दुई मधेसी मोर्चाका आ–आफ्नै दाउ


काठमाडौं, १९ वैशाख । नयाँ संविधानमा मधेसका मुद्दा कार्यान्वयनका लागि दबाब दिने भन्दै निर्माण भएका दुई मधेसी मोर्चाका नेता आपसमा खट्टा तानातान र घोचपेचमा तल्लीन छन् । सत्तारूढ मधेसी मोर्चा जसरी भए पनि यही सरकार टिकाउन चाहन्छ भने उपेन्द्र यादवको मोर्चा सरकारलाई असफल देखाउने चक्करमा छ ।
सोमबार बिहान सत्तारूढ मधेसी मोर्चाले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत माओवादी नेताहरूसँग वार्ता गरेको थियो । सोमबारै दिउँसो उपेन्द्र यादवको दबाब मोर्चाको बैठक बसेको थियो । पुरानो मधेसी मोर्चाका नेताहरूले उपेन्द्र यादवको मोर्चाले संविधान निर्माण प्रक्रियामा अवरोध पुर्‍याउन खोजेको आरोप लगाएका छन् । उता, उपेन्द्र यादवको मोर्चाका नेताहरूले सत्तामा रहेका मधेसी नेताहरूले सरकार टिकाउन मधेसका मुद्दालाई लत्याएको आरोप लगाएका छन् ।
लोकतान्त्रिक मधेसी मोर्चा करिब चार वर्षपहिले स्थापना भएको थियो भने उपेन्द्र यादवको मोर्चा केही दिनअघि मात्र बनेको हो । सत्तारूढ मधेसी मोर्चामा रहेका शीर्ष नेताहरू नै उपेन्द्र यादवका मोर्चामा सहभागी भएका छन् । ‘अहिले संविधान निर्माण तीव्र भएको सुरु भइरहेका बेला उपेन्द्र यादवको मोर्चा आवश्यक छैन । यसले संविधान निर्माण प्रक्रियामा अवरोध पुर्‍याइरहेको छ,’ मधेसी मोर्चामा सम्बद्ध सिँचाइमन्त्री महेन्द्र यादवले भने ।
उता, दबाब मोर्चामा रहेका शरत्सिंह भण्डारीले भने सत्तामा रहेको मोर्चा मधेसी मुद्दा कार्यान्वयनमा पूर्णत: असफल भएको आरोप लगाए । ‘सत्तामा रहेको मोर्चा जसरी भए पनि सत्ता टिकाउन चाहन्छ । मधेसका मुद्दाप्रति यसलाई कुनै मतलव छैन,’ भण्डारीले भने ।
सत्तारूढ घटक एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल सरकार परिवर्तनको विषयलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् । यही सरकारमा सहभागी हुन नेपाली कांग्रेस र एमालेलाई उनीहरूले आग्रह गरेका छन् । वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरूपको रूप दिई यही सरकारले संविधान जारी गर्नुपर्ने निष्कर्ष उनीहरूको छ ।
नेपाली कांग्रेस र एमाले वर्तमान सरकारमा सहभागी भएपछि मात्र नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकारमा सहभागी हुने माओवादी संस्थापन पक्षधर नेता र मधेसी मोर्चाले निर्णय गरेका छन् । ‘यही सरकारमा नेपाली कांग्रेस र एमाले आएपछि मात्र कांग्रेसको नेतृत्वमा निर्माण हुने चुनावी सरकारमा माओवादी र मधेसवादी दल सरकारमा सहभागी हुनेछन् । उनीहरू यो सरकारमा नआउने हो भने हामी कसरी उनीहरूको सरकारमा सहभागी हुन्छाँै ?’ सिँचाइमन्त्री यादवले भने ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान बसेको एमाओवादी र मधेसी मोर्चाका प्रमुख नेताहरूको बैठकले वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति कायम गरेको एमाओवादी नेता पोष्टबहादुर बोगटीले बताए । ‘सरकार परिवर्तन गर्न आवश्यक छैन । यो सरकार परिवर्तन गर्ने बेला होइन,’ उनले भने ।
उता, सोमबार बिहान उपेन्द्र यादवको दबाब मोर्चाको छलफलमा विभिन्न दलमा रहेका मधेसी सभासद्हरू सहभागी थिए । उक्त छलफलले नयाँ संविधानमा मधेसका मुद्दा कार्यान्वयन गर्न सरोकारवाला सबैलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । मोर्चामा रहेका वार्ता समितिका सदस्यहरूलाई ज्ञापनपत्रको मस्यौदा तयार गर्ने जिम्मा दिइएको छ । ‘स्वायत्त मधेस प्रदेश र एक मधेस एक प्रदेश कार्यान्वयनका लागि सरोकारवाला सबैलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छाँै,’ छलफलपछि दबाब मोर्चाका वार्ता समितिका सदस्य शरत्सिंह भण्डारीले भने ।

प्रतिक्रिया