फुटबलर पिअरमारिओ मोरोसिनोको सेरी बी अन्तर्गतको खेलमा खेल्दाखेल्दै निधन भएको थियो । खेल्ने क्रममै ढलेका इङलिस फुटबल क्लब बोल्टनका मिडफिल्डर फेब्रिस मुआम्बा भने मृत्यु हुनबाट जोगिएका थिए ।
‘अ‍ेलक्जान्डर ओएन हामीसँग छैनन् भन्दा झुटोजस्तै लाग्छ,’ नर्वेका स्किच्याम्पियन एक्सेल लन्ड स्भिन्दालले भने । अन्तर्राष्ट्रिय खेलस्टारले सामाजिक सन्जाल फेसबुक, ट्विटरलगायत विभिन्न माध्यममार्फत ओएनको निधनप्रति दु:ख व्यक्त गर्दै यो घटना अन्तर्राष्ट्रिय खेलकुदमा अपूरणीय क्षति भएको बताएका छन् ।

प्रतिक्रिया