‘एमाओवादी जातीय राज्यको विपक्षमा’

दाङ, १९ वैशाख । एकीकृत माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महराले माओवादीले लचकताका साथ शान्ति प्रक्रिया टुंग्याइसकेकाले अब संविधान निर्माणमा लचक हुने पालो कांग्रेस र एमालेको भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा एमाओवादीले आज घोराहीमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी जातीय, क्षेत्रीय पहिचानसहितको संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डाबाट पछाडि हटेका छौ ।’ महराले भने, ‘पहिचानलाई मुख्य आधार बनाएर राज्यको संख्या र नाममा छलफल गर्न पनि तयार छौ ।’
दलहरुबीच सहमति नहुँदा केही अन्योल छाएको भए पनि संविधानसभाबाटै संविधान जारी हुने महराले विश्वाश्वास व्यक्त गरे ।
वैद्य पक्षको गतिबिधिप्रति इंगित गर्दै नेता महराले भने, ‘एउटै पार्टीभित्र बसेर आफ्नै नेताहरुको पुत्ला जलाउनु गलत हो ।’ उनले बैद्य पक्षको गतिविधि राजनीतिक संस्कारविपरीत रहेको बताए ।
बैद्यको गतिविधिलाई जनताले कदापि साथ नदिने उनको  दावी छ । उनले भने, ‘पार्टीभित्र बस्नै नचाहने केही व्यक्तिहरु चोइटिदैछन् ।’

प्रतिक्रिया