मानवताविरोधी कार्य

जनकपुरधामको रामानन्द चोकमा चारजनाको ज्यान लिने गरी भएको बम विस्फोट मानवताविरोधी कार्यको चरम उत्कर्ष हो । यो निन्दनीय, भत्र्सनायोग्य र मानवताविरोधी कार्यले नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको हनन गरेको छ । यस्ता अमानवीय र आततायी घटना गराउने समूह वा व्यक्तिले जनतालाई आतंकित बनाएर आफ्नो कुत्सित स्वार्थ पूरा गर्ने सोच बनाएको हुन्छ । आतंककारी समूहका कारण एउटा क्षेत्रको केही जनताले मात्र होइन सिंगो राष्ट्रले पीडा भोग्नुपरेको छ । तसर्थ, यस्ता आततायी जोसुकै भए पनि राज्यका शत्रु हुन् । निर्दोष नागरिकको ज्यान लिने अपराधीहरूलाई अविलम्ब पक्राउ गरेर कठोर सजायँ दिनुपर्छ । आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व सरकारमाथि रहने हुँदा जनतालाई शान्ति सुरक्षाप्रति आश्वस्त तुल्याइराख्न सरकारले हरसम्भव उपाय अवलम्बन गर्नैपर्छ ।
जनकपुरमा भएको घटना सामान्य र क्षम्य होइन । यसलाई राजनीतिक रङ दिएर लिपापोती गर्दै पन्छाउने दुस्साहस पनि कसैले गर्नु हुँदैन । सर्वसाधारण जनता आफ्ना माग राखेर शान्तिपूर्ण धर्नामा बसेको स्थानमा बम पड्काएर कायरतापूर्ण हत्या गर्नु अत्यन्त खेदजनक  हो । यस्ता कार्य मानवताविरोधीले मात्र गर्छन् । तसर्थ यस्ता आततायी घटनाका नाइके जोसुकै भए पनि उम्किनु हुँदैन । मुलुकमा संविधान निर्माण र शान्ति स्थापनाको कार्य अगाडि बढिरहेको अवस्थामा यो घटना गराइएको छ । यसले के स्पष्ट गर्छ भने यो आपराधिक तत्त्वले मुलुकमा शान्ति स्थापना र संविधान निर्माण कार्य बिथोल्ने कुत्सित मनसाय राखेको छ । यसप्रति सबै पक्ष गम्भीर हुनु जरुरी छ । सरकारका तर्फबाट तराईका आपराधिक समूहसँग बेला–बखत गरिने वार्ताले पनि यस्ता समूहलाई उत्साहित बनाएको पाइन्छ । अपराधलाई राजनीतीकरण गरिने र अपराधीलाई राजनीतिक संरक्षण दिने परिपाटीको अन्त्य नभएसम्म यस्ता गतिविधि निस्तेज हुने पनि देखिँदैन । अहिले तराईमा सयभन्दा बढी समूह अपराधमा संलग्न छन् । अपराधलाई मात्र आफ्नो अभीष्ट बनाएका समूहसँग पनि शान्तिको नाममा सरकारले वार्ता गरेर राजनीतिक जामा पहिर्‍याईदिएको छ । कतिपय त्यस्ता समूहले सरकारसँग वार्ता गरे पनि आपराधिक गतिविधि छाडेका छैनन् । तसर्थ, राजनीतिक समूहसँग वार्ता र गैरराजनीतिक अपराधी समूहका हकमा सरकारले कठोर कारबाही अगाडि बढाउनुपर्छ ।
जनकपुरमा भएको बम विस्फोटमा परेर मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचार मात्र सरकारको दायित्व होइन, अपराधीहरूलाई बेलैमा पक्राउ गरेर कठोर सजायँ दिलाउने काम पनि सरकारको हो । अहिले शान्ति सुरक्षाप्रति सरकार कमजोर देखिएको छ । यसको फाइदा उठाउँदै मुलुकमा आपराधिक गतिविधि बढिरहेका छन् । बम विस्फोट, अपहरण, हत्या, लुटपाट र असामाजिक गतिविधि फस्टाउँदो छ । यी सम्पूर्ण समाजविरोधी गतिविधि रोकेर नागरिकलाई शान्तिपूर्वक बाँच्न र घुमफिर गर्न पाउने वातावरण सरकारले मिलाउन सक्नुपर्छ । मुलुकलाई आतंककारीहरूको अखडा बन्न दिनु हुँदैन । सरकारले जसरी पनि शान्ति सुरक्षा कायम गर्नैपर्छ ।

प्रतिक्रिया