छोरा बुहारी खोज्दै सदरमुकाममा

विराटनगर, २०  वैशाख । छोरा डिल्लीरामले कथित उपल्लो जातकी बुहारी विवाह गरेपछि मोरङ इन्द्रपुर–५ का बमबहादुर विश्वकर्मा समस्यामा परेका छन् । केटीपक्षले छोरी खोजेर नल्याए जेल पठाउने धम्की दिएपछि उनी छोराबुहारी र आफ्नो जीवन रक्षाका
लागि अधिकारकर्मीकहाँ आइपुगेका छन् ।
२३ वर्षीय डिल्लीरामले धनकुटा डाँडाबजार–१ का पलकबहादुर बस्नेतकी छोरी प्रणितासित प्रेमविवाह गरेर घर छाडेका हुन् । बस्नेतपक्षले केटापक्षले केटी लुकाएको र २१ वैशाखसम्म खोजेर नल्याए प्रहरीमा जाने भनेपछि समस्यामा परेको बमबहादुरले बताए । ‘१८ वैशाखमा कामको सिलसिलामा धरान गएका बेला प्रहरी थानामा कागजसमेत गराए,’ उनले भने, ‘सबैले धम्की दिएपछि खोजेर बुझाउँछु भनेर सही गरेको छु ।’ उनलाई छोराबुहारीले अहिलेसम्म फोनसमेत गरेका छैनन् ।
उनका अनुसार एक वर्षअघि पनि विवाह गरेर आएपछि केटीपक्षले तीनदिनमै छुटाएर लगेका थिए । तर, प्रेमीप्रेमिका राजी भएपछि १२ वैशाखमा पुन: उनीहरू भागेर हिँडेका हुन् । छिमेकी कुमार मिजारका अनुसार दोस्रोपटक प्रणिता आफैँ प्रेमी डिल्लीलाई खोज्दै आएकी थिइन् ।
केटाकेटीले विवाह गरेपछि केटीका बाबु, आमा र मामाले फोनबाट केटी नझिकाए ‘जे पनि गर्नसक्ने’ भन्दै जातीय अपमान गरेर गालीगलौज गरेको बमबहादुरले सुनाए । उनले इलाका प्रहरी कार्यालय बेलबारीमा जिउज्यानको सुरक्षा गरी पाउँ भनेर निवेदन दिएका छन् । उनले भने, ‘१५ वैशाखमा दिए पनि प्रहरीले १८ गते मात्र दर्ता गर्‍यो ।’ उनले छोराबुहारी र आफ्नो परिवारको रक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोग काठमाडौंमा १८ वैशाखमा आफन्तमार्फत निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया