वीर अस्पतालभित्रै कर्मचारीको सहकारी

काठमाडौं, १९ वैशाख । देशकै सबैभन्दा पुरानो सरकारी अस्पताल वीरका केही कर्मचारीले अनधिकृत रूपमा अस्पतालकै एउटा कोठा कब्जा गरी सहकारी सञ्चालन गरेका छन् । सहकारीको नामसमेत वीर अस्पताललाई जोडेर राखिएको छ ।
सरकारी नियमानुसार सरकारी कर्मचारीले कार्यालय हाताभित्र कार्यालयबाहिरको आर्थिक कारोबार गर्न पाउँदैनन् तर वीरका ५७ जना कर्मचारीले सोमबार ‘वीर अस्पताल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को उद्घाटन गरी सञ्चालनमा ल्याएका छन् । अस्पतालको एउटा कोठालाई कार्यालय बनाएर बाहिर हाकाहाकी सहकारीको बोर्ड झुन्डयाइएको छ ।
सरकारी भवनको दुरुपयोग गरी सहकारी सञ्चालन गरिएकोमा अस्पतालकै केही कर्मचारीले भने विरोध जनाएका छन् । सहकारीको नाममा वीर अस्पताललाई जोडिएको र अस्पतालको कोठालाई कार्यालय बनाइएकोमा उनीहरूको आपत्ति छ । विरोध भए पनि सहकारीको काम सुरु भइसकेको छ । ‘सहकारी खोल्नु नराम्रो होइन,’ विरोधमा रहेका अस्पतालका स्वास्थ्यकर्मी खुवराज आचार्यले भने, ‘हामीले सरकारी सम्पत्ति र अस्पतालको नामको दुरुपयोग गरेकामा विरोध गरेका हौँ ।’ उनले यसरी सरकारी कार्यालयका नाममा सहकारी राख्ने हो भने भोलि गृह मन्त्रालय सहकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहकारी, प्रधानमन्त्री कार्यालय सहकारी भनेर आउन सक्ने बताए ।
अस्पतालका निर्देशक डा. बुलन्द थापाले सहकारी सञ्चालनका लागि आफूले कुनै सहमति नदिएको बताएका छन् । उनले कर्मचारीले सहकारी सञ्चालनका लागि पत्र पठाएको भए पनि आफूले स्वीकृति नदिएको दाबी गरे तर अस्पताल प्रशासनले भने निर्देशक थापाले सहकारी सञ्चालन गर्न मिल्ने/नमिल्ने विषयमा जानकारी माग्न पठाएको पत्रलाई नै आधार मानेर सोझै उनीहरूलाई सहकारी सञ्चालनको स्वीकृति–पत्र दिएको देखिएको छ ।
‘मैले सञ्चालन स्वीकृति नदिएकाले आज (सोमबार) नै सहकारीका सबै कारोबार रोक्न पत्र पठाएको छु,’ निर्देशक थापाले भने, ‘यस विषयमा यथार्थ छानबिन गरी काम अगाडि बढाउनेछु ।’ उनका अनुसार सहकारी सञ्चालन गर्नेले पहिला अस्पताल प्रशासनमा अर्कै नाममा सहकारी स्वीकृति लिएर पछि नाम फेरेको देखिएको छ । निर्देशक थापाले सहकारीको काम रोक्न पत्र पठाएको भए पनि सहकारीले भने काम रोकेको छैन । सहकारीका सचिव नवराज धितालका अनुसार सेवा सुरु भएको पहिलो दिनमै तीन सय सदस्य भइसकेका छन् ।
कल्पना श्रेष्ठको अध्यक्षतामा ‘नेपाल वीर स्वास्थ्य सहकारी संस्था लिमिटेड’ नाम गरेको बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न स्वीकृतिका लागि अनुरोध गरिएको थियो । तर, पछि डिभिजन सहकारी कार्यालयबाट ‘वीर अस्पताल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ दर्ता गराएर सेवा सुरु गरिएको हो । सहकारीका सचिव नवराज धितालले सहकारी डिभिजिन कार्यालयबाट नै नाम परिवर्तन भएर दर्ता भएको दाबी गरे ।
सहकारीको कार्यालय रहेको कोठा निर्देशककै सहमतिमा लिएको भन्दै उनले कब्जा गरिएको आरोप अस्वीकार गरे । ‘हामीले अस्पतालका सबै साथीलाई सहकारीमा समेट्न खोजेका छौँ,’ उनले भने, ‘सबैको हितका लागि कानुनी रूपमा नै दर्ता गरी सहकारी चलाइएकोले अस्पतालका सबै साथीले सहयोग गर्छन् भन्ने मलाई विश्वास छ ।’

प्रतिक्रिया