बस व्यवसायीको मनोमानी

कैलाली, १९ वैशाख । यातायात व्यवसायीले सुदूरपश्चिमका पहाडी रुटमा चल्ने बसको क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने गरेका छन् । उनीहरूले यात्रुभन्दा बढी सामान बोक्ने गरेका छन । तराईका कैलाली र कञ्चनपुर जिल्लाबाट पहाडका बाजुरा, अछाम, बझाङ, बैतडी, दार्चुलालगायत जिल्लामा चल्ने बसले क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने गर्छन् । तर, सम्बन्धित निकायले यसतर्फ कुनै चासो दिने गरेका छैनन् ।
बस समिति तोकेबमोजिम मात्रै भाडा लिने गरेको बताउँछ तर उनीहरू सामानको भने आफूखुसी भाडा लिने गर्छन् । व्यक्तिको भन्दा सामानको भाडा बढी लिने गरेको बाजुराका प्रकाश बुढाले बताए । भाडा असुल्न पाइने भएकाले यातायात व्यवसायीले व्यापारीको सामान बसमा हाल्ने गर्छन् । बसमा पनि ट्रकमा जस्तै व्यापारिक सामान हालेर यात्रुलाई बस्न तथा भित्र/बाहिर गर्नसमेत कठिनाइ पर्ने गरेको धनगढीबाट बझाङ जान लागेका यात्रु जगत मल्लले बताए । अनियमित तवरले सामान तथा यात्रु राख्ने बसलाई कारबाही गर्न खटिएका ट्राफिक प्रहरी पनि मूकदर्शक बन्ने गरेका छन् ।
प्रत्येक दिनजसो गाडीको क्षमताभन्दा बढी सामान र यात्रु चढाएको भनेर धनगढी तथा महेन्द्रनगर बसपार्कमा यात्रु तथा बसका कर्मचारीबीच विवाद हुने गर्छ । तर, बसका कर्मचारीले ‘जाने मन छ भने जानुस् नत्र कचकच नगर्नुस्’ भनेर उल्टै यात्रुलाई हप्काउने गरेको गुनासो अधिकांश यात्रुको छ । बस व्यवसायीको मनोमानीले आफूहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको भारतबाट मजदुरी गरेर आएका केशव कुवँर बताउँछन् । उनका अनुसार पहिले नै व्यापारीका सामान बसको छतमा राखेर बसपार्कमा ल्याउँछन् अनि यात्रुको सामान्य झोलाको पनि मनमा आएजति पैसा माग्छन् । पहाडी रुटमा चल्ने बसमा क्षमताभन्दा बढी सामान र यात्रु बोक्ने गरेको स्वीकार गर्दै क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी कुमार खरेल चेकजाँचमा खटिएका प्रहरीलाई बढी सामान र यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्न निर्देशन दिइसकेको बताउँछन् ।

प्रतिक्रिया