खुट्टा भाँच्दा नडराउनू

‘हामीलाई खुट्टा भाँचिदिन्छु भन्छन् ।’ प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार पुगेका मन्त्रालयका सचिवहरूले एकै स्वरले प्रधानमन्त्रीलाई गुनासो गरे । प्रधानमन्त्री बाबुराम भने गालामा हात राखेर सचिवहरूका कुरा सुनिरहेका थिए । उनको छेउछाउमा सल्लाहकारहरू बुँदा टिपोट गर्न व्यस्त थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव सचिवहरूलाई ‘खुट्टा भाँचिदिन्छु’ भन्ने मन्त्रीहरुको नाम, ठेगाना, वतन एकएक गरेर सोधिरहेका थिए । सचिवहरू तँछाडमछाड गर्दै नाम टिपाइरहेका थिए । रिपोर्ट तयार गर्न रामरिझनलाई भ्याइनभ्याई  थियो । उनको टिपोटलाई रिपोर्टको रूप दिन समय लागिरहेको थियो ।
यता प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार देवेन्द्र पौडेल सचिवमाथि भएको अभद्र व्यवहारलाई राजनैतिक रङरुप दिन लागिपरिरहेका थिए । ‘यो सबै महान् तथा गौरवशाली पार्टी एनेकपा (माओवादी) को फुल सत्ता नआएकाले पनि गडबड भएको हुनसक्छ’ भनिरहेका थिए । सचिवहरू अभद्र व्यवहार गर्नेमा मन्त्रीहरु मात्र हैन, पार्टीका कर्मचारी युनियन पनि रहेको बताइरहेका थिए । तर, पौडेल भने आफ्ना कर्मचारी अभद्र व्यवहार नगर्ने पंक्तिमा पर्छन् भनेर प्रस्टीकरण दिइरहेका थिए । केही गरी अभद्र व्यवहार गरे पनि ती वैद्यका वा प्रचण्डका कर्मचारी हुनसक्ने उनले ठोकुवा गरे ।
प्रधानमन्त्री भट्टराईले कुरालाई गाँठो पार्न खोजिरहेका थिए । तर, केही दनदेखि उनको घाँटीदेखि माथिको भाग अस्वस्थ्य भएकाले कुराको पोयो भेटिरहेका थिएनन् । घाँटी खारखुर पारेर भए पनि बोल्न अगाडि सर्दै काम चलाउ फर्मान जारी गरे, ‘मन्त्रीले समस्या भए मलाई भन्ने हो, सचिवले मुख्यसचिवलाई र मुख्यसचिवले मसँग ल्याएर समाधान खोज्ने हो । लुगा टक्टक्याएर, धुलो उडाएर कसैको हित हुँदैन ।’
माक्र्सवादी शैली प्रयोग गरेर बाबुरामले फर्मान जारी गरेको सूत्र वाक्य बुर्जुवा सचिवहरूले बुझेनन् । तीमध्येकै एक सचिवले कुरो बुझेजस्तो गरेर भने, ‘प्रधानमन्त्रीज्यू, हामीले लुगा टक्टक्याएर धुलो उडाएकै होइन । हाम्रो लुगा त सफा छ, धुलो उडाउनै पर्दैन । बरु हाम्रो खुट्टा टक्टक्याएर भाँचभुँच पारिदिने ध्वाँस दिइएकाले निवेदन गर्न आएका हाँैं । लुगा टक्टक्याएर धुलो झार्ने हाम्रो मनसुवा हुँदै होइन ।’
वामपन्थी भाषाशैली नबुझेर सचिवहरूका कुरा बरालिन थालिसकेको थियो । बाबुराम बीचैमा गर्जिए, ‘ऐन, कानुनअनुसार काम गर्नुहोस् । खुट्टा भाँचिदिन्छु भन्दा डराउनु पर्दैन । डराउनु कमजोरी हो ।’
खुट्टा भाँच्ने विषयलाई सम्बोधन गर्न थालेपछि बल्ल बाबुराम ‘टु दि पोइन्ट’मा आइपुगेको जस्तो सचिवहरूलाई लाग्यो । तर, खुट्टा भाँचिदिन्छु भन्दा पनि नडराउनुपर्ने सूत्रचँैं कस्तो होला, अझै पनि सचिवहरुको भेजामा यो अचुक फर्मुला घुसिसकेको थिएन ।
अर्का सचिवले घाँटी सफा गरेर प्रधानमन्त्रीलाई सोधे, ‘सम्माननीयज्यू, खुट्टा भाँचिदिन्छु भन्दा हामीले त सुरुवालमै सुइँक्याइँ सकेका थियौँ । खुट्टै भाँचिदिन्छु भन्दा पनि नडराउने फर्मुलाचैँं के होला ? कस्तो होला, कहाँ पाइएला ? मैले पढेको ट्रिगोनोमेट्री, अल्जेब्रामा त थिएन ।’ उनले आफ्नै समयको एसएलसी परीक्षा सम्झिए ।
उपस्थित सचिवहरूले जिज्ञासाको उत्तरका लागि आस गरे । बाबुरामलाई आफँैले हानेको भकुन्डो फर्किएर आफ्नो कोर्टमा बजारिएजस्तै भयो । कानूनची सचिवहरुले कुरामा ‘रन’ मात्र होइन, ‘विकेट’ पनि बनाइरहेका थिए ।
बाबुरामले उत्तर दिनैपर्ने नौबत आयो । ‘महान् जनयुद्धकालमा हामीले भाटा हान्दा संजोगबस कसैको खुट्टा भाँच्चियो होला । तर, हामीले जनुयुद्धको रूपरेखामा खुट्टा भाँच्ने कार्यदिशा बनाएका थिएनौँ तर पनि धेरैका हात खुट्टा भाँच्चिए, मुन्टो चुँडिए । अहिले जनयुद्ध छैन, त्यसैले खुट्टा कसैको भाँच्चिने छैन । उतिबेला खुट्टाको कुरा नगरीकनै भाँच्चिए । अहिले कसैले खुट्टो भाँच्ने कुरा गर्छ भने त्यो दुस्साहस हुनेछ । यो ठोस विषयको ठोस विश्लेषण नै होइन । फेरि कसैले खुट्टो भाँच्छु भन्यो भने त्यो भुक्ने कुकुरले टोक्दैन भनेजस्तै हो । यसर्थ नभाँच्चिने खुट्टाको चिन्ता गर्नु नै बेकार छ ।’ बाबुरामले सचिवहरूलाई आश्वस्त बनाउन खोजे ।
‘जनविद्रोहको कुरा आइरहेको छ नि ?’ कुनामा बसेका एकजना सचिवले निथारपिथार प्रश्न सोधे । उनको प्रश्नमा दम भएको ख्याल गर्दै सचिवहरूले पुन: उत्तरको आशा गर्दै प्रधानमन्त्रीतिर मुन्टो फर्काए ।
‘खुट्टो भाँच्चिनुभन्दा पहिले नै खुट्टाको विषयमा सोच्नु अलि ‘हाइपोथेटिक’ हुन्छ । ‘नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले’ भने जस्तो कमसेकम तपाईं सचिवहरूले गर्न मिल्दैन । फेरि खुट्टो भाँच्ची नै गयो भने त्यसपछि सोच्ने हो । राम्राराम्रा अस्पताल राजधानीमै छन् । उपचारमा कुनै कसर बाँकी राखिने छैन । के को चिन्ता ? रह्यो जनविद्रोहको कुरा, त्यो आधुनिक विज्ञानसम्मत छैन । वैद्य, धामी, झाँक्रीहरूले आजको दुनियाँमा विद्रोह नै गर्न सक्तैनन् । वैद्यहरूले मध्ययुगमा विद्रोह गर्थे । तर, यो त आधुनिक कलियुग हो । कलियुगमा एलोपेथिक विद्रोह होला । तर, आयुर्वेदिक, होमियोपेथिक विद्रोह हुन असम्भव छ । फेरि यो शाकाहारी विद्रोह हो । मांसाहारी होइन । यस्तो भेज विद्रोहमा हल्ला हुन्छ, खुट्टो भाँच्चिने हदको हंगामा हुँदैन भन्ने हामीलाई लाग्या छ ।’ बाबुरामले एकैसासमा कुरो तुर्‍याउन खोजे ।
उता प्रेस सल्लाहकार यादवले रिपोर्ट तयार गरेर ल्याए । झटपट रिपोर्ट सुनाउने अनुमति मागे । प्रधानमन्त्रीले अनुमतिको टाउको हल्लाए । मधेसी लवजमा यादवले मौखिक प्रतिवेदन सुनाउन थाले, ‘कि छ कि, थोरबहुत अनुशासन खुस्किएको छ । जति पनि जनयुद्धको विरोध गर्ने, मधेस आन्दोलनको विरोध गर्ने सचिवहरु कुर्सीमा आसीन भएकाले मधेसी मन्त्रीहरु खनिएको हामीले बुझी ल्याको । जति पनि गडबडाएको छ, उहाँ खस पहाडिया बाहुन र मधेसीबीचको अन्तरविरोधको कारन जो छ । फिर उहाँ सचिवजीहरुले आरोप गरेको व्यक्तिहरु जति छ, त्यो लिस्ट समावेशी छैन । सभी मधेसी मन्त्रीहरुलाई मात्र अभद्र व्यवहार गर्नेको आरोप छ । एक भी पहाडी मन्त्रीलाई आरोप छैन । पहाडीहरु पनि त रिस उठेको बेला जेठा माइला भनी ल्याउँछ । उसबखत वेद त पढी ल्याउँदैन । उसका भी तो लिस्ट होनाचाही । इसकारन यी लिस्टको समावेशी बनाएर मात्र कर्वाही गर्न मिल्छ भन्ने हाम्लाइ पनि
लाग्या छ ।’
बाबुरामले मुस्किलले स्वर निकाले ‘उहुँ..हुँ ।’
विचरा सचिवहरु निराश हुँदै बालुवाटारबाट रफुचक्कर भए ।

प्रतिक्रिया