सत्ता कि संविधान !

संविधानसभाको म्याद सकिन अब २७ दिन मात्र बाँकी छ । यति दिनको समयभित्र संविधान लेखनमा देखिएका सबै विवाद टुङ्ग्याएर १४ जेठभित्र नयाँ संविधान घोषणा गर्नैपर्ने बाध्यात्मक दबाब हाम्रा राजनीतिक दलका नेताहरूले भोगिरहेका छन् । अहिले पनि राज्यको शासकीय स्वरूप र राज्य पुन:संरचनाको विवाद मिलिसकेको अवस्था छैन । गत शनिबारसम्म नमिलेका यिनै दुई बुँदामा नेताहरूको छलफल केन्द्रित थियो । इतिहास निर्माण गर्नुपर्ने यति छोटो समयलाई शीर्ष नेतृत्वले पूर्ण रूपमा सदुपयोग गर्नै पर्ने हो । तर, आइतबारको छलफलमा एक्कासि सरकार परिवर्तनको एजेन्डा प्रवेश गरेपछि संविधान बन्नेमा शङ्का उत्पन्न भएको छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो शीर्ष नेताहरूले संविधान निर्माणको कार्यभन्दा सरकार परिवर्तनलाई प्रमुख मुद्दाका रूपमा लिएपछि संविधान लेखनमा उत्पन्न विवादित विषय अझ पछि धकेलिएका छन् । यसले संविधान निर्माणमा गतिरोध उत्पन्न गर्ने देखिएको छ ।
तत्कालै गर्नुपर्ने प्रमुख कामका रूपमा रहेको संविधान निर्माण प्रक्रिया नै रोकिने गरी सरकार परिवर्तनको खेल सुरु भएपछि सबैको ध्यान त्यतै केन्द्रित हुनेछ । यसले मूल विषय थाती रहने र संविधान नबन्ने वातावरण तयार गर्छ । चरम सत्तामोह र निकृष्ट कार्यले गर्दा नेपालको राजनीति जहिले पनि तरल अवस्थामा रहेको छ । जब–जब कुनै जटिल समस्या समाधान हुन लाग्छ, तब–तब सत्ता परिवर्तनको विषयले उग्ररूप लिन्छ । यही सत्ता लुछाचुँडीका कारणले कुनै पनि काम बेलैमा सम्पन्न हुँदैन । मूलत: नेताहरूमा देखिएको अहंकार, चरम सत्तालोलुपता, समयको पाबन्दी बुझ्न नसक्ने मूढता र जवाफदेहिताबाट पन्छिने विकारजन्य सोचले गर्दा यस्तो भएको हो । अहिले पनि कुबेलामा सत्ता परिवर्तनको एजेन्डा छलफलमा भित्र्याएर संविधान निर्माण गर्न नदिइने वातावरण बनाइँदैछ । ऐतिहासिक दायित्व बोकेका नेताहरू आफ्नो दायित्वबाट पन्छिएर सत्ताप्रति आशक्ति प्रकट गर्न थालेका छन् । यो नियतवश आएको सरकार परिवर्तनको एजेन्डाले भावी संविधान बन्न नदिने र राष्ट्रलाई अर्कोखाले द्वन्द्वमा
धकेल्ने देखिन्छ । तसर्थ शीर्ष नेतृत्वले अहिले सत्ता परिवर्तनलाई होइन, संविधानका विवादित विषयमा छलफल केन्द्रित गरेर त्यसलाई सल्ट्याउने उपाय सोच्नुपर्छ ।
संविधानसभाको म्याद करिब चार हप्ता मात्र बाँकी रहेको र विवाद सुल्झन लागेको अवस्थामा कहाँबाट सत्ता परिवर्तनको विषय ल्याइयो ? किन मूल विषयलाई ओझेलमा पार्ने गरी कुबेलामा यो विषय उठाइयो ? वर्तमान अवस्थामा नेपाल र नेपाली जनताका लागि सत्ता महत्त्वपूर्ण कि संविधान महत्वपूर्ण भन्ने अनेकाँ प्रश्नले अहिले बौद्धिक क्षेत्रलाई समेत रनभुल्लमा पारेको छ । यो नियोजित षड्यन्त्रका रूपमा प्रवेश गरेको सत्ता परिवर्तनको विषयले नेपालीको चाहनामाथि कुठाराघात गर्नेछ । तसर्थ वर्तमान सरकारलाई शान्तिप्रक्रिया पूर्ण रूपमा सम्पन्न गर्न र संविधान जारी गर्न दिनुपर्छ । अन्यथा नेपाली जनताले विभिन्न समयमा गरेको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने सम्भावना रहन्छ । अहिलेको महत्त्वपूर्ण कार्य भनेको सरकार परिवर्तन होइन, संविधान निर्माण हो । त्यसैले संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति गरेर पहिला संविधान जारी गर । त्यसपछि मात्र अन्य विषयतर्फ लाग्दा अन्यथा हुने छैन ।

प्रतिक्रिया