घरबहाल कर असुल्न निर्देशिका जारी

काठमाडौं, १९ वैशाख । सरकारले घरबहाल कर असुलीलाई बढावा दिने उद्देश्यले घरबहाल कर असुलीसम्बन्धी कार्यविधि निर्देशिका र घरबहाल कर पुस्तिका सार्वजनिक गरेको छ । आयकर ऐन, ०५८ मा घरबहाल कर तिर्नुपर्ने व्यवस्था रहे पनि न्यूनकर मात्र असुली भइरहेका सन्दर्भमा बिजुली, पानी र टेलिफोनजस्तै कार्ड वितरण गरेर घरबहाल कर असुल गर्ने उद्देश्यले निर्देशिका र पुस्तिका जारी गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले जानकारी दिए ।
विभागले काठमाडौं महानगरपालिकाका ३५ वटै वडासँग समन्वय गरेर घरबहाल कर उठाउन बुधबारबाट टोली खटाउने भएको छ । त्यसैगरी विभागका सम्पूर्ण १३ वटा कार्यालय र उपत्यकाबाहिरका नगरपालिकालाई पनि घरबहाल कर उठाउन परिचालन गरिने महानिर्देशक शर्माले बताए ।
चालु आर्थिक वर्षमा सरकारले एक सय ३५ करोड रुपियाँमध्ये चैत मसान्तसम्म ९५ करोड रुपियाँ उठाउने लक्ष्य राखिएको थियो । चैत मसान्तसम्म सरकारले एक सय ६ करोड रुपियाँ राजस्व उठाइसकेको उनले जानकारी दिए । यस अभियानबाट सरकारले २५ हजार पाँच सय घरधनीलाई करको दायरामा ल्याउने उद्देश्य राखेको छ । त्यसमध्ये २० हजार पाँच सय घरधनी काठमाडौंबाट समेटिने आशा गरिएको उनले बताए ।
अन्य कर शीर्षकबाट सन्तोषजनक रूपमा कर उठ्ने गरे पनि घरबहाल कर भने सन्तोषजनक नरहेको उनले बताए । आगामी बुधबारबाट महानगरपालिका र विभागका अलावा टोल छिमेकमा सिविर गठन गरेर पनि बहालकर पुस्तिका वितरण गरिने उनले बताए ।
आगामी वर्षबाट सरकारले कम्पनी रजिस्ट्रार, सहकारी विभाग, महानगरपालिकामा दर्ता भएको विवरण तुरुन्तै आन्तरिक राजस्व विभागमा पनि अद्यावधिक हुने गरी सºटवेयर डिजाइन गरिएको बताए । यसबाट करसम्बन्धी जानकारी कार्यालयपिच्छे फरकफरक विवरण बुझाउनुपर्ने अवस्थाबाट मुक्ति मिल्ने उनले जानकारी दिए ।
बहाल आय घोषणा र कर निर्धारण स्वयंकर निर्धारण प्रणालीमा आधारित रहेकाले आफूले प्राप्त गरेको घरबहाल आयको व्यक्तिको हकमा १० प्रतिशत र निकायको हकमा २५ प्रतिशतले हुने रकम नियमित नजिकको बैंकको राजस्व खाता नं. १.१.१.३१ मा दाखिला गरी भौचर प्राप्त गर्नुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया