शिशु हत्या गर्ने आमा पक्राउ

नेपालगन्ज, २०  वैशाख । परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशु हत्या गरेको अभियोगमा बाँके मनिकापुर–८ की ४५ वर्षीया कृष्णादेवी खत्री पक्राउ परेकी छन् । सोमबार बिहान खत्रीको घरनजिक नवजात शिशुको शव फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्दा उनको योनिबाट रगत बगिरहेको पाइएको प्रहरीले बताएको छ । उनले बच्चा जन्मिनेबित्तिकै हत्या गरेर सडकमा फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । उनी पतिसँग सम्बन्ध विच्छेद गरेर पछिल्लो एक वर्षदेखि मनिकापुरमा डेरामा बस्दै आएकी थिइन् ।
खत्रीले केही महिनाअघि एक युवकसँग मदिराको नसामा आफूले यौन सम्बन्ध राखेको र उसको गर्भ रहेको प्रहरीसमक्ष बयान दिएकी छन् । तर, पुरुषको नाम नबताएकाले प्रहरीले ती युवकलाई पक्राउ गर्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बस्नेतले जानकारी दिए । खत्रीले मरेको बच्चा जन्मिएकाले फालेको बयान दिएकी छन् ।

प्रतिक्रिया