रंग‍-विविध

‘नांगा’ले धानेको वर्ष

सौर्य अनलाइन २०६९ वैशाख १ गते २:१२ मा प्रकाशित

काठमाडौं, ३० चैत । वैशाख ९ गते चलचित्र दसगजा रिलिज भएपछि चैत २७ गतेसम्मको संख्या हेर्दा कुल ६८ चलचित्र सार्वजनिक प्रदर्शनमा आए वर्ष २०६८ मा । यीमध्ये आधा दर्जनभन्दा पनि कम चलचित्रले लगानी उठाए पनि अन्य चलचित्रको लगानी बालुवामा पानी हालेसरह भयो । वैशाख महिनामा प्रदर्शन भएका दसगजा, मार्‍यो नि मायाले मार्‍यो र वीरताको चिनो हलमा लामो समय टिक्न सकेनन् । दसगजाले च्यारिटीलगायत अतिरिक्त प्रदर्शनबाट लगानीसम्म सुरक्षित गर्न भने सक्यो । जेठदेखि साउनसम्मका चलचित्रले पनि व्यावसायिक असफलताकै बाटो पछ्याए ।
भदौमा तीजलगायत चाडपर्वको बिदा पारेर हलमा जान तँछाडमछाड गरे- सपना, श्रीमान्-श्रीमती, ब्रेक फेललगायत नौ चलचित्र । तर, यी चलचित्रले दर्शकलाई हलसम्म आउन तँछाडमछाड गराउन सकेनन् । सबैभन्दा ठूलो बिदा असोजको दसैंछेका प्रदर्शनमा आएकामध्ये अन्दाजले बल्ल आएर घाटाको व्यापारमा रहेको चलचित्र उद्योगमा अलिअलि उज्यालो छर्‍यो, लगानीसम्म सुरक्षित गर्‍यो । कात्तिकमा प्रदर्शनमा आएको मसानले आर्थिक नाफा कमाउन नसके पनि लोकपि्रय कृतिमा आधारित भएका कारण क्रिटिक्सका तर्फबाट चर्चा कमाउन सफल भयो, अन्य चलचित्र कहिले आए-गए, कसैले वास्ता गरेनन् । मंसिरमा प्रदर्शित चलचित्रको हालत पनि यस्तै रह्यो । चलचित्रकी अनुभवी सम्पादक रक्षा सिंहको निर्देशनमा बनेको द गेम, मेरो माया तिमीलाई, भनिदेऊ न माया गर्छु, लुट, बजार, मस्ती र सडक गरी सात चलचित्रको भाग्यपरीक्षण गरायो पुस महिनाले । यो भाग्य परीक्षामा लुटचाहिँ कमाइका हिसाबले यति अगाडि बढ्यो कि अत्यधिक प्रचारप्रसार गरिएको द गेमलगायत अन्यका निर्माता टाउकामा हात राखेर बस्न बाध्य भए । आशा नगरिएको लुटमा दर्शक यसरी ओइरिए कि नेपाली चलचित्रमा अब संकटकाल लगाउनुपर्छ भन्न थालेकाहरू एकाएक चुप लागे । तर, माघ महिनाले यस्तो खुसी पाएन । ‘ठूलो’ बजेटको भनेर व्यापक प्रचार गरिएको आई एम सरीले ‘सानो’ कमाइ पनि गर्न सकेन । फागुनमा निर्माता एवं नायक भुवन केसी साथी म तिम्रो लिएर हलमा आए । उनी भन्ने गर्थे- जब नेपाली सिनेमा उद्योगमा संकट आउँछ, तब मेरो सिनेमा आउँछ र संकट हटाउँछ । तर, यसपालि उनलाई आफ्नै चलचित्र मात्रको संकट टार्न पनि झन्डै-झन्डै धौ-धौ पर्‍यो । जेनतेन लगानी जोगाए ।
वर्षको अन्त्य चैत महिनामा दुलही रानी, अमर प्रीति, विरासत, चपली हाइट र रावणजस्ता चलचित्र आए । गत वर्ष अहिलेसम्मको प्रदर्शनका हिसाबले लुट र चपली हाइट दुवैले अत्यधिक व्यापार गरेका छन् । चैतका अघिल्ला दिनबाट प्रदर्शनमा रहेको चपली हाइट आज २९औं दिनमा प्रदर्शन भइरहेछ । समग्रमा गत वर्ष जम्मा चार चलचित्रले मात्र लगानी बचाउन सके । अन्दाज र साथी म तिम्रोले खर्च मात्र उठाए भने लुट र चपली हाइटले अत्यधिक मुनाफा कमाए । प्रसिद्ध कृति, बायोग्राफी, राष्ट्रियता र संस्कृतिका नारा उठाएका चलचित्रलाई उछिनेर यिनै दुई चलचित्रले मात्र दर्शकलाई दोहोर्‍याएर हलको टिकट काउन्टरसम्म ल्याउन सके । यिनीहरूको बिकाउ पक्ष बन्यो- सेक्स अनि नग्नता । एकै किसिमको कथावस्तु अनि चलचित्रशैली हेरिरहेका नेपाली दर्शकका लागि यी चलचित्रमा प्रयुक्त ‘छाडा शब्द’ र ‘नग्नता’ नौलो स्वाद बन्यो । सुष्मा कार्कीले आइटम डान्स गरेको उत्तेजक गीत उधे्रको चोलीले लुटको आकर्षण बढायो भने प्रदर्शनमा आउनुपूर्व नै नायिका विनीता बरालले चलचित्रका लागि गरेको टपलेस फोटोसुटबारे उठाएको विवादले चपली हाइटलाई चाहिनेजति पब्लिसिटी पुर्‍याइदियो । त्यसमाथि बोर्डले पनि कैँची लगाउने बहानामा एडल्ट सर्टिफिकेट भिराउँदा अनि ट्राफिक प्रहरीले नग्न पोस्टर हटाउँदै कपडा लगाएका पोस्टर टाँस्न निर्देशन दिँदा दर्शकले चाहेर पनि चपली हाइटबाट ध्यान मोड्न पाएनन् । जे भए पनि नेपाल चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रमा संकटकाल लगाउने मनस्थितिमा पुगिसकेको अवस्थामा व्यापारका हिसाबले परित्राण भने यिनै दुई चलचित्रले गराए । लुट अझै चलिरहेको छ । २९औँ दिनमा प्रदर्शन भइरहेको चपली हाइट लुटसँगसँगै पछिपछि हिँडिरहेकै छ ।
यी चलचित्र चल्नाको अर्को पक्ष- यी युवापुस्तालाई लक्षित गरिएका चलचित्र हुन्, जसले मूलधारको कथावस्तुमा रहेर निर्माण गरिएका चलचित्रको भिडमा युवालाई फोकस गर्ने ‘रिस्क’ मोले । मूलधारका चलचित्रहरू गत वर्ष पनि रोनाधाना र एक्सनदृश्यमार्फत गाउँले दर्शकलाई भुलाउने पुरानै शैली बोकेर उत्रिएका देखिए । तर, युवा पुस्तालाई नै लक्षित गरिएका आई एम सरी, मेरो लभ स्टोरी, काठमान्डू, मायाको बारीमा, नयाँ पिढीलाई भने युवाले वास्तै गरिदिएनन् । औसत लगानीमा बनेका यी चलचित्रको व्यापारलाई उछिन्न बढी लगानीका चलचित्रले सकेनन् । त्यसो त केही चलचित्रका निर्मातालाई पत्याउने हो भने लगानीका दृष्टिले पनि वर्ष २०६८ महत्त्वपूर्ण साबित हुन सक्छ । उनीहरूका अनुसार ती चलचित्रमा करोडौँ रुपियाँको लगानी गरियो । के यो माया हो, आचार्य, लभ स्टोरी, फर्की आऊ र आई एम सरीलगायत चलचित्रले आफूलाई ‘बिग बजेट’ का भनेर प्रचार गरे, भलै फ्लप ठहरिए । लुट र चपली हाइटका हकमा आर्थिक कलेक्सन गतिलो भए पनि नग्नता र सेक्स बेचेर जम्मा गरिएको त्यो कमाइले समग्रमा नेपाली चलचित्रको भविष्यलाई सकारात्मक प्रभाव पार्ला कि नपार्ला भन्ने प्रश्न भने उठी नै रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय