खोजखबर

गोलभेडा खेती गर्ने योजनामा दिलीप

सौर्य अनलाइन २०६९ वैशाख २० गते ६:२१ मा प्रकाशित

नेपाली सिनेमा उद्योगमा चलचित्र दर्पणछायाले जति व्यावसायिक सफलता पायो, त्यति नै सफलता नायक दिलीप रायमाझीले पाए । चलचित्र आदिकवि भानुभक्तबाट सुरु भएको दशकौँ लामो अभिनय यात्रामा उनले आफ्नो मान्छेलगायत धेरै सिनेमामा राम्रो अभिनयक्षमता प्रस्तुत गरिसके । यही क्षमताका कारण अभिनयमा त उनी चर्चित छन् नै, चलचित्रमा लगानी पनि गरिसके । यसै क्षेत्रमा स्थापित भइसकेका छन् ।
अभिनयमा नलागेका भएचाहिँ उनी कृषि पेसामा लाग्थे रे † कृषिसम्बन्धी कुरामा केही चनाखो पनि हुँदा रहेछन् । केही समयअघि एउटा अमेरिकी सर्वेक्षणले कृषिलाई प्राथमिकता दिएको उनले सुनाए । भन्छन्– ‘म कृषिप्रधान देशको नागरिक, ७० प्रतिशत मानिस यसमै निर्भर छन् । म पनि कृषककै छोरा, नायक नभएको भए अहिले यही पेसामा हुन्थेँ होला ।’ कृषिलाई आरुनो इतिहास बताउने उनलाई यो व्यवसाय गर्ने सोख पनि छ रे † हलो जोत्नेदेखि बाली भित्र्याउनेसम्म सबै काम आउने सुनाउँदै थिए । भने– ‘मलाई त निकै सोख छ, आगामी दिनमा गोलभेडा खेती गर्ने सोचेको छु ।’ यसका लागि सुरुमा लगानीचाहिँ कति गर्लान् त यी
हिरोले ? भने– ‘म कुनै पनि बिजनेस गर्दा पनि थोरै लगानीबाट सुरु गर्ने हुँ, सानो लगानी डुबे पनि उति ठूलो असर पर्दैन, गोलभेडा खेतीका बारेमा पनि यस्तै सोचेको छु ।’
कृषिमा पनि कहिलेकाहीँ विभिन्न कारणले भनेजस्तो उत्पादन भइदिँदैन, महिनौँको लगानी खेरै जान्छ । दिक्क भएर कोहीकोही त यस पेसाबाटै हात झिकिदिन्छन् ।  दिलीपले पनि त्यस्तै अवस्था सामना गर्नुपरे ? उनले दह्रै मानसिकता बनाइसकेका रहेछन्– ‘सियो भएर पसेर फाली भएर निस्कनलाई सुरुमा त डुब्नै पर्‍यो नि † त्यसपछि न ठूलो लगानी गर्दा पनि कसरी नडुब्ने भन्ने थाहा हुन्छ ।’  लगानी डुबेपछि कृषिसम्बन्धी थप अध्ययन, अनुसन्धान गर्थे रे उनी । बजारमा आएका नयाँनयाँ बीउबिजन अनि अर्गानिक खेतीबारे बुझ्थे रे † ‘जसरी हुन्छ ग्राहकलाई सुलभ र सस्तो मूल्यमा गोलभेडा उपलब्ध गराउन कसरी सकिन्छ भन्नेबारे राम्ररी अनुसन्धान गर्थें । नेपालमा यसखाले सुझाब दिन सक्ने कृषिविज्ञ एकसे एक छन्’ –उनले सबै विचार गरिसकेका रहेछन् । अर्गानिक खेतीबारे धेरथोर जानकारी पनि रहेछ– ‘अर्गानिक खानाले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।’
ल मानौँ, गोलभेडा खेतीबाट प्रशस्तै आम्दानी भयो, त्यो पैसाचाहिँ कसरी सदुपयोग गर्लान् त
दिलीप ? कि त्यत्तिकै चुप लागेर बस्थे ? ‘होइन, म त्यही खेतीमा अझै ठूलो लगानी गरेर अरूलाई पनि रोजगारी दिन सक्ने बनाउँथेँ’, उनले भने– ‘अझ बढी बजारमा आफ्नो गोलभेडा पुग्न सक्ने अवस्था बनाउने थिएँ ।’ नेपालमा उत्पादन गरे पनि पर्याप्त मात्रामा बजार नपाउँदा कृषकहरू समस्यामा पर्ने गरेको उनलाई थाहा रहेछ । त्यसैले यस्तो अवस्था आइपरे के गर्ने भन्ने पनि उनले सोचिसकेका रहेछन् । तैपनि थोरै निराशा सुनिन्थ्यो उनको बोलीमा– ‘ओहो… यो त नेपाली कृषकको प्रमुख समस्या हो नि । यसबारे त ठूलै अध्ययन गर्नुपर्ने हुन्छ । सबै कृषकको समूह नै गठन गरेर बजार पर्याप्त हुन सक्ने योजनाहरूमा लाग्ने थिएँ म त  ।’ त्यसो त उनीसँग अर्को विकल्प पनि रहेछ– गोलभेडाको सस बनाउने । अनि चलचित्रचाहिँ चटक्कै बिर्सलान् त उनी । ‘होइन, गोलभेडाबाट मालामाल भएपछि त चलचित्रमा पनि लगानी गरिहालिन्थ्यो नि’ –मीठो सपनामा डुबे । त्यसो त उनले सुझाब दिन पनि भ्याए– युवाले सरकारको भर परेर बस्नुभन्दा आफैँ सानो लगानीबाट यस्तै काम गरेर आम्दानी गर्नु राम्रो हो । विदेश जानै पर्दैन, कृषि कार्यबाट नेपालमै मालामाल बन्न सकिन्छ । सरकारले पनि युवामा यही चेतना फैलाउन सक्नुपर्छ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय