सैनिक पतिविरुद्ध अदालतसम्म

उमेरले ३३ वर्ष मात्र पुग्दै गरेकी राधिका गौतम अनुभवले परिपक्व लाग्छिन् । हाँसो, खुसी, आशा, उमंगसँगै त्रास, पीडा र संघर्षले उनलाई दृढ बनाएको छ । जीवनमा पाएको खुसी, सन्तुष्टि र सुखभन्दा उनले भोगेको पीडा अझ घतलाग्दो छ । राधिकाले आँसुको कथा सुनाउँदै भनिन्, ‘एउटा गीत छ नि † सँगालेर राख्या’ भए ताल बन्थ्यो हेर ।’
चिटिक्क परेर हिँड्ने शैली र मुसुक्क हाँसेर बोल्ने उनको स्वभावले त्यो छनक दिँदैन । क्षत्री समाज नेपाल काठमाडौंकी अध्यक्ष भएर उनी बेलामौकामा विभिन्न कार्यक्रममा भाग लिन्छिन् । बोलाउनेले भूमिका भनेर बोलाउँछन्, ३ असोज २०३६ सालमा हेटौंडाको नामाटारमा जन्मिएकी राधिकालाई ।
बद्री गौतम र सीताकीे जेठी छोरीका रूपमा जन्मिएकी  राधिकाले के भोगिन् जीवनमा त्यस्तो ? ‘युद्धकालको कुरा हो, मेरी बहिनीलाई माओवादीले स्कुलबाटै अपहरण गरेर माओवादी बनाए । म नौ कक्षामा पढ्थेँ ।’ राधिकाले बेलीविस्तार लगाइन्, ‘त्यसपछि हाम्रो घरमा विपत्ति आइलाग्यो । आफ्नै वैरी रूप राम्रो थियो । एक दिन ‘तेरो बहिनी कहाँ छ ? लौ देखा’ भन्दै सेनाको फौज घरमा आयो ।’ त्यही दिन आफ्नो जीवनमा आगो झोसिएको भन्न रुचाउने राधिकाले भनिन्, ‘उनीहरूले बिहानै पाँच बजे मलाई हेटौंडाबाट लगेर गए । दिनभरि बारा जिल्ला घुमाएर राति १२ बजे हेटौंडाको ‘सीमा’ लजमा राखी तत्कालीन मेजर भुवनले त्यहीँ मलाई पत्नी बनाए ।’
नेपाली समाजमा एकपटक नारी जसका सामु नांगियो, उसैलाई पति मान्नुपर्ने संस्कारबाट प्रेरित राधिकाले भनिन्, ‘त्यो घटनापछि मैले उहाँलाई नै पति स्विकारेँ ।’ २०५४ सालमा अपहरणशैलीमा विवाह भएको भन्न रुचाउने उनले भनिन्, ‘धेरै लामो समय हाम्रो सम्बन्ध सुमधुर थियो । सँगै बस्यौँ । पछि बुबाले उहाँ र मेरो नाममा थानकोटमा घर किनिदिनुभयो ।’
जिन्दगीलाई पढिनसक्नुको ग्रन्थका रूपमा हेर्ने राधिका ‘जिन्दगी बुझ्ने आधार उमेर रहेनछ, अवस्था रहेछ । कसले कहिले कुन अवस्था भोग्छ, त्यसैले जिन्दगीको अर्थ बुझाउँदो रहेछ’ भन्छिन् । हाल नेपाली सेनाका कर्णेल रहेका अधिकारीसंँग राधिकाको लडाइँ जारी छ । उनी सर्वोच्च अदालतको फैसला आफ्नो पक्षमा आउने विश्वासमा छिन् । यसअघि ‘मानाचामल’ मुद्दामा उनले जिल्ला र पुनरावेदन अदालतबाट जितिसकेकी छिन् ।
अदालतसम्म पुगेको उनको सम्बन्धको यात्रा ‘सीमा’ लजबाट नारायणघाटमा रहेको ‘नारायणदाइको होटेल’ हुँदै अति रक्तस्रावका कारण चार दिन अस्पतालमा गएर सुस्तायो । ‘उपचारपछि मलाई भुवनले कांग्रेस नेत्री डिना उपाध्यायसंँग ‘यो बेसहारा नारी हो’ भनेर उनकै गाडीमा एबिसी नेपालमा पठाइदिनुभयो’, राधिकाले भनिन्– ‘उपचारपछि हामीले धेरै यात्रा सँगै गर्‍यौँ, घट्टेकुलोमा उहाँ र मेरो नाममा किनिएको घरमा धेरै समय बितायौँ । तीन दिन मसंँग र चार दिन जेठी श्रीमतीसँग बस्नुभयो ।’
थानकोटको घर बेचेर घट्टेकुलोमा घर बनाएपछि आफ्नो जीवनमा बादल लागेको उनी ठान्छिन् । ‘उहाँ र म मनकामना घुम्न गयौँ । एक रात त्यहाँ बस्यौँ । मनकामनाको ढोका छोएर उहाँले ‘तिम्रो एक थोपा आँसु बग्ने काम गरूँ त म आमालाई स्वास्नी भनूँ’ भन्नुभयो’, राधिकाले ती दिन सम्झँदै भनिन्, ‘यो घर बंगलादेश बैंकमा धरौटी राखेर २१ लाख ऋण लिएपछि उहाँ एकाएक टाढिनुभयो ।’ उनैले निकालेको ऋण तिर्न र लत्याएको नाता खोज्नमै आफ्नो जुनी बितिरहेको उनले दुखेसो गरिन् ।
अदालत पुग्नुभन्दा अघि अरू बाटा पनि खोजेको बताउँदै भनिन्, ‘अनामनगर पारिपट्टि रहेको भुवनको अर्को घरमा गएर गेट बाहिर मध्यरातिसम्म बसेँ । अपरिचित महिलाले दु:ख दिँदै छे भन्दै उल्टै पुलिस बोलाएर भ्यानमा हाले । बिचरा पुलिसलाई सबै कुरा भनेपछि घट्टेकुलोको घरमा ल्याएर छाडिदिए ।’
आफ्नै संघर्षले  राधिकालाई अहिले महिलाहिंसाविरुद्ध साझा सरोकार केन्द्र नामक संस्था खोल्न बाध्य बनाएको रहेछ । उनले भनिन्,‘अधिकार दिलाइदिन भन्दै म कहाँ पुगिन र ? नेपाली सेनाका भुवनकै हाकिम बिए शर्मालाई भेटेँ । उनले ‘के भनेर न्याय दिने’ भने । राष्ट्रिय महिला आयोगका तत्कालीन अध्यक्ष नयनकला थापासँग बिन्ती गरेँ । हुन्न भनिनन्, गर्न पनि केही गरिनन् । सपना मल्लकोमा पुगेँ, उनको जवाफ पनि उस्तै थियो । रक्षामन्त्री हुँदा विद्यादेवी भण्डारीलाई पनि भेटेँ । कसैले केही गरेनन् ।’
‘पद, पैसा र पावर हुनेकै पछाडि अधिकारवादी पनि लाग्ने’ अनुभव सँगालेकी राधिकाले भनिन्, ‘मेरो मुद्दा लडिदिने वकिल पनि बीचैमा छाडेर गए । अहिले माधव बास्कोटा दाइ लडिरहनुभएको छ ।’ महिलाहिंसा विज्ञप्ति निकालेर नरोकिने दाबी गर्ने राधिकाले प्रश्न गरिन्, ‘ठोस काम कसले कहाँ गरेको छ ?’
पाँच वर्षदेखि ‘मानाचामल’ र हालै अंशबन्डाको मुद्दा पनि लडिरहेकी राधिकाले नारीलाई अधिकारको लडाइँ लड्न शब्दमा भन्न नसकिने सास्ती खेप्नुपर्ने अनुभव बटुलेको बताइन् । एउटी नारीको ठूलो खुसी भनेको श्रीमान्सँंग बसेर खान पाउनु, सन्तान काखमा खेलाउन पाउनु नै भएको बुझेकी राधिका भन्छिन्,‘मेरो भागमा त यो दुवै रहेनछ ।’ राधिकाले आफ्नो जीवनमा रुवाइको सीमा नरहेको बताउँदै दुखेसो गरिन्,‘सबै आँसु राखेकी भए सायद म बस्ने कोठा भरिन्थ्यो होला ।’ (सौस)

प्रतिक्रिया