सफाई अभियानमा २७ लाख खर्च

काठमाडौं, ३० चैत । काठमाडौं महानगरपालिकाले साताअघि सुरु गरेको सरसफाई अभियान सम्पन्न गर्न २७ लाख रुपियां खर्च भएको जनाएको छ ।

अभियान समापनका अवसरमा आज राजधानीमा पत्रकार सम्मलेन गरेर महानगरपालिका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले अभियान सम्पन्न गर्न आफ्नै स्रोतबाट करिव २७ लाख रुपियां खर्च गरेको जानकारी दिए ।

सफाई अभियानमा भएको खर्चको विवरणलाई लिएर बिभिन्न टिकाटिप्पणी भईरहेका समयमा महानगरपालिकाले खर्च विवरणका बिषयमा जानकारी गराएको हो ।

पन्जा खरिद गर्न दुई लाख ४७ हजार, मास्कका लागि दुई लाख ६१ हजार, पर्चाका लागि एक लाख ८० हजार र सूचना प्रकाशन प्रशारणका लागि १९ लाख ३० हजार खर्च भएको अधिकारीले बताए ।

सरसफाई अभियानमा सवारी साधनको तेल खर्चका लागि करिव एक लाख रुपियां खर्च भएको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराइले उद्घाटन तथा समापन गरेको  विशेष सरसफाई अभियानमा ५५ हजार सहभागी भएको तथ्याङ्क पनि महानगरपालिकाले दिएको छ ।

प्रतिक्रिया