सतर्कता केन्द्रद्वारा सिभिलको फाइल माग


काठमाडौं, १८ वैशाख । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागसँग सिभिल ट्रेड सेन्टरलगायतका व्यावसायिक भवनका सम्पूर्ण फाइल मागेको छ । यही १ वैशाखमा सौर्य दैनिकमा सिभिल ट्रेड सेन्टरले काठमाडौं महानगरपालिकाको गेटै अगाडि स्वीकृति विपरीत भवन निर्माण गरेको समाचार प्रकाशन भएको थियो ।
त्यसपछि लगातार सेन्टरका सम्बन्धमा समाचार प्रकाशन भएपछि केन्द्रले सबै व्यावसायिक भवनका सम्बन्धमा फाइल माग गरेको हो । केन्द्रका प्रवक्ता अर्जुन खनालले महानगरपालिकाको कार्यालय र विभागसित सेन्टर निर्माणको मापदण्ड, त्यसको अनुगमन संयन्त्र आदिका विषयमा फाइल माग गरिएको जानकारी दिए ।
‘हाम्रा तर्फबाट महानगरपालिकाको कार्यालय र विभागलाई जानकारी माग्ने निर्णय भएको छ, पत्राचारसमेत गरिसकिएको छ,’ खनालले सौर्यसँग भने । उनका अनुसार ती कार्यालयबाट यस सम्बन्धमा आवश्यक जानकारी सङ्कलन गरी अध्ययन गरिने छ । ‘अध्ययनपछि ठोस निर्णय गर्छांै,’ खनालले भने ।
यसअघि काठमाडौं उपत्यका विकास प्राधिकरणले महानगरपालिकासँंग र भौतिक योजना तथा निर्माण मन्त्रालयले प्राधिकरणसँग सिभिल सेन्टरको फाइल र जानकारी माग गरेका थिए । प्राधिकरणमा अझै त्यससम्बन्धी फाइल पुग्न सकेको छैन भने मन्त्रालयमा पनि जानकारी पुगेको छैन ।  महानगरपालिकाले पठाएको सेन्टरसम्बन्धी फाइल अझै प्राधिकरणमा पुगेको छैन । प्राधिकरणका अनुसार यसअघि पनि यसरी नै फाइलहरु बीचैमा गायब हुने गरेका थिए ।
सेन्टरले मापदण्ड–विपरीत भवन बनाएको महालेखा परीक्षकको कार्यालयले पनि ठहर गरिसकेको छ ।
महानगरपालिकाले पनि सेन्टरको अध्ययनका लागि प्राविधिकको टोली बनाउने जनाए पनि हालसम्म त्यस्तो टोली बनेको छैन । स्रोतका अनुसार विभागीय प्रमुखहरु बाहिर भएकाले त्यस सम्बन्धमा कुनै काम नभएको हो ।
सेन्टरले कानुनविपरीत भवन बनाएको सम्बन्धमा आवश्यक छानबिन गरी कारबाही गर्न स्थानीय विकास मन्त्रालयले महानगरपालिकालाई निर्देशन दिने बताए पनि मन्त्रालयबाट हालसम्म त्यस्तो कुनै निर्देशन महानगरपालिकालाई भएको छैन । मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएअनुसार नगरपालिका व्यवस्था महाशाखाका प्रमुख सहसचिव रेश्मीराज पाण्डेले त्यसमा सही गर्न नमानेपछि मन्त्रालयमा तयार भएको पत्र रोकिएको छ ।

प्रतिक्रिया