म्यानचेस्टर डर्बीमा फेरि सिटी विजयी

लन्डन, १९ वैशाख । भिन्सेन्ट कम्पनीले आकर्षक हेड गोल गर्दै सोमबार म्यानचेस्टर युनाइटेडविरुद्ध जित दिलाएर म्यानचेस्टर सिटीलाई दुई खेल मात्र खेल्न बाँकी छँदा इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा पुर्‍याएका छन् । कम्पनीले सोमबार राति भएको बहुप्रतीक्षित खेलकै एक मात्र गोल गरेका हुन् ।
यी दुई टोलीबीच अहिलेसम्मकै सबैभन्दा ठूलो खेलका रूपमा हेरिएको सो भिडन्तमा कम्पनीले डेभिड सिल्भाको कर्नर प्रहारमा पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए ।
घरेलु मैदान इत्तेहादमा भएको सो खेलमा त्यसपछि साविक विजेता युनाइटेडलाई रोक्दै सिटीले जित सुनिश्चित गर्‍यो र अंकतालिकामा उसैलाई गोलअन्तरमा पछि पार्दै लिगको शीर्षस्थानमा पुग्यो । यस नतिजापछि लिग उपाधि जित्ने सम्भावना म्यान सिटीकै पक्षमा बढी देखिएको छ ।
१९ पटकसम्म लिगविजेता बनेर कीर्तिमान कायम गरेको युनाइटेडसँग सिटी पछिल्ला तीन साताभित्रै दुई टोलीबीच आठ अंकमा रहेको दूरी शून्यमा झार्दै अब गोलअन्तरमा स्वयं अगाडि भएको छ । ‘साँच्चै भन्ने हो भने हामी यही घडीको प्रतीक्षामा थियौं,’ कम्पनीले भने, ‘यो लिग सकिनुभन्दा फरक विषय हो किनभने दुईपटक म्यान युलाई हराएर हामीले ‘यानलाई एकदमै खुसी बनाएका छौं ।’
सिटीलाई उपाधि जित्न सजिलो भने छैन । पाँचौं स्थानमा रहेको न्युकासल युनाइटेडसहित क्विन्सपार्क रेन्जर्स (क्युपिआर) सँग भिड्ने भएकोले म्यान युविरुद्ध जित हात पारे पनि म्यान सिटीले उपाधि जितिसक्यो भनेर घोषणा गर्न गाह्रो देखिएको हो । घरेलु मैदानमा क्युपिआरविरुद्ध भिड्ने म्यान सिटी न्युकासलविरुद्ध विपक्षी मैदानमा उत्रनेछ । म्यान युले घरेलु मैदान ओल्र्ड ट्रयाफोर्डमा स्वान्साको र विपक्षी मैदानमा सन्डरल्यान्डको सामना गर्नेछ ।
‘आजको जित निकै ठूलो हो,’ सिटीका गोलकिपर जोए हार्टले भने । गोलअन्तरमा सिटी युनाइटेडभन्दा आठ गोलले अगाडि छ । ‘हामीले जितका लागि हकदार खेल प्रदर्शन गर्‍यौं, गोल गर्‍यौं र राम्रो खेल्यौं,’ सिटी प्रशिक्षक रोबर्टो म्यानसिनीले भने ।
सिजनभर उपाधि होडको प्रसंगले चर्चामा रहेका यी दुई क्लबबीच यसअघि भएका १३१ खेलभन्दा निकै उचाइ लिएको थियो सोमबारको भिडन्तले ।
खेलभर दुवै टोलीले केही राम्रा अवसर पाएका थिए । दोस्रो हाफमा दुवै टोलीका प्रशिक्षकले साइडलाइनमा गएर आपसमा विवाद गरेका थिए । म्यानसिटीका एन्जेल डि जोङले डेनी वेलबेकलाई टयाकल गरेपछि युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसन र सिटीका प्रशिक्षक म्यानसिनी नजिकिएर झगडा गरेका हुन् । औंला तेस्र्याउँदै दुवैले एक–अर्कालाई चुप लाग्न भनिरहेका थिए । पछि फर्गुसनलाई तानेर आफ्नै ठाउँमा पुर्‍याइएको थियो । म्यानसिनीले खेल अफिसियललाई प्रभावित पार्न खोजेको फर्गुसनको आरोप थियो । ‘फर्गुसनले मलाई केही नराम्रो भने,’ झगडाका विषयमा म्यानसिनीले भने ।
यता फर्गुसनले खेल प्रतिस्पर्धात्मक भए पनि टोलीका ‘क्रस’ हरू कमजोर भएको र त्यत्तिकै कमजोर प्रदर्शन गोलकिपरले गरेको प्रतिक्रिया दिए । ‘आशा गरिएअनुसार नै खेल प्रतिस्पर्धात्मक भयो तर गोल भएन ।’ फर्गुसनले भने, ‘हामी एकदम निराश छौं, हामीले कहिले गोलकिपरलाई टेस्ट गरेनौं । त्यस्तै, इमानदारीपूर्वक भन्नुपर्दा हाम्रा क्रसहरू पनि कमजोर रहे ।’
पहिलो हाफमा युनाइटेडभन्दा धेरै समय बलमाथि नियन्त्रण कायम गरेको सिटीले २५औं मिनेटमा युनाइटेडको सातो लिएको थियो । सजिगओ एगुइरोले आकर्षक भली प्रहार गरे पनि त्यसले गोलपोस्टको फ्रेम समात्न सकेन । यसले दर्शकदीर्घामा बसेर खेल हेरिरहेका एगुइरोका ससुरा तथा विश्वचर्चित अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनासहित सिटीका दर्शकलाई उत्साहित बनाएको थियो ।
कम्तीमा बराबरी गर्ने दाउमा रहेको युनाइटेडले म्यान सिटीको लगातारको आक्रमणलाई रोके पनि पहिलो हाफको अन्तिम समयमा भने सोचेभन्दा विपरीत नतिजा आत्मसात् गर्‍यो । ‘मलाई लाग्छ, आज धेरैका अनुमान गलत भए,’ आज मलाई कसैले म्यासेज पठाइरहेको थियो, ‘तिमीले आज गोल गर्नेछौ, मैले सोचें, त्यो मान्छे पागल हो,’ कम्पनीले भने ।
खेलभर युनाइटेडले त्यति धेरै अवसर सिर्जना गर्न सकेन जसका कारण सिटी गोलकिपर हार्टले धेरै परिश्रम गर्नुपरेन । सिटीको डिफेन्स लाइनअप पनि उत्तिकै सशक्तरूपमा प्रस्तुत भएको थियो । यसअघि जारी लिगको पहिलो खेलमा सिटीले युनाइटेडलाई
६–० ले हराएको थियो ।

प्रतिक्रिया