जनमत संग्रहको माग

काठमाडौं, २० वैशाख । सुदूरपश्चिमका सभासद र अगुवा नेताहरुले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेतृत्वसँग आफ्ना मागका बारेमा जनमतसंग्रह गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा आज भएको प्रधानमन्त्री सहित शीर्ष नेताहरुसँगको छलफलका क्रममा सुदूरपश्चिमका सभासद र नेताहरुले आफूहरुको अखण्ड सुदूरपश्चिमको मागलाई जनमतसंग्रहबाट टुङगाउन आग्रह गरेको नेताहरुले बताएका छन् । उनीहरुले माग पुरा गराउन अझै कडा आन्दोलन गर्नुपरेपनि गर्न तयार रहेको उल्लेख गरेका छन् ।
अनिश्चितकालिन बन्दमा उत्रिएका सुदूरपश्चिमका संघसंगठनहरुलाई आन्दोलन फिर्ता गर्न भनेपनि उनीहरुले माग सम्बोधन नहुँदासम्म बन्दलगायतका कार्यक्रम फिर्ता नगर्ने जनाए । आन्दोलन फिर्ता गराउन आन्दोलनरत स्थानीयसंघ संगठनहरुसँग पनि बार्ता गर्नुपर्ने उनीहरुको माग छ ।
प्रधानमन्त्री र प्रमुख दलका नेताहरुले सबैका माग बार्ता र सम्बाद मार्फत पुरा गर्न आफूहरु तयार रहेको बताएपनि सुदूरपश्चिमका नेताहरुले प्रतिवद्धताको माग गरेका थिए । यद्यपि ठोस प्रतिवद्धता नआएपछि उनीहरुले अखण्ड सुदूरपश्चिमका लागि जनतमसंग्रहको माग गरेका हुन् ।
शीर्ष नेतृत्वसँगको भेटका लागि लेखराज भट्ट, भानुभक्त जोशी लगायतका नेताहरु पुगेका थिए ।

प्रतिक्रिया