कतै नभएको नियम ट्राफिकमा

काठमाडौं, १ वैशाख । तपाइंलाई थाहा छ, ड्युटीमा खटिएका ट्राफिक प्रहरीले मोबाइल फोन उठाए के हुन्छ ? उसको जागिर नै धरापमा पर्न सक्छ ।
घरबाट परिवारका सदस्य बिरामी परेको खबर आओस् या अरू कुनै विपत्तिका दुःखद् समाचार । ड्युटीमा खटिएका ट्राफिक प्रहरीले मोबाइल फोन उठाउन पाउँदैनन् । उठाइहाले उनीहरूले माथिल्लो निकायमा स्पष्टीकरण दिनुपर्छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उसले जागिरबाट हात धुनुपर्छ । अचम्म त के भने, ट्राफिक प्रहरीको यो नियम न ऐनमा छ न त कुनै नियमावलीमै उल्लेख छ । तर, ट्राफिक प्रहरीमा यो नियम कडाइका साथ लागू हुँदै आएको छ । कतिसम्म भने यो नियमले हाकिमहरूलाई छुदैन । तर, तल्लो दर्जाका प्रहरीलाई भने यसले समस्यामा पारेको छ ।
केही दिनअघि एक ट्राफिक हवल्दार दिउँसोको टन्टलापुर घाममा असिनपसिन हुँदै दरबारमार्गमा सवारी व्यवस्थापन गर्दै थिए । त्यहीबेला उनको मोबाइलमा घन्टी बज्यो । मोबाइलको स्क्रिनमा आफन्तको नम्बर डिस्प्ले हुँदै थियो । झस्किँदै फोन उठाए । फोनमा भनियो, ‘श्रीमती सिकिस्त बिरामी छ, तुरुन्तै घर आउनुपर्‍यो ।’ उनले ‘हस्’ मात्रै के भन्न भ्याएका थिए, ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी गणेशराज राईको गाडी सामुन्ने रोकिएको देखे ।
पसिनाले निथ्रुक्कै भिजेका उनकै सामुन्ने डिआइजी राईले रेडियो सेटबाटै आदेश दिए, ‘फलानो हवल्दारलाई तुरुन्तै महाशाखामा हाजिर गराई कारबाही गर्नू ।’ १५ मिनेट नपुग्दै उनलाई झिटी गुन्टासहित ट्राफिक प्रहरी महाशाखामा हाजिर गराइयो । स्पष्टीकरण लिइयो र कारबाहीका लागि प्रक्रिया सुरु गरियो ।
यसरी कारबाही भोग्ने उनी मात्रै एक्ला पात्र होइनन् । गत फागुनमा मात्रै महाशाखाले एक जवान र एक हवल्दारलाई कारबाही गरिसकेको छ । अर्का एक प्रहरी जवान र हवल्दारलाई भने स्पष्टीकरणपछि सख्त चेतावनी दिई ड्युटीमा पठाइएको छ । कुनै ऐन, नियममा उल्लेख नभए पनि महाशाखाले कडाइका साथ लागू गरेको यो नियमानुसार स्पष्टीकरण चित्तबुझ्दो नभए अभिलेख रहनेगरी कारबाहीस्वरूप नसियतसमेत लाग्न सक्छ । एकपटक नसियत पाएका प्रहरी कर्मचारीले एक वर्षसम्म बढुवा रोक्का हुने मात्र होइन विदेश जानसमेत रोक्का हुन्छ ।
महाशाखाका एक ट्राफिक प्रहरीले महाशाखाले लागू गरेको यो नियमले हुकुमी शैलीलाई बढवा दिएको बताए । उनले भने, ‘यो नियम हाकिमहरूको झोंक फेर्ने हतियार बनेको छ ।’ आक्रोश पोख्दै उनले प्रश्न गरे, ‘हाकिमले जे गर्दा पनि हुने, सिपाही हवल्दारले फोन उठाउन पनि नपाउने ?’
महाशाखाले सवारी व्यवस्थापनमा खटिएका प्रत्येक ट्राफिक प्रहरीलाई रेडियो सेट दिने व्यवस्थापन गरेको छ । रेडियो सेट नपाएकाहरूलाई भने मोबाइल फोन नै दिएको हुन्छ । हाकिमले फोन गर्दा मोबाइल उठेन वा व्यस्त भयो भने पनि स्पष्टीकरण दिनुपर्छ ।
महाशाखाका प्रवक्ता एसएसपी योगेश्वर रोमखामीले सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको ध्यानकेन्दि्रत गर्न यो नियम लागू गरिएको बताए । उनले भने, ‘ट्राफिक प्रहरी ड्युटी आवरमा फोनमा झुन्डिँदा सवारी व्यवस्थापनमा असर पर्छ, यो समस्या समाधानका लागि यस्तो गरिएको हो ।’ उनका अनुसार अनुशासन ‘मेन्टेन’ गर्न यस्तो गरिएको हो ।
नियमानुसार एक प्रहरी कर्मचारीले आठ घन्टा मात्रै ड्युटीमा खटिने प्रावधान छ । तर, उपत्यकाका सडकमा ट्राफिक प्रहरी दैनिक १२ देखि १५ घन्टासम्म ड्युटीमा खटिनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया