दलका धरातलीय यथार्थ

नेतृत्वको विकासका केही अनिवार्य सर्त छन्– वारेन बेनिसका अनुसार एउटा नेताले मुख्यत: आफूलाई चिन्नुपर्छ । आफ्ना कमजोरी र क्षमतालाई ध्यानमा राख्दै उनले आफ्नो सामाजिक धरातल र परिस्थितिलाई राम्ररी बुझ्नुपर्छ । साथै, उनी समाजलाई कता लैजान चाहन्छन् र त्यो कसरी सम्भव छ भन्नेमा पनि विज्ञ हुनुपर्छ । सामाजिक उथलपुथलबाट माथि उठी समाजलाई स्पष्ट दिशा दिन सक्नुपर्छ । एउटा नेता आदर्श र वास्तविकताबीचको राम्रो सेतु हुनुपर्छ । नेतृत्व पनि ‘ट्रायल एन्ड इरर’बाटै निर्माण हुन्छ । गलत निर्णय र कमीकमजोरी नेतृत्व वर्गमा हुनु मानवीय स्वभाव नै हो । राजनीतिक सिद्धान्त नै हो कि नेताका कमीकमजोरी हुन्छन्, जसबाट उसले सिक्नुपर्छ वा जसलाई पुनरावृत्ति गराउनु हँदैन । तमाम उपलब्धिका बाबजुद नेपालको नेतृत्व वर्गमा विगतका कमीकमजोरीबाट सिक्ने गुण अति कम देखियो ।
नेपालका राजनीति पार्टीका आआफ्ना सिद्धान्त भए पनि प्रजातान्त्रिक आन्दोलनमा साझा सहमति गरी आन्दोलन गरे पनि आन्दोलनको उपलब्धि हासिल भैसकेपछि प्रजातान्त्रिक सरकारको नेतृत्वका नेता शेरबहादुर देउवाको विकल्प लोकेन्द्रबहादुर चन्द र उनको विकल्प सूर्यबहादुर थापा बनाउने विगतका स्वार्थी प्रवृत्तिले नेतृत्व विकासमा विभिन्न क्षेत्रमा ठूलो आघात पारेको छ । मन्त्रालय रोज्ने, पैसा कमाउने, सरकार ढाल्ने, सांसद थुन्नेदेखि आफ्ना प्रतिद्वन्द्वीलाई कुनै अभियोग लगाई हत्या गर्ने र घरवारविहीन गराउने प्रवृत्तिले विगतको नेतृत्व निर्माणमा ठूलो आघात पारेको छ । वास्तवमा भन्ने हो भने हाम्रो उच्च नेतृत्वले संसारका महान् नेताका जीवनीबाट सिक्न सकेन । लामो समय जेलनेल खाएर महान् मानिएका हाम्रा नेताहरूले न विगतलाई सम्झे, न भविष्यसँंग डराए, न त इतिहासमा राम्रो पात्रका रुपमा स्थापित हुने अवसरलाई कायम राख्न सके । हाम्रा नेतृत्व वर्गले गान्धी, मण्डेलाजस्ता तेस्रो मुलुकका महान् नेताको जति कुरा गरे पनि सत्तामोह र पारिवारिक चङ्गुललाई कहिले छाड्न सकेनन्, पद, पैसा र हैकमलाई उच्च महत्त्व दिए ।
क) तमामकमजोरीका बाबजुद विगत ६० वर्षमा नेपाली कांग्रेसले समाजका विभिन्न तह र तप्कामा नेतृत्व निर्माणका लागि एउटा महत्वपूर्ण मञ्चको काम गर्‍यो । लाखौं युवाले यसलाई एउटा राष्ट्र निर्माणको अगुवा र लोकतान्त्रिकीकरणको संरक्षक सम्झी विभिन्न तरिकाले कांग्रेसलाई मलजल गरे, साँच्चै भन्ने हो भने कांग्रेसइतरका पार्टीहरूको नेतृत्व विकासमा पनि कांग्रेसले योगदान दिएको छ । कांग्रेस  राणा र शाह वंशको विकल्पको नेतृत्वदायी शक्तिका  रुपमा उदय भएको हो । कांग्रेस पार्टीले ६० वर्षका अधिकांश समय विद्रोह र आन्दोलनमा लागेर जति लोकतान्त्रिकीकरण र जनताको नेतृत्वदायी क्षमताको विकास गरेको छ, यो विशेष महत्त्वपूर्ण छ ।
ख) यद्यपि कांग्रेसले आफ्नो विगत र वर्तमानका विशेष महत्त्वपूर्ण योगदान, उपादेयता र छविलाई राष्ट्रको नेतृत्वदायी अग्रगामी भूमिका खेलिरहन सकेन । कांग्रेसको नेतृत्व सुरुदेखि समावेशी चरित्रको थियो, वास्तवमा भन्ने हो भने दोस्रो विश्व युद्धबाट फर्केका जनजाति युवाले कांग्रेसको सशस्त्र क्रान्तिमा महान् योगदान गरेका थिए । तराईका आदिवासीदेखि हिमालका कुनाकाप्चासम्म विभिन्न जात, धर्म र वेशभूषाका मान्छेले कांग्रेसलाई विभिन्न तहमा नेतृत्व दिए । कांग्रेसले आधुनिक अर्थमा संगठित राष्ट्रियताको निर्माण गरेको हो । आज पनि कांग्रेसको उच्चदेखि तल्लो तहसम्मका नेतृत्वलाई जातजातिको प्रतिनिधिका रुपमा हेर्ने भन्ने भन्दा पनि एउटा पार्टीको व्यक्तिका रूपमा हेर्ने चलन छ । सर्वमान्य नेता गणेशमान सिंह, महामन्त्री धनमानसिंह परियारदेखि महेन्द्रनारायण निधिसम्म कोही पनि आफ्नो समुदायका प्रतिनिधि थिएनन् । उनीहरु राष्ट्रका नेता थिए । सबैलाई एक सूत्रमा बाँध्न सक्थे । यो कांग्रेसको नभनिएको अति सुन्दर पक्ष हो । हो, आज पार्टी अझ बढी समावेशी हुनु जरुरी छ । तर, पार्टीले यसको जाति र समुदायबाट माथि राख्ने परम्परालाई कायम राख्न सक्ने नेतृत्व निर्माण गर्न पनि उत्तिकै जरुरी छ ।
ग) हो आज केही कम्युनिस्ट घटक आफूलाई बढी क्रान्तिकारी, बढी लोकतान्त्रिक देखाउन कम्मर कसेर लागेका छन् । भूपि शेरचनले भनेजस्तै नेपाल केही हदसम्म हल्लैहल्लाको देश हो । यहाँ सस्ता नारा बिक्छन् र बिकेका छन् । क्रान्तिकारी नाराहरूले कम्युनिस्ट नेतृत्वलाई कम्युनिस्टको नाममा एउटा शक्तिका रुपमा स्थापित गरेको पनि छ । तर, सत्य कृुरा के हो भने कम्युनिस्ट नेतृत्वका अधिकांश निर्णय कांग्रेसको विरोधमा केन्द्रित रहे । यसले गर्दा राजाहरूलाई शासन गर्न सजिलो मात्र भएन, देशको लोकतान्त्रिकीकरण पनि धेरै पछाडि पर्‍यो । कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीको दरबार पलायन, ०३६ सालको जनमतसंग्रहमा देखिएको पञ्चपरस्त निर्णय र लोकतन्त्रको सबैभन्दा सुन्दर उपलब्धिका रुपमा रहेको बहस, संवाद र नीतिनिर्माणको थलो प्रतिनिधिसभाका गतिविधिलाई ५७ दिनसम्म अवरोध गर्ने काम भयो । राजा ज्ञानेन्द्रको समयमा प्रधानमन्त्रीको टेन्डर भर्ने र नभर्ने निहँुमा आन्दोलनलाई दिइएको धोका, माओवादीहरु जंगल बसी प्रजातान्त्रिक संविधान र विधिलाई बेकम्मा बनाउने कार्य अलोकतान्त्रिक र अविवेकी थिए भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । के नेपाली जनताले उनीहरूले गरेका  उल्लिखित गल्ती बिर्सेका हुन् वा उनीहरू पनि अब त्यस्ता गल्ती नगर्ने वाचासहित
अगाडि आएका छन् वा सस्तो लोकप्रियता र सत्ता प्राप्तिका लागि पुराना गल्ती र कमीकमजोरीलाई दोहोर्‍याउने हुन्, हेर्नका लागि नयाँ नेपालको इतिहासमा पर्खनुपर्छ ।
नेकपा (एमाले) ०४६ सालको आन्दोलनपछि सशक्त कार्यकर्ताको तन्दुरुस्त संगठन थियो, यसको संगठनात्मक व्यवस्थापन र कार्यकर्ता परिचालन गर्ने खुबी प्रशंसायोग्य थियो । एउटा ‘क्याडर बेस्ड’ पार्टीका रुपमा यसले सशक्त प्रतिपक्षको भूमिका मात्र गरेन, जनताले कांग्रेसजस्तो शक्तिलाई पाखा लगाई उसलाई सत्तामा पनि पुर्‍यायो । मदन भण्डारीको कार्यकालमा एमालेले नौलो जनवादलाई बहुदलीय जनवादको सिद्धान्तमा रुपान्तरण गरी बदलिंदो विश्व परिप्रेक्ष्यमा आफूलाई एउटा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित हुने प्रयत्न गर्‍यो । तर, पछिल्लो चरणमा आएर उसका निर्णयहरू अवसरवादबाट प्रेरित हुने, ढुलमुले चरित्रले गर्दा कार्यकर्ता अपमानित हुनुपर्ने देखिएको छ । सशक्त कार्यकर्ताको यो पार्टीमा सशक्त युवा नेतृत्वको खाँचो छ, जसले नयाँ विचार र योग्यता मात्र होइन, बदलिँदो परिस्थितिमा राष्ट्रिय विषयमा गम्भीर बहस गरी राष्ट्रियता र सामाजिक सद्भावलाई मजबुत बनाउने निर्णय गर्न सकोस् ।

प्रतिक्रिया