मे दिवसको पूर्णभाष्य

युरोप र अमेरिकामा पुंजीवाद उत्कर्षमा पुगेको अवस्थामा औद्योगिक मजदुरमाथि चरम शोषण थियो । मजदुर वर्गले पहिलोचोटि आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनका लागि आन्दोलन गरे । आन्दोलनले विजय प्राप्त गरेको दिन मे १ लाई मजदुरहरूको महान् पर्वका रूपमा मनाउन सुरु गरिएको हो । यो मई दिवस मनाउन थालिएको अहिले एक सय २३ वर्ष पुगेको छ । यो वर्ष विश्वभर नै विभिन्न कार्यक्रम गरी मई दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मई दिवस मनाइयो ।
नेपालमा मजदुरहरूले यस वर्षको मुख्य नारा सबै क्षेत्रमा १० प्रतिशतको माग राखेको छ । संविधानमा पनि मजदुरहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग मुख्य रूपमा उठाइएका छन् । तथापि, नेपालमा ट्रेड युनियन आन्दोलन स्वयं अन्योलग्रस्त अवस्थामा रहेको हुँदा यो दिवसले समेत कुनै दिशाबोध हुन सक्ने देखिँदैन । ‘संसारभरिका मजदुर एक हौँ’ भनी एउटै झन्डामुनि यो आन्दोलन विकसित हुनुपर्नेमा स्वयं मजदुरबीचमा अनेक घटकको अस्तित्व छ । आ–आरुनै माग र ट्रेड युनियन छन् । मजदुरको हित र समस्याभन्दा पनि राजनीतिक दलको अंगका रूपमा काम गर्ने भएकाले ट्ेरड युनियन आन्दोलन नै भ्रमित हुन पुगेको देखिन्छ । यस वर्षको १० प्रतिशतको प्रतिनिधित्व सबै क्षेत्रमा हुनुपर्ने मागले ट्रेड युनियनसमेत सत्तामा हिस्सेदारी खोजेको देखिन्छ । यस्ता मागलाई प्रमुखता दिएकाले मजदुरका ट्रेड युनियन राजनीतिक दलका रूपमा फेरिन पुगेका छन् । ट्रेड युनियन भनेको दबाब समूह हो । दबाब समूह वा हित समूहले सत्ताको सपना देख्नु हुँदैन । जब सत्तामा साझेदारी खोज्छ, त्यो हित समूह स्वत: राजनीतिक दलमा परिणत हुन पुग्दछ । अहिले नेपालमा ट्रेड युनियन र दलहरूको कार्य छुट्याउनै नसक्ने भएको छ । यसले गर्दा नेपालमा सबभन्दा पहिले ट्रेड युनियनकै परिभाषा हुनु आवश्यक रहेको छ ।
औद्योगिक विश्वमा मजदुरहरूले पुँजीवादको चरम शोषणविरुद्ध संघर्ष गरी विजय प्राप्त गरेको अवस्थामा अनेक परिवर्तन भएका छन् । पहिलेको अवस्थामा मई आन्दोलन पुँजीवादको चरम अवस्थामा भएको र मजदुरमाथिको शोषणको चरम रूपको विरुद्ध भएको आन्दोलनको विजयका रूपमा थियो । तर, आजको अवस्था पुँजीवाद चरम संकटको अवस्थामा पुगेको छ । यस वर्ष आइएलओले दिएको प्रतिवेदनमा समेत अर्को चार वर्षमा पुँजीवाद झनै संकटमा पर्न सक्ने र विश्वमा मजदुर आन्दोलन तीव्रताका साथ अगाडि बढ्ने खुलासा गरेको छ । यसैले जुनबेला मे आन्दोलनले विजय प्राप्त गरेको थियो त्यसभन्दा पछिका एक सय २३ वर्षमा पुँजीवादले विभिन्न नयाँ चरण पूरा गरेको छ । मजदुर वर्गको भूमिकामा परिवर्तन आएको छ । श्रम र पुँजीको परिभाषामा परिवर्तन आएको छ । उत्पादन र उत्पादकत्वमा परिवर्तन भएको छ । यसैले त्यसबेलाको भन्दा मई आन्दोलन पूर्णरूपमा फेरिएकाले मई दिवसको शास्त्रीय अवधारणामा पूर्णभाष्य जरुरी भएको छ । नेपालमा मनाइएका यस वर्षका मई दिवसका कार्यक्रममा जुन अभिव्यक्ति र कार्यक्रम अगाडि सारिए, यी पूर्णत: कर्मकाण्डी र जडसूत्रीय शास्त्रीय परिभाषालाई नै दोहोर्‍याउने खालका छन् । यसले मजदुर आन्दोलन र मजदुरको वास्तविक यथार्थतालाई आन्दोलनसँग जोड्न नसक्दा र परिवर्तित परिस्थितिअनुसार रणनीति बनाउन नसक्दा स्वयं ट्रेड युनियन आन्दोलनसमेत संकटमा पर्न गएको छ । यसैले गर्दा ट्रेड युनियनको प्रभाव अस्तित्व र यसको औचित्यमाथि प्रश्न उठेका हुन् । यसले उठाउने गरेका औद्योगिक क्षेत्रमा श्रम समस्या अहिले मुलुकका लागि बोझ बन्दै गएको छ भने यसबाट स्वयं मजदुरको हितभन्दा पनि हानि नै बढी भएको अवस्था छ । यसो हुनुमा परिवर्तित श्रम, पुँजी, उत्पादकत्वको समकालीन समस्या र वास्तविकताभन्दा बढी नारा र शास्त्रीय ढंगबाट यसलाई अगाडि बढाउँदा मई दिवस एक किसिमले कर्मकाण्डी हुन पुगेको देखिन्छ ।
१८८९ को ‘हे मार्केट’ काण्डपछिको आन्दोलनको अवस्थामा रहेको औद्योगिक पुँजीवादले विभिन्न चरण पार गरेको छ । त्यसबेलाको पुँजीवाद एकाधिकार पुँजीका रूपमा विकसित भई साम्राज्यवादमा फेरिन पुगेको थियो । यसबाट दुई विश्वयुद्ध भएका थिए । व्यापारी पुँजीवादबाट साम्राज्यवादमा फेरिएको पुँजीवाद दोस्रो विश्वयुद्धपछि नवसाम्राज्यवादी पुँजीवाद र उत्तरऔद्योगिक पुँजीवादमा विकसित भयो । वर्तमान अवस्थामा पुँजीवाद पाँचौँ चरणका रूपमा विश्व बजारीकरणको अवस्थामा पुगेको छ । सोभियतसंघको पतनपछि भत्किएको विश्व समाजवादी क्याम्प र चीनको बजारी समाजवाद विश्व पुँजीवादमा महामन्दीको अवस्थाले गर्दा पुँजीवाद स्वयं संकटमा परेको छ । यसले सामाजिक पुँजीवादको रूप लिएको अवस्था छ ।
यिनै कारणले औद्योगिक पुँजीवादको अवस्था परिवर्तन भएको हो । यसका साथै हिजोको स्मिथको उदारीकरणले नवस्मिथवादको दोस्रो नवउदारवादको स्थितिले गर्दा विश्व अर्थतन्त्रको परिभाषा नै परिवर्तित भएको छ । औद्योगिक पुँजीवादले उत्पादित सामग्री निर्यात नगरी अहिले प्रविधि निर्यातको ट्रान्सनेसनल प्रोडक्टको औद्योगिकतन्त्रलाई प्रमुखता दिएका छन् । विश्वमा बहुराष्ट्रिय कम्पनीहरूबाट अर्थतन्त्रमाथि एकाधिकार कायम गर्ने कार्य भएको छ भने साम्राज्यवादी र पुँजीवादले विश्वबैंक अन्तर्राष्ट्रिय मुद्राकोष तथा एसियाली विकास बैंकजस्ता संयन्त्रबाट विश्व सम्पदा स्रोतमाथि एकाधिकारको स्थिति सिर्जना गरेको अवस्था छ ।
पुँजीवादको साथै श्रमको अवधारणामा परिवर्तन भएको छ । शास्त्रीय परिभाषामा श्रमलाई शारीरिक श्रमका रूपमा परिभाषित गरिन्थ्यो र शारीरिक श्रमलाई मात्र श्रमका रूपमा लिइन्थ्यो । तर, इलेक्ट्रोनिक शक्ति र साइबरको प्रयोगपछि विश्वमा श्रमको परिभाषा परिवर्तित भएको छ । अहिले श्रम भनेको शारीरिक श्रमको साथै बौद्धिक श्रमलाई विशेष महत्त्व दिइने गरिन्छ । शारीरिक श्रमिकको स्थान इलेक्ट्रोनिक प्रविधिले विस्थापन गर्दै छ । हिजोको आम उत्पादनको सट्टा विशिष्टीकृत उत्पादनको स्थिति सम्भव भएको छ । यस्तै व्यापार वस्तुको उत्पादनमा समेत परिवर्तन भएको छ । शास्त्रीय परिभाषामा कच्चा पदार्थमाथि श्रमको प्रयोग गरिएपछि वस्तुका रुपमा यसलाई बजारमा बिक्री गर्ने गरिएको छ । एक्साइसौँ शताब्दीलाई ज्ञान व्यापारको शताब्दी मानिएको छ भने बौद्धिक कर्मीहरू श्रमिकका रूपमा फेरिएका छन् । यसरी पुँजीवाद, श्रम उत्पादन, उत्पादकत्व, व्यापारको वस्तु, विनिमय प्रणाली र विश्व व्यापारीकरणको स्थितिमा १९ औं शताब्दीको श्रम, श्रमिक र पुँजीमा पूर्णत: परिवर्तन भएको छ । यस्तो स्थितिमा पुरानो मई दिवसको परिभाषामा श्रम श्रमिक, उत्पादन पुँजीपतिको सम्बन्धजस्ता कुराबाट नयाँ परिस्थितिलाई सम्बोधन गर्न सक्ने स्थिति देखिँदैन । तसर्थ २१ औं शताब्दी अनुकूलको मे दिवसको परिभाषा, महत्त्व, रणनीति र कार्य पद्धतिको पूर्णभाष्य आवश्यक छ ।

प्रतिक्रिया