सरकार बनाउन तीन नेतालाई जिम्मेवारी

काठमाडौं, १९ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउन पहल गर्न प्रमुख तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।
राजधानीमा आज बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सबै पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए । उनले भने, ‘सभपाति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई सहमतीय सरकार बनाउने जिम्मेवारी दिएका छौं ।’
त्यसै गरेर कांग्रेसले संविधान निर्माण तथा राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक परे सरकार विरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याउने निष्कर्ष निकालेको छ । दुई दिन भित्र राष्ट्रिय सहमतिको सरकार गठनमा सहमति नभए अविश्वसको प्रस्ताव ल्याउने नेता विश्वकर्माले बताए ।
उनले भने, ‘संविधान निर्माणमै केन्द्रित भएर कांग्रेसको नेतृतवमा राष्ट्रिय सहमतिको सरकार निर्माणमा जाने पनि निर्णय भएको छ ।’
एमाओवादी र मधेसी मोर्चाले सरकारलाई बचाउने सहमति गरेको दोस्रो दिन कांग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको हो ।
उता, कांग्रेसले सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउन पहल गरेपनि संविधानका बिवादित विषयमा सहमति खोज्ने निर्णय पनि गरेको छ । उसले सहमति हुन नसक्ने बिवादित विषयमा मतदानबाट टुङगाउन निर्णय भए प्रक्रियामा जान आफू तयार रहेको जनाएको छ । नेता विश्वकर्माले संविधानका बिवादित विषयमा सहमतिका लागि प्रयास भने गरिरहने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया